• १२ पुस २०८१, शुक्रबार

तीनगाउँले, पाँचगाउँले, बाह्रगाउँले

blog

तीनगाउँले, पाँचगाउँले, बाह्रगाउँले, अठारगाउँले जस्ता जाति वा स्थानको पहिचान मुस्ताङ जिल्लाको विशेषता हो । यी गाउँमा बस्ने सबै समुदायलाई यस्ता नामले समेट्छ तर आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले २०५८ सालमा बाह्रगाउँलेलाई एउटा छुट्टै जातिका रूपमा र तीनगाउँलेभित्रका चिमतन, ठिनतान, स्याङ्तानलाई अलग अगल रूपमा सूचीकृत गरेपछि ती स्थानका बासिन्दालाई समुदाय भन्ने कि जाति भनेर विवाद भएको थियो । 

कतिपयले साधारण विशेषताका आधारमा यी सबैलाई थकाली जाति भनेका छन् । विसं २०५२ मा सरकारले बनाएको जनजाति उत्थान प्रतिष्ठान कार्यदलले २०५३ साल वैशाखमा विभिन्न ६१ जातिलाई जनजातिमा सूचीकृत गर्न सरकारलाई सिफारिस गरेअनुसार सरकारले सो सूचीलाई २०५६ साल वैशाख २ गते स्वीकृत गरेको थियो र ती ६१ जातिलाई आदिवासी जनजाति भन्न थालियो । सो सूचीमा परिमार्जन गर्दै सरकारले २०५८ साल माघ २५ गते (लालमोहर लागे अनुसार) आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना ग¥यो । जस अनुसार चिमतन, ठिनतान र स्याङ्तान तीन जातिलाई मिसाएर ‘तीनगाउँले’ बनाइयो । 

तीनगाउँले

मुस्ताङका तीन वटा गाउँ स्याङ, चिमाङ र थिनीमा बाक्लो बसोबास रहेका यिनीलाई तीनगाउँले भनिन्छ । यिनीहरूको धर्म, संस्कृति, सामाजिक जीवन सबै थकालीसँग मिल्दोजुल्दो छ । यिनीहरू आफूलाई थकाली जातिकै सदस्य भन्छन् । तीनगाउँले भित्रको एउटा जाति चिमतन हो । यिनीहरूको गाउँलाई चिमदा वा चिमाङ भनिन्छ र यसैबाट यिनीहरू चिमतन भनिएका हुन सक्छन् । चिमतन दुई वंशका छन्–भम फोदो र ध्याल्कीपाल फोदो । भोट–बर्मेली भाषा बोल्ने यिनका नयाँ पुस्ताले नेपाली नै बोल्छन् । बुद्धमार्गी यिनीमा बोन्पो धर्मको प्रभाव पनि छ । 

तीनगाउँले भित्रको अर्को जाति ठिनतान हो । जसको मुख्य बसोबास टुकुचे र कागबेनीबीचमा पर्ने जोमसोमको ठिनी गाउँमा रहेको छ । यही भएर यिनी ठिनतान भएका होलान् । ठिनतानभित्र ओमथिन, तपोथिन, छोथिन, चकिथिन, ढ्याङ्थिन, लाङ्लाङथिङ जस्ता थर छन् । 

लाङ्लाङथिङ लोपोन्मुख प्रायः छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले तीनगाउँलेलाई सुविधा वञ्चित जातिको प्राथमिकता सूचीमा राखेको छ । यिनी मूलतः बौद्ध र बोन्पो धर्मावलम्बी हुन् तर कतिपय चाडबाड हिन्दुसरह नै मनाउने गरेका छन् । पशुपालन, घुमन्ते व्यापार गर्ने यिनी पछिल्ला समयमा होटल व्यवसायमा पनि संलग्न र सफल छन् । यिनीहरूमा प्रबल सामुदायिक भावना छ । समुदायभित्र ढिकुर (ढुकुटी) को प्रचलन छ । जसले उनीहरूको आर्थिक हैसियत वृद्धि गर्न सहयोग गरेको पाइन्छ । 

मुस्ताङको स्याङ गाउँमा बसोबास रहेकाले यिनीहरूलाई स्याङ्तान भनिएको हो । सुरुमा छुट्टै जातिका रूपमा सूचीकृत यिनीहरूलाई पछि तीनगाउँलेमा समावेश गरियो । स्याङ्तानभित्र साकार, स्याङ्तेन, पासिङ, सान, ची, झिसिन, क्या, स्हरेन फोपका सन्तान/वंश पाइन्छ । केटीलाई अपहरण गरेर विवाह गर्ने प्रचलन छ भनेर राष्ट्रिय जनजाति विकास समितिद्वारा प्रकाशित पुस्तिका ‘नेपालका आदिवासी जनजातिहरू २०५७’ मा उल्लेख गरिएको छ ।  यस्तो प्रचलनलाई रहोलीवोवा भनिन्छ तर अहिले यस्तो प्रचलन प्रायः लोप भएको सम्बन्धितहरू बताउँछन् । यिनीहरूको भाषा, संस्कृति र चाडबाड धेरैजसो थकालीसँग मिल्छ ।

