• १४ मंसिर २०८१, शुक्रबार

कार्य सम्पादनमा अब्बल बन्दै तीन स्थानीय तह

blog

रमेश विश्वकर्मा

गुल्मी, फागुन ११ गते । गुल्मीका तीन स्थानीय तह कार्य सम्पादनमा अब्बल बन्दै गएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार यस जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तहमध्ये मालिका गाउँपालिका, चन्द्रकोट गाउँपालिका र रेसुङ्गा नगरपालिका कार्यसम्पादनमा अब्बल बन्दै गएका छन् । 

आर्थिक वर्ष २०७९-०८० को कार्यसम्पादन मूल्याङ्कनमा मालिका गाउँपालिका देशभरका ४६० गाउँपालिकामध्ये पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादनमा मूल्याङ्कनको प्रारम्भिक नतिजा अनुसार यस गाउँपालिकाले ५५.४० प्रतिशत अङ्क प्राप्त गरेको छ । गाउँपालिकामध्ये देशभरमै तेस्रो भएको चन्द्रकोट गाउँपालिकाले ५२.५७ प्रतिशत अङ्क प्राप्त गरेको सार्वजनिक नतिजामा उल्लेख छ । 

देशभरका २७६ नगरपालिकामध्ये रेसुङ्गा नगरपालिका कार्यसम्पादन मूल्याङ्कन तेस्रो भएको छ । यस नगरपालिकाले ५०.०३ प्रतिशत अङ्क प्राप्त गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा उल्लेख छ । कार्यसम्पादन मूल्याङ्कनमा देशभरका स्थानीय तहमा मालिका गाउँपालिका तेस्रो, चन्द्रकोट गाउँपालिका छैटौँ र रेसुङ्गा नगरपालिका आठौँ स्थानमा छ । 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनको प्रारम्भिक नतिजा अनुसार यस जिल्लाको धुर्कोट गाउँपालिकाले ४७.९१ प्रतिशत अङ्क प्राप्त गरेको नतिजामा उल्लेख छ । मदाने गाउँपालिकाले ४५.२७ प्रतिशत अङ्क प्राप्त गरेको छ । रुरुक्षेत्र गाउँपालिकाले ४४.९१ प्रतिशत अङ्क प्राप्त गरेको छ । सत्यवती गाउँपालिकाले ४२.१८ प्रतिशत अङ्क प्राप्त गरेको उल्लेख छ । 

त्यस्तै, इस्मा गाउँपालिकाले ४०.४५ प्रतिशत अङ्क प्राप्त गरेको छ । मुसिकोट नगरपालिकाले ३७.४९ प्रतिशत अङ्क प्राप्त गरेको छ । कालिगण्डकी गाउँपालिकाले ३७.१७ प्रतिशत अङ्क प्राप्त गरेको छ । छत्रकोट गाउँपालिकाले ३५.८८ प्रतिशत अङ्क प्राप्त गरेको छ । गुल्मीदरबार गाउँपालिकाले ३२.९६ प्रतिशत अङ्क प्राप्त गरेको प्रारम्भिक नतिजामा उल्लेख छ । 

प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ को अधीनमा रहेर प्रदेश तथा स्थानीय तहको लागि निर्धाण गरिएका विभिन्न १७ सूचकको आधारमा सूचकको मूल्याङ्कन गरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले अङ्क प्रदान हो । 

स्थानीय तहले प्राप्त गरेको अङ्क चित्त नबुझेमा सोही कार्यविधिको दफा ९ अनुसार सात दिनभित्र आवश्यक आधार र प्रमाणसहित पुनरवलोकनका लागि अनुसुची-५ को ढाँचा अनुसार निवेदन पेश गर्नुपर्ने आयोगले जनाएको छ ।