• १२ साउन २०८१, शनिबार

भूकम्पमापन गर्ने ‘जिपिएस स्टेसन’ सञ्चालनमा

blog

जिपिएस स्टेसन मर्मत गर्ने क्रममा भूकम्पमापन केन्द्रको टोली । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, फागुन १४ गते । रुकुमपश्चिमको मुसिकोट नगरपालिका–४ मुसीडाँडामा रहेको भूकम्पमापन यन्त्र ‘जिपिएस स्टेसन’ सञ्चालनमा आएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रको एक टोली आएर मर्मत गरेपछि उक्त स्टेसन सोमबारबाट पुनः सुचारु भएको हो ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोक विजय अधिकारीका अनुसार उक्त स्टेसन करिब पाँच वर्ष पहिला जडान गरिएको थियो । तीन वर्षअघि बिग्रिएको उक्त जिपिएस स्टेसन विज्ञसहितको टोली आएर मर्मत गरेपछि आजबाट पुनः सुचारु भएको हो । 

उक्त स्टेसनमा रहेको ब्याट्री लगायतका केही उपकरणहरूमा खराबी आएको थियो । डा. अधिकारीका अनुसार उक्त स्टेसनले भूकम्पपछि जमिनको सतह तलमाथि, दायाँबायाँ सरेको मापन गर्दछ । प्रत्येक सेकेन्ड र प्रत्येक तीस÷तीस सेकेन्डमा यस जिपिएस स्टेसनले जमिनको चाल मापन गर्ने उहाँको भनाइ छ ।  

भूकम्पमापन केन्द्रले देशका विभिन्न ५१ वटा स्थानमा यस खालका जिपिएस स्टेसन स्थापना गरेको छ । केही स्टेसनहरू प्राविधिक समस्याका कारण अहिले नियमित सुचारु हुन नसकेको बताइन्छ । भूकम्पमापन केन्द्र सबै स्थानमा रहेका भूकम्प मापन यन्त्रहरू सञ्चालनको लागि योजना अघि सारेको छ । 

यसैगरी रुकुमपश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर-४ मेघामा केन्द्रले सिस्मोमिटर जडान गरेको र नियमित सञ्चालनमा रहेको जनाएको छ । यसले भूकम्पको तरङ्ग मापन गर्ने भूकम्पविद् डा. अधिकारीले जनाउनुभयो ।