सुर्खेत समाचारदाता
सुर्खेत, असार ८ गते । कर्णाली प्रदेशको नाकादेखि विभिन्न प्रमुख राजमार्गमा प्रहरी चेक प्वाइन्ट अत्यधिक भएकाले ती चेक प्वाइन्ट हटाउन कर्णाली प्रदेश प्रहरीसमक्ष माग गरिएको छ । कर्णाली प्रदेश प्रवेश गर्ने नाका बबईदेखि कर्णाली राजमार्ग, सुर्खेत–दैलेख सडक, छिन्चु–जाजरकोट सडक जस्ता राजमार्गमा प्रहरीका दुई दर्जनभन्दा बढी चेक प्वाइन्ट रहेका छन् ।
राख्नैपर्ने ठाउँमा बाहेक अनावश्यक स्थानमा पनि चेक प्वाइन्ट राखेर यात्रुलाई दुःख दिने गरेको, यात्रा ढिलो हुने गरेको हुँदा त्यस्ता चेक प्वाइन्ट हटाउन सर्वसाधारणले माग गर्दै आएका थिए । त्यही माग सुर्खेतका सञ्चारकर्मीले पनि कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) माधवप्रसाद श्रेष्ठसमक्ष राखिएको छ । शुक्रबार आयोजित पत्रकार भेटघाटमा कर्णालीका महìवपूर्ण राजमार्गमा अनावश्यक स्थानमा राखिएका चेक प्वाइन्ट हटाउनुपर्ने पत्रकारले जोड दिएका छन् ।
विशेष गरी कर्णाली राजमार्गमा बढी चेक प्वाइन्ट छन् । पत्रकार खगेन्द्र भट्टराईले अनावश्यक ठाउँमा राखिएका चेक प्वाइन्टले गन्तव्यमा ढिलो पुगिने, प्रहरीले अवैध रकम उठाउन नसक्ने जोखिम हुने बताउनुभयो । उहाँले राख्नैपर्ने ठाउँमा बाहेक अन्य अनावश्यक स्थानका चेक प्वाइन्ट हटाउन सके यात्रु तथा सवारीधनीलाई सहज हुने उल्लेख गर्नुभयो । धेरै चेक प्वाइन्ट राखेर यातायात व्यवसायीबाट प्रहरीले अवैध रकम असुली गर्ने गरेको अरू पत्रकार बताउँछन् ।
यता कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी माधवप्रसाद श्रेष्ठले कर्णालीका सडकमा धेरै चेक प्वाइन्ट रहेको र अनावश्यक स्थानका चेक प्वाइन्ट हटाउन आवाज सुन्दै आएको बताउनुभयो । उहाँले पुनः यी स्थानको अवस्था हेरेर सम्बन्धित निकायमा पहल गरिने उल्लेख गर्नुभयो । डिआइजी श्रेष्ठले यदि नाकामा वा अन्य स्थानमा प्रहरीले अवैध रकम मागेको वा लिएको प्रमाणसहित प्रहरीमा खबर गरिदिनसमेत आग्रह गर्नुभयो । यदि पुष्टि भएमा तत्काल त्यस्ता प्रहरीलाई कारबाही गरिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।