• २० वैशाख २०८१, बिहिबार

नयाँ सत्ता गठबन्धन : बलियो बामशक्ति निर्माणको अभ्यास

blog

नेताहरु प्रदीपकुमार ज्ञवाली, रामहरि खतिवडा, पम्फा भुषाल र घनश्याम भुषाल ।

काठमाडौं, फागुन २१ गते । प्रतिनिधि सभामा प्रमुख दल नेपाली कांग्रेससहितको सत्ता गठबन्धनमा खटपट भएपछि पुनः नयाँ गठबन्धनको जन्म भएको छ । प्रतिनिधि सभामा दोस्रो ठुलो दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई काँध थापेपछि पुरानै गठबन्धन ब्युँतिएको हो ।  

यसअघि माओवादी केन्द्रको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनमा खटपट आउन लागेको ब्रिफिङ गर्नुभएको थियो । सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन संशोधनको विषय तथा राष्ट्रिय सभाको अध्यक्ष को हुने ? भन्ने मुख्य बहानामा गठबन्धनमा फेरबदल आएको ठम्याइ गरिएको छ ।   

बाहिर सत्ता समीकरणका लागि नयाँ गठबन्धन बनेको बुझाइ रहे पनि कम्युनिष्ट दलका नेताहरूले यसलाई बलियो बामशक्ति निर्माणको अभ्यास भनेर अर्थ्याएका छन् । मुलुकको समृद्धिका लागि बलियो बामशक्ति निर्माण गरी राजनीतिक स्थायित्व अपरिहार्य रहेकाले त्यसकै प्रयासका लागि यो गठबन्धन सिर्जेको भनाइ दलका नेताहरूको छ । 

मुलुकको समृद्धिका लागि बलियो बामशक्ति निर्माण गरी राजनीतिक स्थायित्व अपरिहार्य रहेकाले त्यसकै प्रयासका लागि यो गठबन्धन सिर्जेको भनाइ दलका नेताहरुको छ । 

सत्ता गठबन्धनमा फेरबदल भएसँगै संसदमा प्रमुख दल रहेको काँग्रेस प्रतिपक्षी दलमा पुगेको छ । यसअघि प्रमुख प्रतिपक्षी दल एमाले सत्तारुढको प्रमुख घटक दलमा दरिएको छ । सत्ता समीकरणको नयाँ खेलले पुनः नेपाली राजनीति तरङ्गित हुन पुगेको विश्लेषण गरिएको छ । उसो त गठबन्धन भत्किनुको पछाडि लामो असन्तुष्टिका शृङ्खला र घटना रहेको बताइन्छ । 

राजनीतिक वृत्तमा चलेको पछिल्लो चर्चाअनुसार सुशासन अभियानमा प्रधानमन्त्री प्रचण्डले चाल्नुभएको कदममा सत्तारुढ दलबाटै असहयोग भएको गुनासो बेला–बेला बैठकमा उहाँको आउने गरेको थियो । पछिल्लो समय सरकारभित्र प्रधानमन्त्री र अर्थमन्त्री डा. प्रकाशशरण महतबिच मुख्य तिक्तता र कांग्रेसको महासमिति बैठकमा महामन्त्री गगनकुमार थापाको प्रतिवेदनले प्रधानमन्त्री प्रचण्डलाई झस्काएको बुझाइ छ । 

ब्युँतियो पुस १०

यसअघि २०७९ पुस १० गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बन्नुभएको थियो । सोही दिन कांग्रेस–एमालेको सत्ता समीकरण बन्ने करिब तय भएको थियो । बुढानीलकण्ठमा कांग्रेस सभापति शेरबहादुर देउवालाई पर्खाएर एमाले अध्यक्ष केपी शर्मा ओली बालकोटमा अध्यक्ष प्रचण्डसँग वार्ता गर्नुभयो । सोही वार्ताले एमालेको समर्थनमा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभएको थियो । त्यतिबेला प्रचण्डलेभन्दा एमालेले आफूलाई धोका खिएको बुझाइ सभापति शेरबहादुर देउवालाई भएको थियो । 

यद्यपि एमालेसँगको सत्ता गठबन्धन धेरै समय टिक्न सकेन । दुई महिनामै प्रधानमन्त्री प्रचण्ड एमालेसँगको राजनीतिक गठजोड तोडेर कांग्रेससँग पुनः सत्ता समीकरण गर्न सफल हुनुभयो । सोपछि उहाँले करिब १३ महिनादेखि सरकारको नेतृत्व गर्दै आउनुभएको छ । आइतबार रातिदेखिको दुई पक्षीय तथा बहुपक्षीय छलफल र एमाले–माओवादी केन्द्रको नेताहरूको छलफलले पुनः पुस १० घटनालाई ब्युँताएको छ । 

