• ८ असार २०८२, आइतबार

नेपालगन्जमा तातो हावा ‘लु’ को प्रभावका बारेमा अध्ययन सुरु

blog

तातो हवा ‘लु’ को अध्ययनबारे दिइएको तालिमका सहभागिहरु । तस्बिर : सिराज खान

सिराज खान 
नेपालगन्ज, असार ८ गते ।
नेपाल रेडक्रस सोसाइटी बाँकेले नेपालगन्जका बासिन्दाले अत्याधिक गर्मीलाई कसरी अनुभव गर्छ र त्यसको जोखिम तथा प्रभावहरु कसरी बुझेका छन् भन्ने कुराको अध्ययन सुरु गरेको छ । 

त्यसका लागि नेपाल रेडक्रस सोसाइटी बाँकेले १५ जना स्वयंसेवकलाई तालिम दिएर उपमहानगरमा परिचालन गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा तातो हावाको लहर ‘लु’ का बारेमा १५ जना स्वयंसेवकहरुलाई तालिम दिएर अध्ययन गर्न खटाएको नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले बताउनुभयो ।

उहाँले ती स्वयंसेवकहरुलाई कोबो कलेक्सन सफ्टवेयर एप्ससम्बन्धी तालिम दिएको र उनिहरुले नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३, ४, १९, २१ र २२ को समुदायमा पुगी अन्तर्वार्ताको माध्यमबाट तातो हावा ‘लु’ को बारेमा सूचना सङ्कलन गर्ने बताउनुभयो ।

उक्त तालिममा सहभागिहरुलाई तातो हावाको लहर ‘लु’, रेडक्रस अभियान प्रचार प्रसार र कोबो कलेक्सन सफ्टवेयर एप्सको सैद्धान्तिक ज्ञान र व्यवहारिक अभ्यासको माध्यमबाट सिकाइएको नेपाल रेडक्रस सोसाइटी बाँकेले जनाएको छ ।

सो तालिममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका विवेक कायस्थ र सिर्जना देवकोटा तथा नेरेसो बाँकेका प्रहलाद विश्वकर्मा र झवीलाल शर्माले प्रशिक्षण दिनुभएको थियो ।

तातो हावा ‘लु’ ले हरेक वर्ष नेपालगन्जको जनजीवन अस्तव्यस्त पार्नुका साथै धेरैलाई बिरामी समेत बनाउने भएकोले यस पटक सो बारेमा अध्ययन गरेर त्यसको परिणाम अनुसार कार्यक्रम र योजना बनाईने नेपाल रेडक्रस सोसाईटी बाँकेका मन्त्री अजीज अहमद सिद्धिकीले बताउनुभयो ।

सो अवसरमा सोसाईटी बाँकेका कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, नेपालगन्ज उपमहानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष मजहर अलि साई, २१ नं. वडाका वडा अध्यक्ष राजकुमार साहु, नेरेसो बाँकेबागिया उपशाखाका सभापति चित्रबहादुर केसी लगायतको सहभागिता रहेको नेरेसो बाँके शाखाका वरिष्ठ सङ्गठन विकास अधिकृत निरञ्जना मल्लले बताउनुभयो ।