• २० वैशाख २०८१, बिहिबार

जीवन बिमा व्यवसायको वृद्धिदरमा सङ्कुचन

blog

काठमाडौँ, फागुन १६ गते । चालु आर्थिक वर्ष २०८०/८१ को माघ महिनासम्म जीवन बिमा कम्पनीहरूले करिब ८७ अर्ब कुल बिमा शुल्क सङ्कलन गरेका छन् । अहिले सञ्चालनमा रहेका १४ वटा जीवन बिमा कम्पनीहरूले सात महिनाको अवधिमा ८६ अर्ब ८८ करोड आठ लाख रुपियाँ बिमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बिमा प्राधिकरणको तथ्याङ्क अनुसार यो अवधिमा १४ जीवन बिमा कम्पनीले १६ अर्ब ११ करोड छ लाख रुपियाँ प्रथम बिमा शुल्क सङ्कलन गरेका छन् भने ७० अर्ब ७७ करोड दुई लाख रुपियाँ नवीकरणीय बिमा शुल्क सङ्कलन गरेका छन् । 

सबै जीवन बिमा कम्पनीका एक करोड ३७ लाख ७३ हजार ३१५ सक्रिय बिमालेख रहेका छन् ।

नेपाल लाइफ अगाडि

कुल १४ वटा जीवन बिमा कम्पनीमध्ये अवधिसम्ममा सबैभन्दा धेरै कुल बिमा शुल्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सङ्कलन गरेको छ भने सन नेपाल लाइफले सबैभन्दा कम दुई अर्ब १२ करोड १४ लाख रुपियाँ कुल बिमा शुल्क आर्जन गरेको छ । सात महिनाको अवधिमा कम्पनीले २३ अर्ब २० करोड ७४ लाख रुपियाँ कुल बिमा शुल्क सङ्कलन गरेको छ । 

नेपाल लाइफलाई पछ्याउँदै एलआइसी नेपाल लिमिटेडले १० अर्ब १४ करोड ६९ लाख रुपियाँ कुल बिमा शुल्क आर्जन गरेको छ । यस्तै एलआइसी नेपाललाई पछ्याउँदै नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले १० अर्ब पाँच करोड २७ लाख रुपियाँ कुल बिमा शुल्क आर्जन गरेको छ ।

यस्तै हिमालयन लाइफले नौ अर्ब ९१ करोड ३४ लाख रुपियाँ कुल बिमा शुल्क आर्जन गरेको छ । 

सूर्यज्योति लाइफले पाँच अर्ब तीन करोड २२ लाख रुपियाँ, राष्ट्रिय जीवन बिमा कम्पनीले चार अर्ब ९८ करोड १९ लाख रुपियाँ, एसियन लाइफले चार अर्ब ४३ करोड ५९ लाख रुपियाँ, सानिमा रिलायन्स लाइफले तीन अर्ब ३८ करोड २६ लाख रुपियाँ कुल बिमा शुल्क आर्जन गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्सले तीन अर्ब २६ करोड ६२ लाख रुपियाँ, मेट लाइफले तीन अर्ब १४ करोड २५ लाख रुपियाँ, आइएमई लाइफले दुई अर्ब ५० करोड १९ लाख रुपियाँ, प्रभु महालक्ष्मी लाइफले दुई अर्ब ३८ करोड ५२ लाख रुपियाँ, रिलायबल नेपाल लाइफले दुई अर्ब ३० करोड ९९ लाख रुपियाँ र सन नेपाल लाइफले दुई अर्ब १२ करोड १४ लाख रुपियाँ कुल बिमा शुल्क आर्जन गरेको छ ।

वृद्धिदरमा सङ्कुचन

जीवन बिमा कम्पनीको कुल बिमा शुल्क आर्जन गत वर्षको तुलनामा केबल ४.१८ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिसम्म कम्पनीले ८३ अर्ब ३९ करोड १४ लाख रुपियाँ बिमा शुल्क सङ्कलन गरेका थिए । गत वर्ष र यो वर्षको व्यवसायलाई तुलना गर्दा तीन अर्ब ४८ करोड ९४ लाख रुपियाँले बढी हो । 

