• ५ जेठ २०८१, शनिबार

‘ध्यानलाई धर्मसँग नभई विज्ञानसँग जोडेर हेर्नुपर्छ’

blog

काठमाडौँ, फागुन १९ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ध्यानलाई धर्मसँग मात्र जोडेर हेर्न नहुने बताउनुभएको छ । ललितपुरस्थित नख्खु कारागारमा सञ्चालनमा रहेको विपश्यना केन्द्रको शनिबार निरीक्षण अवलोकन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले भन्नुभयो, “ध्यानलाई हामीले धर्मसँग मात्र जोडेर हेर्छौ, यो त विज्ञान हो । त्यसैले यसलाई विज्ञानसँग पनि तुलना गर्नुपर्छ ।” फागुन ८ गते ध्यान शिविरको उहाँले उद्घाटन गर्नुभएको थियो । 

मन्त्रालयले देशैभर यस्ता विपश्यना केन्द्रहरूको निर्माण गरी प्रशिक्षण दिने योजना बनाएको उहाँको भनाइ छ । ध्यान तर्क वा भाषणले मात्र नभई अभ्यास गरेर मात्र अनुभूति गर्न सकिने उहाँको भनाइ छ । यो शिविरले विधि मात्र सिकाएकाले यसलाई निरन्तर अभ्यास गर्नु जरुरी रहेको उहाँले बताउनुभयो । श्रेष्ठले कानुनी र प्रशासनिक तवरबाट मात्र नभएर आफ्नै महत्वबोध गराउने ध्यानबाट समेत सुशासन तथा सुधार अगाडि बढाउन सकिने बताउनुभयो । 

आफूलाई फेर्ने, स्वजागृत हुने र समाज रूपान्तरण गर्ने चिन्तन ध्यानबाटै प्राप्त हुने भएकाले यसलाई निरन्तर अभ्यास गर्न उहाँको सुझाव छ । विभिन्न कारणले अपराध गरेर सजाय भोग्नुपर्ने अवस्था आफूलाई चिन्न र कारागारबाट बाहिर निस्केपछि आफूलाई समाजमा असल नागरिक भई उभ्याउन ध्यानको महत्त्वपूर्ण योगदान हुने उहाँको भनाइ छ । 


ललितपुरस्थित नख्खु कारागारमा सञ्चालनमा आएको विपश्यना केन्द्रले आफूहरूको सोचाइमा सकारात्मक प्रभाव परेको कैदीबन्दीले बताएका छन् । कारागारमा रहेका एक कैदीबन्दीले १० दिनको ध्यान शिविरका कारण विगतमा गल्ती कमजोरी गरे पनि अब भने असल मानिस बन्ने आँट आएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो १० दिनको ध्यान शिविरबाट विगतमा भएका गल्तीहरू महसुस भएको छ । यदि पहिले यो विपश्यनाको बारेमा जानकारी भएको भए सायद म यसरी कारागारमा आउनु पर्दैनथ्यो होला । विपश्यनाबाट जिन्दगी जिउने कला मिलेको छ ।”

उहाँले भन्नुभयो, “हिजोको दिनमा बाहिर साथीहरूसँग झगडा गर्दै हिँडियो, जसको परिणाम भोग्दै छु । आज आएर मात्र जीवन के हो भन्ने बुझेँ। जिन्दगी त हिरा पो रहेछ ।” अब कारागारबाट बाहिर जाँदा आफू उदाहरणीय बन्ने सोच आएको उहाँले बताउनुभयो ।

करिब चार वर्ष जेल जीवन भुक्तान गरेका अर्का कैदीबन्दी १० दिनको विपश्यनामा धेरै सकारात्मक कुराहरू सिकाएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले रिसराग धेरै थियो, जब यहाँ विपश्यनामा सहभागी भए त्यसपछि भने मनमा रिसराग आएपछि यसलाई कन्ट्रोलमा राख्न सक्ने क्षमता बढेको छ ।

रिस हराएर गएको छ ।” विपश्यनाबाट आफूले के काम असल र के काम खराब भन्ने कुरा छुट्याउन सक्ने आधार पाएको बताउनुभयो । 

कदीबन्दीलाई विपश्यनामा ध्यान गराउने तरिका सिकाइरहनुभएका गोपालदास महर्जन कैदीबन्दीलाई यो ध्यान प्रशिक्षणले मनोवृत्ति बढाउन सहयोग पुगाएको बताउनुभयो । कैदीबन्दीहरुले आफ्नो मनलाई अनुभूत गराई शान्ति के हो भन्ने चिनाउनु यस शिविरको उद्देश्य रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “ध्यान शिविरबाट कैदीबन्दीहरुले आफूलाई चिन्ने बानीको विकास भएको छ, जसका कारण कारागारबाट बाहिर जाँदा उनीहरू अपराध कर्मबाट टाढा रहने सङ्केत देखिन्छ ।” 

भिडियोः मनोजरत्न शाही र केशब गुरुङ

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।