आइतबार मध्यरातिसम्मको गृहकार्यको समीक्षा र थप कदमका लागि सोमबार बिहान अध्यक्ष ओलीले बालकोटमै एमाले सचिवालय बैठक बसाउनुभयो । सचिवालय बैठकले माओवादी केन्द्रले कांग्रेससँग गठबन्धन तोडेमा एमालेले सहयोग गर्ने एक सूत्रीय निर्णय गरेको थियो । सोही निर्णयलाई बल पुग्नेगरी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा आफ्नो दलको सचिवालय बैठक बोलाएर नयाँ सत्ता समीकरणका लागि निर्णय गराउनुभयो । कांग्रेसले धोका दिएपछि नयाँ सत्ता समीकरण बनाउनु परेको उहाँले ब्रिफिङ गर्नुभयो ।   

बहाना टीआरसी विधेयक

सत्य निरूपण आयोगसम्बन्धी संशोधन विधेयकमाथि आइतबारको संसदीय समिति बैठकमा छलफल भएको थियो । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयकको केही दफामा थप छलफलको आवश्यकता रहेको भन्दै एक दिनको समय माग गर्नुभएपछि त्यसले प्रधानमन्त्री प्रचण्ड र माओवादी केन्द्रलाई चिढाएको थियो । 

प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको आइतबारको बैठकमा विधेयकबारे निर्णय हुने आङ्कलन गरिएको थियो । तर अन्तिम समयमा कांग्रेसबाट गुरुङ तथा रमेश लेखकले थप छलफलका लागि समय माग गर्नुभएको थियो । सोही मागअनुसार सोमबार बिहान ७ः४५ बजे समितिको बैठक बसी विधेयकलाई अन्तिम रूप दिने भनिएको थियो । तर सत्ता समीकरण फेरबदलका कारण बिहान समितिको बैठक नै बस्न सकेन । 

सोमबार बिहान ७ः४५ बजे समितिको बैठक बसी विधेयकलाई अन्तिम रूप दिने भनिएको थियो । तर सत्ता समीकरण फेरबदलका कारण बिहान समितिको बैठक नै बस्न सकेन । 

समितिको बैठक बस्नुअघि प्रमुख दलको अलग–अलग बैठक बसेपछि टीआरसी विधेयककै कारण सत्ता गठबन्धन बिथोलिएको आङ्कलन राजनीतिक विश्लेषकहरूले गर्नुभयो । बुढानीलकण्ठमा सभापति शेरबहादुर देउवाले आफ्नो दलका मन्त्रीहरूसँग छलफल गरी गठबन्धन भत्किने जनाउ गर्नुभयो । उता बालकोट र बालुवाटारमा छुट्टाछुट्टै बैठक बसेपछि बिहान बस्ने भनिएको संसदीय समितिको बैठक ओझेलमा पर्‍यो। 

समृद्धिका लागि नयाँ गठबन्धन : एमाले

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुक अप्ठेरोमा पर्न थालेपछि देशको समृद्धि र जनताको समस्या समाधानका लागि नयाँ गठबन्धन बनाउनु परेको बताउनुभयो । ‘देश बनाउने हामीलाई मुख्य हुटहुटी हो, बाँकी तपसिलका कुरा हुन्’ नेता ज्ञवालीले थप्नुभयो, “देशमा सुशासन कायम गरी जनताको समस्या समाधान गर्ने अहिलेको प्रमुख विषय हो, त्यो तब सम्भव हुन्छ जब राजनीतिक स्थायित्व हुन्छ । बामशक्तिलाई दीर्घकालीन शक्ति बनाउने प्रयासस्वरुप यो गठबन्धन बनेको हो ।”

बामशक्तिलाई दीर्घकालीन शक्ति बनाउने प्रयासस्वरुप यो गठबन्धन बनेको हो ।

यसअघि पनि बामशक्तिबिच एकता भए पनि त्यो नटिकेकाले त्यसबाट पाठ सिक्दै यसअघि भएका कमीकमजोरी सच्याउँदै अघि बढ्ने प्रयास हुने उहाँले बताउनुभयो । ‘प्रधानमन्त्री प्रचण्डमा पनि देश विकास गर्ने तीव्र चाहना र हुटहुटी छ, हामीलाई पनि मुलुकको समृद्धि कायम गर्ने छटपटाहट छ, दुवै कुरा मिलेपछि अहिलेको नयाँ गठबन्धन बनेको हो, यसलाई टिकाउन सके धेरै काम गर्न सकिन्छ’ उहाँले भन्नुभयो, “नयाँ गठबन्धनप्रति प्रश्न र चुनौती धेरै छन्, तर पनि विगतका कामको समीक्षा गर्दै अघि बढ्नुपर्छ, सहमति कायमै रहेमा धेरै काम गर्न सकिन्छ भन्ने हामीलाई विश्वास छ ।”  

