• ५ माघ २०८१, शनिबार

शिवालयहरूमा दर्शनार्थीकोे भिड

blog

धीरेन्द्रप्रसाद साह

जनकपुर, फागुन २६ गते । मधेश प्रदेशका शिवालयमा आराध्यदेव शिव भगवान्लाई बेलपत्र, धतुरोको फूल, दुध, याकको पात चढाएर शुक्रबार भव्य रूपमा महाशिवरात्रि पर्व मनाइएको छ । पूजाआराधना गर्न एकाबिहानैदेखि शिवालयहरूमा दर्शनार्थीहरूको भिड लागेको थियो । पूजाका लागि शिवालयहरूमा पुरुषभन्दा महिला श्रद्धालु भक्तजनको निकै बाक्लो सहभागिता देखिएको थियो । प्रदेशका प्रसिद्ध शम्भुनाथ, जलेश्वरनाथ, टुटेश्वरनाथ, लक्ष्मीनाथलगायत महादेव मन्दिरमा थेगी नसक्ने दर्शनार्थी भक्तजनको भिड लागेको थियो । 

बर्दीबास समाचारदाता रवीन्द्र उप्रेतीका अनुसार महाशिवरात्रिको अवसरमा यस पटक महोत्तरीका शिवालयमा विगत वर्षको तुलनामा दर्शनार्थीको भिड बढ्यो ।  महोत्तरीका जलेश्वरनाथ र टुटेश्वरनाथका मन्दिरमा राति १ बजेदेखि नै दर्शनार्थीको लस्कर लागेको थियो । बर्दीबास–३, गौरीडाँडाको शिवमन्दिर, सोनमाको मङ्गलनाथ मन्दिर, गौशालाको भोलेबाबा मन्दिरलगायतका देवस्थलमा पनि शुक्रबार प्रातःकालदेखि नै शिवभक्तको भिड बढेको थियो । जलेश्वर महादेव मन्दिरमा साँझसम्म एक लाखभन्दा बढीलाई दर्शन गराइने व्यवस्था मिलाइएको महाशिवरात्रि मूल समारोह समितिले जनाएको छ । यसका लागि समितिले स्वयंसेवक परिचालन गरेको थियो भने नेपल प्रहरी र सशस्त्र प्रहरीले शिवालय परिसरमा विशेष सुरक्षा व्यवस्था मिलाएको जनाएका छन् । 

भारतदेखिका दर्शनार्थी आएकाले गत वर्षको तुलनामा शिवालयमा दर्शनार्थीको सङ्ख्यामा वृद्धि देखिएको छ । हातमा माला, जलपात्र, भन्टाको भार, धान बालाको झुप्पा बोकेर दर्शनार्थीहरू जलेश्वरनाथलगायत सदरमुकामबाहिरका गौरीडाँडा, मङ्गलनाथ, टुटेश्रनाथ, मेघनाथलगायतका शिवलायमा दर्शनका लागि पुगेका थिए ।

चिताइनमा भन्टाको भार 

सर्लाही समाचारदाता जनार्जन खत्रीका अनुसार महाशिवरात्रिका अवसरमा सर्लाहीको हरिपुर नगरपालिका–७ स्थित लक्ष्मीनाथ महादेव मन्दिर चिताइनमा ठुलो सङ्ख्यामा भक्तजनले भन्टाको भार चढाएका छन् । मुसालगायत छालाको रोग निको हुने विश्वासका साथ चिताइन मन्दिरमा भन्टाको भार चढाउने प्रचलन छ । त्यस्तै चिताएको भाकल पूरा हुने विश्वासका साथ परालले बाँधेको धानको मटका (मौर) चढाउने भक्तजनको पनि उत्तिकै घुइँचो लागेको थियो । 

जिल्लाको प्रमुख ऐतिहासिक एवं धार्मिक स्थल चिताइन मन्दिरमा भन्टाको भार र धानको ‘मौर’ चढाउन जिल्लाभरसहित छिमेकी जिल्ला र भारतबाट समेत श्रद्धालु आउने गरेका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र धामीले जानकारी दिनुभयो । चिताएका कुरा पूरा हुने हुनाले चिताइन मन्दिर भनिएको जनविश्वास छ । 

जिल्लाका अन्य ठाउँका शिवमन्दिरको तुलनामा चिताइन मन्दिरमा भक्तजनको बढी नै भिड देखिन्थ्यो । भक्तजनको अत्यधिक भिड लागेका कारण नेपाल प्रहरी र आयोजक समितिका स्वयंसेवकलाई शुव्रmबार दिनभर भिड व्यवस्थापनमा हम्मे हम्मे प-यो । 

पछिल्लो समय मन्दिरको जीर्णोद्धार गरिएसँगै श्रद्धालुलाई पूजाअर्जना गर्न र आयोजकलाई भिड व्यवस्थापनमा सहज हुँदै गएको हरिपुर नगरपालिका–७, चिताइनका वडाध्यक्ष मनोजकुमार चौधरीले बताउनुभयो । महाशिवरात्रिकै अवसर पारेर चिताइनमा ऐतिहासिक मेलासमेत सुरु भएको छ । पहिले पहाडी जिल्लाबाटसमेत मानिस नुन, फलामसहित अन्य सरसामग्री किन्न चिताइन मेलामा आउने गरेको स्थानीय बताउँछन् । महाशिवरात्रिकै अवसरमा जिल्लाको लालबन्दीस्थित डुमडुमे, हरिवनस्थित कैलाशपुरी र सुखेपोखरी, ईश्वरपुरस्थित सागरनाथ, मूर्तियास्थित मुक्तेश्वरसहित जिल्लाभरका शिवमन्दिरमा शुव्रmबार दिनभर दर्शनार्थीको घुइँचो लागेको स्थानीयले बताएका छन् ।

शिव र पार्वतीको विवाह

सप्तरी समाचारदाता देवरामप्रसाद यादवका फागुन कृष्णचतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजाआराधना गरिएको छ । जिल्लाको अङ्कुरी महादेव मन्दिर परिसरमा भजन, कीर्तन, दीप प्रज्वलन, प्रसाद वितरणलगायतका धार्मिक कार्यक्रमका साथै दण्ड प्रणामका लागि बाटोमा बालुवा, पानी छर्किएको थियोे । बिहानैदेखि जिल्लाको शम्भुनाथ, राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिर, राजदेवी मन्दिर परिसरमा रहेको शिवमन्दिर, बलुवाको भजनेश्वर महादेव मन्दिर, तिलाठीको नर्मदेश्वरनाथ मन्दिर, बरही वीरपुरको महादेवमन्दिर, लालापटीको लालेश्वरनाथ मन्दिरलगायतका महादेवमन्दिरमा भक्तजनको ठुलो भिड लागेको थियो । 

गौर समाचारदाता सञ्जयकुमार मिश्रका अनुसार महाशिवरात्रि पर्वका अवसरमा रौतहटको शिवनगर, महादेवपटी, पिपरा, सरुअठा, मौलापुर, नुनथर, गौरलगायतका शिवमन्दिरमा बिहानैदेखि पूजापाठ, जलाभिषेक एवं दर्शन गर्ने भक्तजनको ठुलो सङ्ख्यामा भिड लाग्यो । यस अवसरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले ब्यारेक मैदानमा ठुलो आकारको शिवलिङ्ग तयार गरी पूजापाठ एवं विश्वशान्ति र राष्ट्रिय सद्भावको कामना गर्दै पदयात्रा आयोजना ग-यो ।