• १६ भदौ २०८१, आइतबार

हरिपूर्वा नगरपालिकाकाे सेवा ठप्प, १७ दिनदेखि कर्मचारी आन्दोलित

blog

हरिपूर्वा नगरपालिका कार्यालयमा धर्नामा बसेका शिक्षक, कर्मचारी । तस्बिर: जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, फागुन १६ गते । पटक–पटकको प्रयास र तनावका बिच नगर सभा सम्पन्न भए पनि अझै तलब नपाएको भन्दै सर्लाहीको हरिपूर्वा नगरपालिकाका कर्मचारीले १७ दिनदेखि धर्ना जारी राखेका छन् । 

गएको साउनदेखिको तलब माग गर्दै नगरपालिका, वडा कार्यालय र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी कार्यालय बन्द गरेर निरन्तर धर्नामा बसिरहेका हुन् । आठ महिनासम्म बजेट सञ्चालन नभएर तलब नपाउँदा घर, व्यवहार धान्न मुस्किल परेको र कार्यालयमा मसलन्दलगायतका सर सामग्रीको अभाव भएर कार्यालय सञ्चालन गर्न मुस्किल परेको भन्दै स्वास्थ्यकर्मीसहित अन्य कर्मचारी माघ २८ गतेदेखि नगरपालिका परिसरमा अनिश्चितकालीन धर्नामा बसिरहेका छन् । 

हरिपूर्वा नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक रामएकवाल रायले तलब नपाएसम्म धर्नामा बसिरहेन बताउनुभयो । उहाँले स्वास्थ्य संस्थामा आकस्मिकबाहेक अन्य सेवा ठप्प पारेको बताउनुभएको छ । 

तलब नपाउँदा बालबच्चाको पढाइ खर्च बुझाउन र घर व्यवहार चलाउन गाह्रो परेको रायले दुखेसो पोख्नुभयो । “नगर सभा त भयो तर अझै नगरपालिकाको खाता सञ्चालन नभएकाले तलब पाउने सुनिश्चितता छैन, त्यसैले धर्नालाई निरन्तरता दिइरहेका छौँ,” उहाँले भन्नुभयो । 

तलब नपाएपछि हरिपूर्वाका शिक्षक फागुन ६ गतेदेखि सम्पूर्ण विद्यालय बन्द गरेर कर्मचारीसँगै धर्नामा बसिरहेका छन् । १० दिनदेखि विद्यालय बन्द हुँदा नगरपालिकाभित्रका १६ वटा सामुदायिक विद्यालयका विद्यार्थी पढाइबाट वञ्चित बनेका छन् । 

केश्वर गरिब जनता माध्यमिक विद्यालय हरिपूर्वाका शिक्षक गङ्गाराम यादवले १० दिनसम्म धर्नामा बस्दा समेत आफूहरूको समस्या बुझ्न कोही नआएको गुनासो गर्नुभएको छ । “नगर सभा भए पनि अहिलेसम्म नगरप्रमुखलगायत कोही पनि जिम्मेवार जनप्रतिनिधि आएर नगर सभा भयो, हामी तलब खुवाउने प्रक्रियामा लागेका छौँ, तपाईँहरू काममा फर्किनुस् सम्म भन्नुभएको छैन,” शिक्षक यादवले प्रश्न गर्दै भन्नुभयो, “यस्तो अवस्थामा हामीले के आधारमा धर्ना स्थगित गर्नु ? हामी विद्यार्थीको भविष्य अन्धकार बनाएर बाध्य भई निराश हुँदै धर्नामा बसिरहेका छौँ ।” 

१० दिनदेखि विद्यालय बन्द हुँदा विशेष गरी एसइइको तयारीमा रहेका विद्यार्थी मारमा परेका छन् । हरिपूर्वा नगरपालिकाका नगरप्रमुख विनोदकुमार साह तेलीले कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मलङ्गवामा कार्यालय प्रमुख नहुँदा नगरपालिकाको खाता सञ्चालन हुन नसकेको बताउनुभयो । 

उहाँले तत्काल खाता खुलाउन कोलेनिकामा निरन्तर समन्वय र सम्पर्क गरिरहेको तर कार्यालय प्रमुख नभएर केही उपाय नलागेको गुनासो गर्नुभयो । “हामीले फागुन ७ गते नै बहुमतका आधारमा नगर सभा गर्‍यौँ तर ‘दुर्भाग्य’ भन्नुपर्छ यही बेला कोलेनिकामा प्रमुख सरुवा भएर जाँदा नगरपालिकाको खाता खुल्न सकेन,” नगरप्रमुख साहले भन्नुभयो, “कोलेनिकामा तत्काल नयाँ कार्यालय प्रमुख आइदिए नगरपालिकाभित्रको समस्या समाधान हुन्थ्यो ।” 

नगरप्रमुख साहले शिक्षक, कर्मचारीको तलब र वृद्ध वृद्धालगायतको सामाजिक सुरक्षा भत्ता निकासाका लागि सम्पूर्ण तयारी भइसकेकाले कोलेनिकामा कार्यालय प्रमुख आउनासाथ आठ महिनादेखिको गाँठो फुक्ने दाबी गर्नुभएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक निर्मल न्यौपाने फागुन १ गते यहाँबाट रमाना लिएर जानुभएको कार्यालयले जनाएको छ । 

तत्काल आफूलाई निमित्तको जिम्मेवारी दिइए पनि आर्थिक अधिकार नरहेको कोष नियन्त्रक पुरुषोत्तम बरालले बताउनुभयो । उहाँले हरिपूर्वा नगरपालिकाको हकमा आर्थिक कारोबार सुचारु भएपछि नगर सभाको कागजात हेरिने र त्यसपछि मात्रै थप कुरा बताउन सकिने जानकारी दिनुभयो । 

स्रोतका अनुसार महालेखा नियन्त्रकको कार्यालयले तत्कालका लागि शाखा अधिकृत बराललाई नै आर्थिक अधिकार समेतको जिम्मेवारी दिएर भए पनि आर्थिक गतिविधि सुचारु गराउने  बुझिएको छ ।