पाँचगाउँले

तीनगाउँले जस्तै पाँचगाउँलेलाई आदिवासी जनजातिमा सूचीकृत गरिएको छैन । मुस्ताङको टुकुचेदेखि कागबेनीबीचमा पर्ने थिनी, स्याङ, मार्फ, धिमाङ, चेराङमा बस्ने यिनीहरूलाई पाँचगाउँले भनिन्छ । 

कतिपय स्थानमा तीनगाउँले र पाँचगाउँलेको क्षेत्र मिसिएको पनि पाइन्छ । । जस्तै थिनी र स्याङमा तीनगाउँले पनि छन्, पाँचगाउँले पनि भेटिन्छन् । त्यसैले यी सबै एउटै जाति तर भिन्न समुदाय वा थर हुन् भन्न सकिन्छ । पाँचगाउँलेलाई पुनले पनि भनिन्छ । थकालीसँग शारीरिक बनोटदेखि भाषा, संस्कृति रहनसहन मिल्छ । विगतमा केटीलाई जबरजस्ती गरेर विवाह गर्ने प्रचलन थियो तर अहिले यस्तो जबरजस्तीमा विवाह हुँदैन । मागी र प्रेम विवाह सहमतिमा हुन्छ । 

बाह्रगाउँले 

मुस्ताङको थाक खोलामाथि ल्होमान्थाङ वरिपरि तथा त्यहाँबाट दक्षिणतिर पर्ने छुसाङ, छार्का, थोचे, झोङ, खाङसार, कागबेनी जोमसोम, छोसेर, छोन्हुपलगायतका गाउँ र अन्य साना बस्तीमा बस्ने समुदायलाई बाह्रगाउँले भनिन्छ । 

साबिकका मुक्तिनाथ, झोङ, छुसाङ र कागबेनी गाविसलाई मिलाएर ‘बारागुङ मुक्तिक्षेत्र’ गाउँपालिका बनाइएको छ । यिनीहरूको गाउँलाई ‘बारागुङ’ भनिन्छ । उच्चारणको भिन्नताले बाह्रगाउँ भन्न थालिएको हुन सक्छ । यिनीहरूको मुखाकृति, रहनसहन सामाजिक परम्परा ल्होमान्थाङका ल्होपा र थाकतिरका थकालीसँग मिल्छ ।

यही आधारमा कतिपयले बाह्रगाउँलेलाई पनि थकाली नै भन्ने गरेका छन् तर नेपाल सरकारले बाह्रगाउँलेलाई भिन्न जातिको रूपमा सूचीकृत गरेको छ । यिनीहरूले पनि बौद्ध र बोन्पो धर्म मान्छन् तर अहिले व्यापार तथा व्यवसायको सन्दर्भमा पोखरा तनहुँलगायतका क्षेत्रमा पुगेका यिनीहरूले हिन्दु परम्परा अनुसारका चाडबाड पनि मनाउने गर्छन् । 

यिनीहरूले मागी, प्रेम वा भगाएर विवाह गर्छन् । भगाएर बिहे गरेको छ भने केटीका बावुआमासँग केटाले माफी मागेर विवाहलाई वैधता दिने प्रचलन थियो तर अचेल यस्तो प्रचलन विघटन भएको छ । यसरी माफी माग्ने प्रचलनमा केही नियम पु¥याउनु पर्छ । रक्सी र केही उपहारसहित केटीको घर नजिक गएर सार्वजनिक रूपमा केटाले चिच्याएर माफी माग्नु पर्ने चलन रहेको छ । 

तीन, पाँच र बाह्रगाउँलेमा जन्ममृत्युका संस्कार लामाद्वारा गरिन्छ । आमा मर्दा नुन र बाबु मर्दा तीन दिन मासु बार्ने चलन छ । कतिले ३० र कतिपयले ४९ दिनमा घेवा गरेर जुठो फुकाउँछन् । पतिपत्नीमा पनि तीन दिन नुन बारना छ । बहुपति प्रथा अन्तर्गत जेठा दाजुले बिहे गरी ल्याएको केटी अन्य भाइको पनि साझा श्रीमती हुन्छिन् भनेर लेखक गुरुङ रामप्रसाद समथिङले लेखेका छन् । 

यिनीहरूमा जनैपूर्णिमाको अवसरमा यार्तुङ पर्व धुमधामसँग मनाइन्छ । यो पर्वमा दौडिएको घोडामाथि बसेर भुइँमा राखिएको खादा र पैसा टिप्ने चलन छ । यसैदिन तारो हान्ने प्रचलन पनि छ । तारोमा जित्नेको ठूलो प्रतिष्ठा हुन्छ । उसलाई ‘रोशन’ पदले सम्मान गरिन्छ । यी गाउँभित्रका जातिले ठकुरी, गुरुङ, क्षेत्री थर लेख्ने गरेकाले थकालीलगायत यिनीहरूको जनसङ्ख्या कम छ । जनगणना २०७८ मा पनि बाह्रगाउँले वा तीनगाउँलेको जनसङ्ख्या उल्लेख छैन । सबैले थकाली, गुरुङ, विष्ट, ठकुरी लेख्ने गरेका छन् । यिनको ल्होसार नयाँ वर्ष हो जुन विशेष उल्लासका साथ मनाइन्छ । 

–त्रिभुवनचन्द्र वाग्ले