• ४ जेठ २०८१, शुक्रबार

स्थानीयका कारण रोकियो नागढुङ्गा सुरुङमार्गको काम

blog

काठमाडौं, फागुन १८ गते । स्थानीयवासीको अवरोधका कारण नागढुङ्गा सुरुङमार्गको काम रोकिएको छ । नागढुङ्गादेखि धादिङको सिस्नेखोलासम्म जोड्ने सुरुङमार्गको काम फागुन ६ गतेदेखि रोकिएको आयोजनाले जनाएको छ ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियरिङ (सिडिई) गोविन्द दुमरुका अनुसार स्थानीयले खानेपानीको मुहान व्यवस्थापनलगायतका माग राख्दै काम रोकेका छन् । सुरुङमार्ग छिचोल्न अब मात्र १४ मिटर बाँकी छ । स्थाानीयले गत फागुन ६ गतेबाट काममा अवरोध गरेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार सुरुङ खन्दा पानीको मुहान सुकेका कारण स्थानीयले काममा अवरोध गरेका हुन् ।

उहाँले भन्नुभयो, “आयोजनाका कारण पानीको मुहान सुकेको भन्दै स्थानीयले आयोजनाको काम रोकेका छन् । खानेपानीको समस्यासहित सिँचाइको पनि अभाव हुने भन्दै स्थानीयको निरन्तर अवरोध छ ।”

स्थानीयले  सुरुङ खन्दा चर्किएका घरहरुको तत्काल क्षतिपूर्ति पाउनुपर्ने पनि स्थानीयको माग छ ।  साथै आयोजना सकिएपछि पनि खानेपानीसहित सिँचाइको व्यवस्था आयोजनाले नै गर्नुपर्ने लगायतका माग राखेका छन् । यी माग तत्काल पूरा गर्न आयोजनालाई कठिनाइ हुने दुमरुको भनाइ छ । उक्त क्षेत्रलाई प्रभावित क्षेत्र घोषणा गर्न पनि स्थानीयको माग छ ।

अहिले विवाद समाधान गर्नका लागि स्थानीयसँग निरन्तर वार्ता भइरहेको उहाँको भनाइ छ । वार्ता समितिले दिएको प्रतिवेदनका आधारमा मात्र यी समस्या समाधान गर्ने उहाँले बताउनुभयो ।

सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक डा.विजय जैसीले स्थानीयको विवाद कायम रहेकाले छलफल जारी रहेको बताउनुभयो ।

सुरुङमार्गको ‘ब्रेक थ्रु’ यही फागुन २३ गते गर्ने लक्ष्य रहे पनि स्थानीयको अवरोध रहेकाले यो समयमा ‘ब्रेक थ्रु’ गर्न नसकिने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “फागुन २३ गते  ‘ब्रेक थ्रू’ गर्ने योजना थियो, तर स्थानीयको अवरोध भएकाले तोकिएको समयमा ‘ब्रेक थू’ गर्न सकिने सम्भावना छैन ।”

उहाँका अनुसार स्थानीयको अवरोध हटेको खण्डमा तीन–चार दिनमा नै उक्त सुरुङमार्ग ‘ब्रेक थ्रू’ गर्न सकिनेछ ।

अवरोध हटाउन समन्वय जारी
चन्द्रागिरी नरगरपालिकाका नगरप्रमुख घनश्याम गिरीका अनुसार स्थानीयको अवरोध हटाउनका लागि समन्वय जारी छ । उहाँले भन्नुभयो, “आयोजनामा भएको स्थानीयको अवरोध हटाउनका लागि निरन्तर समन्वयकारी भूमिका जारी छ, स्थानीयका मागहरुलाई सम्बोधन गरेर अवरोध हटाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा निरन्तर छलफल गरिहरका छौँ ।”

खानेपानी र सिँचाइको समस्या नगरपालिकाले समाधान गरिदिने आफूहरुले उहाँ बताउनुहुन्छ । वडा नम्बर १ र २ का स्थानीयहरु आन्दोलित छन् ।
उहाँले भन्नुभयो, “स्थानीयको खानेपानी तथा सिँचाइको समस्या नगरपालिकाले समाधान गरिदिने प्रतिबद्धता जनाएका छौँ । खानेपानी आपूर्तिका लागि जति रकम आवश्यक पर्छ व्यवस्था गछौँ, तर काम रोकिनुभएन भन्ने हाम्रो चाहना हो ।”

स्थानीयले सुरुङमार्गभन्दा तलबाट दैनिक ३० लाख लिटर पानी बोरिङबाट उपयोग गर्दै आएका छन् । उहाँले भन्नुभयो, “खानेपानीका लागि सिस्नेखोलाको पानी बोरिङमार्फत उपलब्ध गराउने र नपुगेको खण्डमा ट्याङ्करमार्फत उपलब्ध गराउने प्रतिबद्धता जनाएका छौँ ।” 

स्थानीयले आफूहरुलाई प्रभावित क्षेत्र घोषणा गर्नुपर्ने माग राखे पनि भौगोलिक सर्वेक्षण गरेर मात्र प्रभावित क्षेत्र घोषणा गर्ने या नगर्ने टुङ्गो लाग्ने उहाँको भनाइ छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।