• ३ पुस २०८१, बुधबार

एभरेष्ट चिनी मिलमा उखु अभाव

blog

उखु अभावमा रित्तिँदै गएको रामनगरस्थित एभरेष्ट चिनी मिलको यार्ड । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दीबास, फागुन २२ गते । महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलमा उखु अभाव भएको छ । आवश्यक उखु आपूर्ति हुन नसक्दा (नो केन) मिल पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । 

महाप्रबन्धक सुरेन्द्र शुक्लाले क्षमता अनुसार मिल सञ्चालन हुन दैनिक ४० हजार क्विन्टल उखु आवश्यक पर्ने बताउनुभयो । त्यसबाहेक पनि कारखाना परिसरमा १० हजार क्विन्टल उखु जगेडा चाहिन्छ ।  

एभरेष्टले पुस ४ गतेदेखि क्रसिङ सुरु गरेको थियो । फागुन तेस्राे सादादेखि उखु आपूर्ति दैनिक २० देखि २५ हजार क्विन्टलमा झरेपछि शुक्रवारदेखि ‘नो केन’ भएको उहाँले जनाउनुभयो । ‘नो केन’ का कारण २ दिन विराएर मिल चल्न थालेको छ । यो अवस्थाले चिनी उत्पादन प्रभावित हुनुका साथै कारखानाले दैनिक लाखौ मूल्यबराबरको क्षति व्यहोर्नुपरेको प्राविधिकले जनाएका छन् । 

कुनै पनि कारणले एक दिन क्रसिङ रोकिँदा चिनी बन्ने प्रक्रियामा रहेका ३० हजार लिटरभन्दा बढी उखुको रस (केन जुस) र स्टिम बनाउने इन्धनको क्षति हुन्छ । लेबर र उत्पादन लागतसमेत बढ्न गई उद्याेगले दैनिक १० लाख जतिको क्षति ब्यहोर्नुपर्ने प्राविधिक शाखाले जनाएको छ । 

आवश्यक उखु आपूर्ति हुन नसकेपछि मिलले २ दिनअघि सार्वजनिक सूचना जारी गरी बाँकी रहेका उखु सक्दो छिटो उपलब्ध गराउन किसानलाई आग्रह गरेको छ । एभरेष्टले यो वर्ष (२०८०-८१) मा न्यूनतम ३० लाख क्विन्टल उखु क्रसिङ गरि २ लाख ७० हजार क्विन्टल चिनी उत्पादनको लक्ष्य लिएको छ । यो लक्ष्य पूरा गर्न दैनिक ४० हजार क्विन्टल उखु क्रसिङ गरि ३ हजार ६ क्विन्टल चिनी उत्पादन गर्दै आएको थियो । उखु अभावले क्रसिङ र उत्पादन दुवैमा कमी आएको शुक्लाले बताउनुभयो । 

उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवहाका अनुसार किसानका खेतमा उखु सकिँदै गएकाले मिल गेटमा उखु आपूर्तिमा कमी आएको हो । क्रसिङका लागि आवश्यक उखु मिल गेटमा २० लाख क्विन्टल र कारखाना परिसर बाहिर महोत्तरी र सर्लाहीका ३३ वटा खरिद केन्द्रमार्फत दश लाख क्विन्टल उखु आपूर्तिको व्यवस्था गरिएको थियो । उखु खेत रित्तिदै गएकाले धेरैजसो खरिद केन्द्रहरु बन्द भइसकेका छन् । यसलेगर्दा उखु आपूर्ति पनि कम हुँदै गएको उहाँले बताउनुभयो । 

कुशवाहाले पूर्ण क्षमतामा मिल सञ्चालन गर्न उखु उत्पादनमा वृद्धि एक मात्र विकल्प भएको बताउनुभयो । यसका लागि सरकार र उद्योगीले किसानको श्रम र लागतको मूल्याङ्कन गरी उखुको उचित मूल्य तोक्नुपर्ने आवश्यकता औंल्याउनुभयो । 

"उत्पादन लागतको आधारमा मूल्य नपाउँदा उखुु खेतीप्रति मोहभङ्ग हुँदै गएको छ । समय अगावै ‘नो क्यान’ को अवस्था यसैको असर हो । राज्य र उधोगी गम्भीर नभए आउँदा वर्षहरुमा उखु अभाव थप गहिरिँदै जाने निश्चित छ," उहाँले भन्नुभयो ।