• १५ असार २०८१, शनिबार

‘मानव–हात्ती सहअस्तित्वको नीति अपनाइन्छ’

blog

गाईघाट समाचारदाता

गाईघाट, फागुन १६ गते । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हात्ती आतङ्क नभएर आम्दानीको स्रोत भएकाले मानव–हात्ती सहअस्तित्वको नीति बनाएर कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा झापाको बाहुनडाँगीबाट सुरु भएको एक साता लामो हात्तीमैत्री पदयात्रा २०८० को मङ्गलबार उदयपुरको कटारी नगरपालिका–१ स्थित बेलसोत पुगेर समापन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । 

झापादेखि उदयपुरसम्म करिब २४३ किलोमिटर पैदलयात्रा गर्नुभएका मुख्यमन्त्री कार्कीले हात्ती आफ्नो मार्गमा कहिल्यै पनि विचलित नभई हिँडिरहने तर मानिसले उसको बाटो मासेर आवाद गरी घरखेत गर्न थालेपछि मात्रै मान्छे र हात्तीबिच द्वन्द्व हुने गरेको बताउनुभयो ।

उहाँले चुरेभाबर क्षेत्र हात्तीको मुख्य मार्ग भएको र यस क्षेत्रमा मानव बस्ती बसेपछि अहिले आहारा र बाटोसमेत मासिँदै गएकाले हात्तीले मान्छेको घर भत्काउने, मान्छे मार्ने जस्ता बिज्याइँ बढ्दै गएको पाइएको बताउनुभयो । यस किसिमको समस्यालाई नीतिगत रूपमा समाधान गर्न के कस्ता उपाय अपनाउन सकिन्छ भनी आफूले प्रत्यक्ष रूपमा हात्तीमैत्री पदयात्रा गरेको उहाँको भनाइ छ । यस व्रmममा आफूले करिब पाँच हजार घरधुरीमा पुगेर स्थानीयसँग प्रत्यक्ष रूपमा साक्षात्कार गरेको दाबी पनि उहाँको छ ।

मुख्यमन्त्री कार्कीले प्रदेशको औचित्य साबित गर्ने गरी आफूले काम गरिरहेको दाबी गर्नुभयो । कोशी प्रदेशको अहिलेको सरकारले जनताको घरआँगनमा मात्र होइन, सर्वसाधारण नागरिकको मनमा पुग्ने गरी काम गर्न लागिपरेको र विभिन्न जातजातिका कुल पूजा भवन, मन्दिर निर्माण जस्ता साना योजनाभन्दा मानवीय विकासका योजनामा जोड दिएको उहाँको भनाइ छ । 

उहाँले कोशी प्रदेशभित्रका १० वर्षमुनिका सबै बालबालिकाको स्वास्थ्य उपचारमा अब प्रदेश सरकारले शतप्रतिशत खर्च बेहोर्ने, रातदिन स्वास्थ्य सेवामा खटिने स्थानीय तहमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाको सेवासुविधा थप गर्न प्रोत्साहन भत्ताको व्यवस्था गर्ने र ४० लाख रुपियाँ तिर्न नसकेर डाक्टर, इन्जिनियर पढ्नबाट वञ्चित गरिब किसानका जेहेनदार छात्रछात्रालाई निःशुल्क रूपमा डाक्टर, इन्जिनियर पढ्न पाउने गरी बजेटमा सम्बोधन गरिने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशको आउँदो बजेटमा हात्ती प्रभावित क्षेत्रका निम्ति विशेष कार्यव्रmम ल्याइने बताउनुभयो । 

वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीको अध्यक्षतामा भएको सो हात्तीमैत्री पदयात्राको समापन समारोहमा प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले जीव र जनावरको संरक्षण मात्र होइन, आमजनतासँग साक्षात्कार गरी उनीहरूले भोगिरहेका कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सञ्जाललगायतका यावत् विषयमा स्थलगत रूपमा अवलोकन गरी आगामी बजेटमार्फत ती समस्यालाई सम्बोधन गर्न पनि यो पदयात्रा प्रभावकारी भएको बताउनुभयो ।

सो अवसरमा स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनुवार, आर्थिक मामिला तथा योजना राज्यमन्त्री इन्दिरा थापा, कोशी प्रदेश सभाका उपसभामुख सिर्जना दनुवार, त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेत, हात्तीविज्ञ डा. अशोककुमार रामलगायतले हात्तीमैत्री पदयात्राको औचित्यमाथि प्रस्ट पार्दै अब यस क्षेत्रलाई मुख्यमन्त्री हात्ती पदमार्ग वा जैविक जीवित पदमार्ग नामकरण गरी पर्यटन क्षेत्रको विकासमा जोड गर्नुपर्ने बताउनुभयो । 

चार जिल्लाका २४३ किलोमिटर पार गरिएको पदयात्रामा प्रदेशका सरकारी एवं गैरसरकारी निकाय, संरक्षणकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, हात्तीविज्ञ, नागरिक समाज एवं आमनागरिकको सहभागिता थियो ।