• २३ वैशाख २०८१, आइतबार

सर्पको टापु

blog

आन्ध्र महासागरको गहिरो नीलो पानीमा निषेधित उष्णकटिबन्धीय स्वर्गभूमि छ, जसलाई रहस्य र प्राकृतिक सुन्दरता मानिन्छ । स्नेक आइल्यान्ड अर्थात् सर्पको टापु । टापुको नामले नै यसको परिचय दिन्छ । यस टापुलाई लामो समयदेखि पृथ्वीको सबैभन्दा खतरनाक, भयानक स्थानका रूपमा चिनिँदै आएको छ । 

यो टापु ब्राजिलको तटीय क्षेत्रमा अवस्थित छ तर यो पूर्णतया निर्जन छ, जहाँ सूर्यको तेजिलो प्रकाशमुनि सुन्दर चट्टानी तटीय रेखा वरिपरि गहिरो रहस्य लुकेको छ । त्यहाँ जति शान्ति देखिन्छ यथार्थमा त्यस्तो छैन । टापु खतरनाक सर्पहरूले भरिएको छ । संसारमा त्यतिको सर्प एकै स्थानमा कहीँ पनि देखिएको छैन । घातक सर्पहरू लाखौँको सङ्ख्यामा जहाँतहीँ छन् । रुखमा, पातमा, झारपातमा, ढुङ्गामा र मैदानमा रहेका सर्प टापुमा खुट्टा राख्नेलाई डस्न हरेक क्षण तयार रहन्छन् । 

स्नेक आइल्यान्ड नामले प्रख्यात इल्हा डा क्युइमाडा ग्रान्डे टापु जति मनमोहक छ त्यति नै भयानक पनि । ब्राजिलको दक्षिणपूर्वी सहर साओ पाउलोबाट लगभग ३१ किलोमिटरको दूरीमा अवस्थित यस टापुले आन्ध्र महासागरमा केवल चार लाख ३० हजार वर्गमिटर क्षेत्रफल ओगटेको छ ।  

यस टापुको बनोट विविधताले भरिएको छ । यहाँ निर्जन चट्टानी क्षेत्रदेखि वर्षावनसम्म देख्न सकिन्छ । यहाँको उच्चतम स्थल समुद्री सतहबाट छ सय ६७ फिट अग्लो छ । यहाँ प्रायःजसो वर्षा भइरहन्छ ।  

आधुनिक कालमा यस इल्हा डा क्युइमाडा ग्रान्डे टापुमा वन फँडानी गरियो । पोर्चुगेली भाषामा क्युइमाडा भनेको ‘जङ्गलको आगो’ हुन्छ र स्थानीय बासिन्दाले केरा खेती गर्न वनमा आगो लगाएपछि यो टापु ‘जङ्गलको आगो’ भनेर पनि चिनियो । कुनै बेला स्नेक आइल्यान्ड ब्राजिलको मुख्य भूमिसँग जोडिएको हुनु पर्छ । समुद्रको सतह बढ्दै गएर हजारौँ वर्षपहिले यो टापुमा परिणत भएको मानिन्छ । यस प्रक्रियामा कैयौँ विषालु सर्प त्यहीँ रहन गए । तबदेखि चराको सिकार गरेर सर्प त्यहाँ हुर्की बढिरहेका छन् । 

चट्टानी तटीय क्षेत्रबाट पानी जहाजलाई परै राख्न सन् १९०९ मा त्यहाँ एउटा ‘लाइटहाउस’ निर्माण गरिएको थियो । जब ‘लाइटहाउस’ लाई स्वचालित बनाइयो त्यहाँ ‘लाइटहाउस’ सञ्चालकले बस्न नपर्ने भयो । उनीहरू आफ्नो पछाडि यस्तो भयानक जङ्गल छाडेर गए जहाँ सर्पहरूको वर्चस्व छ । 

स्नेक आइल्यान्डको इतिहास पृथ्वीमा ११ हजार वर्षपहिले हिमयुग समाप्तिका बेलादेखिको छ । हिमयुग सकिएर समुद्रको जलसतह बढ्न जाँदा सर्पहरू उष्णकटिबन्धीय क्षेत्रमा फस्न पुगेका थिए  । 

हजारौँ वर्षसम्म अलग्गै रहँदा सर्पको सङ्ख्यामा उल्लेखनीय अनुकूलता आयो । तिनको सङ्ख्या तेज गतिमा बढ्यो र टापु तिनको निषेधित स्वर्ग बन्न पुग्यो । किंवदन्ती अनुसार समुद्री लुटेराहरूले आफ्नो लुटको धन लुकाउन स्नेक आइल्यान्डलाई उत्तम स्थल मानेका थिए । 

अचेल यस टापुमा निकै विषालु ‘पिट भाइपर’ सर्प ‘गोल्डेन लान्सहेड’ को सङ्ख्या दुई हजारदेखि चार हजार भएको अनुमान छ । यो सङ्ख्यालाई हेर्दा टापुमा हरेक कदममा एउटा ‘गोल्डेन लान्सहेड’ फेला पर्ने देखिन्छ ।  

कदम कदममा छल भएको स्नेक आइल्यान्डमा ‘गोल्डेन लान्सहेड’ कै राज्य छ । यो सर्प धेरै नै विषालु हुन्छ । जसलाई वैज्ञानिकले ब्रोथ्रोप्स इन्सुलारिस भन्दछन् । यस सर्पको विष स्थानीय चरालाई मार्न अनुकूल छ र यसको विष अन्य भाइपर सर्पभन्दा पाँच गुणा बढी विषालु र तेज हुन्छ । 

स्नेक आइल्यान्डमा मानिस नबस्ने र नजाने भएका कारणले त्यहाँ ‘गोल्डेन लान्सहेड’ ले कुनै मानिसलाई टोकेको थाहा भएको छैन तर दक्षिण अमेरिकामा ‘लान्सहेड’ ले डसेर अन्य प्रजातिका सर्पको तुलनामा धेरै मानिसको मृत्यु हुने गरेको छ । 

यस सर्पले डसेमा गम्भीर परिणाम हुन्छ । शरीर सुन्निने, असह्य पीडा र वाकवाकीका साथै आन्तरिक रक्तस्राव वा मिर्गौला काम नलाग्ने लक्षण देखा पर्छ । उपचार गरिए पनि मृत्युदर ०.५ प्रतिशतदेखि ३ प्रतिशतसम्म र उपचार नगरिए ७ प्रतिशत मृत्युदर देखिएको छ ।

टापुमा खतरनाक सर्पको बास भएकाले ब्राजिलको जलसेनाले त्यहाँ आममानिसलाई जान रोक लगाएको छ । यस निर्णयको मुख्य कारण हो मानिस र सर्प दुवैको रक्षा गर्नु । तर रोक लगाइएको भए पनि तस्करले त्यहाँ सिकार गर्न छाडेका छैनन् । उनीहरूले सर्प समात्ने र कालोबजारमा बेच्ने गर्छन् । 

–युवामञ्च