रामकृष्ण बोहरा
बागलुङ, असोज ३० गते । अन्तर्राष्ट्रिय बागलुङ समाजको आयोजना गरेको पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । उपल्लाचौरस्थित दावगरा बसपार्कमा हुने खेलको औपचारिक उद्घाटन बिहीबार हुने भएपनि खेल भने बुधबारदेखिनै सुरु भएको हो ।
समाजले पहिलो पटक जिल्लाभित्र सर्वाधिक पुरस्कार राशीसहित खेल खेलाएको हो । पहिलो दिनको खेलमा बागलुङ र जैमिनी नगरपालिकाले विजयी सुरुवात गरेका छन् ।
जिल्लाका दसवटा पालिकाबीच लिगकम नकआउट पद्दतीमा खेलाइएको खेलको पहिलो दिन बागलुङ नगरपालिकाले तमानखोला गाउँपालिकालाई ३–२ सेटमा पराजित गरेको हो । सुरुवाती दुइ खेलमा पछि परेको बागलुङले पुनरागमन गर्दे लगातार तीन सेट जित्यो । तमानविरुद्ध बागलुङले २०–२५, १८–२५, २५–२१, २५–१५ र १५–१३ ले जित निकालेको हो ।
यस्तै पहिलो दिनको दोस्रो खेलमा जैमिनी नगरपालिकालले बडिगाड गाउँपालिकालाई पराजित गरेको हो । प्रतियोगिताको दोस्रो दिन बिहीबार ६ खेल हुँदै छन् । बागलुङविरुद्ध बरेङ, निसीखोलाविरुद्ध तमानखोला, जैमिनीविरुद्ध गलकोट, ढोरपाटनविरुद्ध काठेखोला, तमानखोलाविरुद्ध बरेङ र बडिगाडविरुद्ध गलकोट नगरपालिका भिड्दै छन् ।
प्रतियोगितामा प्रथम हुनेले २ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने अन्तराष्ट्रिय बागलुङ समाजका सचिव तथा प्रतियोगिता संयोजक राजु थापाले जानकारी दिनुभयो । खेलमा द्वितीय हुनेले एक लाख तथा तृतिय हुनेलाई ५० हजार रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने पुरस्कार दिइने थापाले बताउनुभयो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १० हजार, बिधागत उत्कृष्टलाई ५ हजार रुपियाँका दरले पुरस्कार प्रदान गरिने छ भने सान्त्वना हुने टिमलाई २५ हजार रुपियाँ नगद र पुरस्कार दिइने छ । समाजले हरेक २ वर्षमा प्रतियोगिता गर्ने योजना समेत बनाएको छ । बागलुङ नगरपालिका र जिल्ला भलिबल संघ तथा खेलकुद विकास समिति सँगको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।