• १५ वैशाख २०८१, शनिबार

जीवनशैलीले ग्यास्टिकको समस्या निम्तिन्छ : डा.पौडेल

blog

काठमाडौं,फागुन १५ गते । ग्यास्टिक आम नेपालीको साझा समस्या हो । ग्यास्टिक सबै उमेरका मानिसलाई सताउने गर्छ । पेट तथा कलेजो रोग विशेषज्ञ डा. शेखर पौडेलका अनुसार मेडिकल भाषामा ग्यास्टिक लाई ग्यास्टाइटिक भन्ने गरिन्छ । उहाँका अनुसार पेटमा एसिड हुनेगर्छ जसले खाना पचाउने काम गर्छ । त्यो एसिडको मात्रा चाहिनेभन्दा बढी भएमा ग्यास्टिक हुने गर्छ । ग्यास्टिकमा आमाशयमा अल्सर भएर घाउ भएमा पेट पोल्ने, पेट फुल्ने, खाना मन नलाग्ने, छाती पोल्ने, अमिलो पानी आउने डा. पौडेल बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “एसिडको मात्रा धेरै हुँदा एसिड माथि छाती र घाँटीमा जाने, घाँटी पोल्ने, घाँटीमा अड्केको महसुस हुने, छाती पोल्ने, छाती दुख्ने, अमिलो पानी आउने डकार आउने आदि लक्षण देखिन्छन् ।” 

उहाँका अनुसार ग्यास्टिक साधारणदेखि जटिल प्रकारको हुने गर्छ । डा. पौडेलका अनुसार ग्यास्टिक  भएका कतिपय मानिसमा लक्षण देखाउँदैन त्यस्ता मानिसहरू अत्यन्त जटिल अवस्थामा मात्र अस्पतालमा पुग्ने गर्दछन् । 

उहाँ भन्नुहुन्छ, “कतिपय लक्षण नदेखाउने अवस्थामा बिरामी पेटभित्र घाउ भएर अल्सर भइसकेपछि रगत बग्न थालेपछि मात्र अस्पताल पुग्ने गर्दछन् ।” 

ग्यास्टिकको लक्षण मानिस अनुसार फर-फरक देखिने डा.पौडेलको भनाइ छ । शरीर कमजोर हुने, खान मन नलाग्ने, तौल घट्दै जाने, उल्टी आउने, जस्ता जटिल प्रकारका लक्षण देखिने मानिस उच्च जोखिममा हुने गर्दछन् । यस्ता मानिसहरू अन्य स्वास्थ्य समस्या छ कि छैन भनेर जाँच गर्नुपर्ने डा.को सुझाव छ । कहिलेकाहीँ क्यान्सर हुँदा पनि ग्यास्टिकका जस्ता लक्षण देखिने गर्दछन् । 

ग्यास्टिक  भएमा एसिड उत्पन्न भएर माथि आउँदा दम हुने, घाउ हुने दाँत खिइने जस्ता समस्या देखिन्छन् तर अन्य अङ्गमा ग्यास्टिकको समस्या सर्दैन । खानपान नमिल्दा, मसलायुक्त चिल्लो पिरो खानेकुरा, जङ्क फुड खानाले, खाली पेट बस्दा, खानपानको समय नमिल्दा ग्यास्टिक हुने डा.पौडेलको भनाइ छ । 

डा. पौडेलका अनुसार पछिल्लो समय एच पाइलो ब्याक्टेरियाको सङ्क्रमणले पनि ग्यास्टिकको समस्या निम्तिने गर्छ । 

ग्यास्टिकको समस्या औषधि उपचार गरेर जीवनशैलीमा परिवर्तन गरियो भने निको हुन्छ । 

ग्यास्टिकको विषयमा केन्द्रित भई पेट तथा कलेजो रोग विशेषज्ञ डा.शेखर पौडेलसँग गोरखापत्र अनलाइनका लागि तयार पारिएको भिडियो संवाद :

भिडियो : मनोजरत्न शाही 


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।