गठबन्धन भत्काएका होइनौं : कांग्रेस

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समितिका सभापतिसमेत रहनुभएका युवा नेता रामहरि खतिवडाले आफ्नो दलको तर्फबाट गठबन्धन भत्काउने कुनै काम नभएको दाबी गर्नुभयो । “हामीले त पाँच वर्ष यसै गठबन्धनलाई कायम गर्ने कसम खाएर सहकार्य गरेका थियौँ, तर सँगै सुतेका हामी बिहान उठ्दा फरक मुख भयौ” उहाँले थप्नुभयो, “सत्ता गठबन्धन भत्काउने काम प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट भयो । उहाँको नयाँ गठबन्धनलाई हामी शुभकामना दिन्छौँ ।”

प्रधानमन्त्री प्रचण्डले लगाउनुभएको आरोप गलत भएको चर्चा गर्नुहुँदै उहाँले भन्नुभयो, “कांग्रेसको महासमिति बैठकको दस्ताबेज बनाउने हाम्रो काम हो, माओवादीको होइन । हामीले हाम्रो दस्ताबेज बनाउँदा उहाँ आत्तिने विषय थिएन, गठबन्धन नभत्काउने विश्वास दिलाएकै थियौँ ।” प्रधानमन्त्री प्रचण्डले कांग्रेसमाथि भरोसा गर्न नसकेको उहाँले बताउनुभयो । टीआरसी विधेयकको संशोधनलाई कांग्रेसले साथ दिने भनेको तर माओवादीले धैर्य गर्न नसकेको उहाँले प्रष्ट पार्नुभयो । 

हामीले त पाँच वर्ष यसै गठबन्धनलाई कायम गर्ने कसम खाएर सहकार्य गरेका थियौँ, तर सँगै सुतेका हामी बिहान उठ्दा फरक मुख भयो । 

“केही बुँदामा थप छलफल गरेर अघि बढौँ भनेर एक दिनको समय मागेका थियौँ, तर एक दिन पनि प्रधानमन्त्रीले कुर्न सक्नु भएन, सत्ता समीकरण नै अलग्गै बनाउनतिर लाग्नुभयो, यसमा हामीलाई दुःख छ” उहाँले भन्नुभयो । अर्को विषय अर्थमन्त्रीले काम गर्न दिनु भएन भन्ने आरोप पनि मिथ्या भएको उहाँले दाबी गर्नुभयो । “प्रधानमन्त्रीले आफ्नो क्याबिनेटको मन्त्रीलाई सञ्चालन गर्न नसक्नु उहाँको कमजोरी हो, हाम्रो होइन ।” कांग्रेसले आफ्नो आधिकारिक धारणा मंगलबार सार्वजनिक गर्ने उहाँले जानकारी दिनुभयो । 

काम गर्न दिइएन : माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालले नयाँ गठबन्धन बन्नुको पछाडि सरकारलाई काम गर्ने वातावरण नबन्नु नै हो । नेपाली कांग्रेस प्रमुख सत्ता घटक भए पनि काममा अल्झाउने काम भएको उहाँको भनाइ छ । “सरकारको नेतृत्व हामीले त गर्‍यौँ तर हाम्रो प्रयास र योजनालाई कांग्रेसले रोकेर राख्यो । जनतामा काम गरेको सन्देश नै दिन सकिएन । त्यही भएर यसअघिको सत्ता गठबन्धन भत्किन पुग्यो ।”

गठबन्धनमा कायमै रहेर कोशी प्रदेशमा मुख्यमन्त्रीको हाम्रो उम्मेदवारलाई हराउने काम भयो, गोदावरी बैठकमा कांग्रेसले फरक दस्ताबेज पारित गरेर आयो । हिन्दु धर्मको वकालत गर्नेजस्ता मुद्दा बोकेर कांग्रेस आएको उहाँको टिप्पणी छ । “मुलुकको विकासका निम्ति बलियो बामशक्ति आवश्यक रहेको र त्यसको प्रयास लामो समयदेखि हुँदै आएको छ । अब यो गठबन्धनमा रहेरै छरिएर रहेका वाम शक्तिलाई एकीकृत गरी देशको विकासमा संयुक्त पहल गर्न नयाँ गठबन्धन बनेको हो” उहाँले प्रष्ट पार्नुभयो । बामशक्ति निर्माण गर्न यो गठबन्धन टिकाउन चुनौतीको पहाड रहे पनि प्रयास सुरु भएको उहाँले प्रष्ट पार्नुभयो ।   

गुण दोषको आधारमा समर्थन : नेकपा (एस)

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नयाँ सत्ता समीकरण भर्खर निर्माण भएकाले आगामी दिनमा त्यसको कार्यशैली र गुण दोषको आधारमा समर्थन गर्ने–नगर्ने निर्णय लिने बताउनुभयो । 

अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको आजको सचिवालय बैठकको निर्णयमा भनिएको छ, “नयाँ समीकरणको उद्देश्य, प्रक्रिया र संरचना अझै प्रष्ट भइसकेको छैन । प्रधानमन्त्रीले लिएको निर्णयका उद्देश्य, प्रक्रिया र संरचनाका बारेमा सबै विषय अगाडि आएपछि तिनको गुण दोषको आधारमा नेकपा (एस) ले आफ्नो नीतिहरू स्पष्ट पार्नेछ ।”

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।