यता पुस महिनामा १२ अर्ब ४७ करोड ३५ लाख रुपियाँ कुल बिमा शुल्क आर्जन भएकोमा माघ महिनामा १२ अर्ब ६६ करोड दुई लाख रुपियाँ भएको छ । जुन पुस महिनाको भन्दा एक अर्ब ८६ करोड सात लाख रुपियाँले बढी हो । अधिकांश जीवन बिमा कम्पनीको व्यवसायमा सुधार देखिए पनि तीन कम्पनीको व्यवसाय गत वर्षको तुलनामा घटेको छ ।

यो वृद्धिदरलाई धेरै राम्रो मान्न नसकिने बताउनुहुन्छ, बिमा विज्ञ डा. रवीन्द्र घिमिरे । पछिल्लो समय सबै क्षेत्रमा देखिएको आर्थिक मन्दी बिमा व्यवसायमा पनि देखिएका कारण वृद्धिदरमा सङ्कुचन आएको उहाँको भनाइ छ ।

एक महिनामा करिब तेह्र अर्ब

जीवन बिमा कम्पनीले माघ महिनामा १२ अर्ब ६६ करोड दुई लाख रुपियाँ कुल बिमा शुल्क आर्जन गरेका छन् । यो अवधिमा कम्पनीले चार लाख ४८ हजार ६६६ वटा बिमालेख जारी गरेका छन् भने नवीकरणीय बिमा शुल्क १० अर्ब ३६ करोड ६३ लाख रुपियाँ नवीकरणीय बिमा शुल्क, दुई अर्ब २९ करोड ३८ लाख रुपियाँ र बिमाङ्क रकम एक खर्ब ३५ अर्ब ५३ करोड ८८ लाख रहेको छ ।

बागमती प्रदेशमै आधा

देशभर जीवन बिमा कम्पनीहरूको व्यवसायमा करिब ५० प्रतिशत बागमती प्रदेशमा रहेको छ । चौध कम्पनीको कुल ८६ अर्ब ९२ करोडमध्ये बागमती प्रदेशमै ३८ अर्ब ८६ करोड ६४ लाख रुपियाँ रहेको छ । जुन कुल व्यवसायको बागमती प्रदेशमा ४४.७१ प्रतिशत हो । कर्णाली प्रदेशमा सर्वाधिक कम दुई अर्ब ३९ करोड ९९ लाख रुपियाँ रहेको छ ।

बागमतीपछि जीवन बिमकहरूको दोस्रो ठुलो बजार लुम्बिनी प्रदेशमा देखिएको छ । यो सात महिनामा कुल व्यापारको १५.४७ प्रतिशत हिस्सा लुम्बिनीमा रहेको देखिन्छ । कम्पनीहरूले चालु आवको सात महिनामा लुम्बिनी प्रदेशबाट १३ अर्ब १४ करोड ७१ लाख रुपियाँ कुल बिमा शुल्क आर्जन गरेका छन् ।

समीक्षा अवधिसम्म जीवन बिमा कम्पनीहरूले कोशी प्रदेशबाट १० अर्ब ४४ करोड ३३ लाख रुपियाँ कुल बिमाशुल्क आर्जन गरेका छन् । कोशीमा जीवन बिमा कम्पनीहरूको बजार हिस्सा १२.०१ प्रतिशत रहेको छ ।

सात महिनामा जीवन बिमा कम्पनीहरूले गण्डकी प्रदेशबाट आठ अर्ब ८७ करोड ५४ लाख रुपियाँ, मधेश प्रदेशबाट सात अर्ब ६८ करोड ४८ लाख रुपियाँ, सुदूरपश्चिम प्रदेशबाट पाँच अर्ब २० करोड ५८ लाख रुपियाँ र कर्णाली प्रदेशबाट दुई अर्ब ३९ करोड ९९ लाख रुपियाँ कुल बिमाशुल्क आर्जन गरेका छन् । कुल व्यापारको हिसाबले जीवन बिमा कम्पनीहरूको बजार हिस्सा गण्डकीमा १०.२१ प्रतिशत, मधेशमा ८.८४ प्रतिशत र सुदूरपश्चिममा ५.९९ प्रतिशत रहेको देखिन्छ ।