• १२ साउन २०८१, शनिबार

सामाजिक सञ्जालको सही उपयोग गर्न सुझाव

blog

गोरखापत्र अनलाइन

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । ललितपुरमा हालै भएको ‘जनप्रतिनिधिसँग प्रेस सेन्टर’ विषयक कार्यक्रममा  सहभागीले सूचना प्रविधिको प्रभाव रहेको वर्तमान समयमा सत्यतथ्य सूचना र घटनालाई चाँडो र प्रभावकारी रूपमा सम्प्रेषण गर्दै सुसूचित गराउने नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा वक्ताको जोड छ । 

कार्यपत्र प्रस्तुत गर्दै पत्रकार महेश्वर दाहालले पत्रकारले नागरिकलाई केन्द्रबिन्दुमा राखेर पत्रकारिता गर्न सामाजिक सञ्जालको प्रभावकारी हुनेगरी उपयोग गर्नुपर्ने बताउनुभयो । ‘वेभसाइट, ब्लग र सामाजिक सञ्जाल प्रयोग गरेर जनताले जनतालाई नै सूचित गर्ने अभ्यास नागरिक पत्रकारिता हो, यसको व्यवस्थित जग भने दक्षिण कोरियाबाट निर्माण भएको हो । अहिले विश्वभरि इन्टरनेटले लाखौँ समाचार साइट र ब्लग जन्मिएका छन्, यसको सही प्रयोगबाट नै आजको युगमा प्रभावकारी रूपमा नागरिकमैत्री पत्रकारिता गर्न सकिन्छ’ उहाँले भन्नुभयो ।

उहाँले सन् २००० देखि सामाजिक सञ्जालको प्रयोग र प्रचारमा फड्को मारेको बताउनुहुँदै दक्षिण कोरियाका अनलाइन उद्यमी ओह येओन–हो नेतृत्वको टिमले ‘सबै नागरिक रिपोर्टर’ का अवधारणा ल्याएको जानकारी गराउनुभयो । ७२७ जना नागरिक रिपोर्टरबाट सुरु भएको अनलाइन सूचना प्रणाली सन् २००७ सम्म आउँदा एकसय देशबाट ५० हजार नागरिक रिपोर्टरसहित विस्तार भएको र अहिले विश्वभर इन्टरनेटले लाखौँ समाचार साइट र ब्लग जन्माएको बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष भवानी बरालले ‘प्रेस र जनप्रतिनिधिको भेट’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सञ्जाल नयाँ मिडिया र आमसञ्चारका विविध विषयमा सरल तरिकाले प्रस्तुतीकरण राख्नुभयो । उहाँले विद्युतीय माध्यमको प्रयोगका सकारात्मक र नकारात्मक पक्षमा प्रकाश पार्दै लोकतन्त्रको रक्षार्थ पत्रकारिता प्रभावकारी ढङ्गले उत्रनुपर्नेमा जोड दिनुभयो ।