ठाकुरप्रसाद आचार्य
म्याग्दी (बेनी), फागुन ११ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनामा सबैभन्दा लामो मानिएको दोस्रो र तेस्रो अडिट जोड्ने सुरुङको ‘ब्रेक थ्रु’ भएको छ ।
बुधबार साँझ उक्त अडिट जोडने सुरुङको ‘ब्रेक थ्रु’ भएसँगै आयोजनामा हालसम्म पाँच हजार ९१७ मिटर सुरुङ निर्माण सकिएको छ । आयोजनामा छ हजार २७० मिटर सुरुङ निर्माण गर्नु पर्दछ ।
रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले दोस्रो र तेस्रो अडिट जोड्ने तीन हजार ८३६ मिटर लामो सुरुङ जोडिएसँगै अब आयोजनामा ३५३ मिटर सुरुङ खन्न बाँकी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार रघुगङ्गा गाउँपालिकाको अँधेरीखोलामा रहेको दोस्रो अडिटबाट एक हजार ९३९ मिटर र पिप्लेको तेस्रो अडिटबाट एक हजार ८९७ मिटर सुरुङ खनिएको छ ।
आयोजनाका व्यवस्थापक राज विष्टले आगामी वैशाखभित्र सम्पूर्ण टनेलको ‘ब्रेक थु्र’ गर्ने जानकारी दिनुभयो ।
आयोजनाले टनेल पूरा भएका प्याकेजमा कङ्क्रिट लाइनिङ गर्ने, पेनस्टक राख्ने र पावरहाउसमा टर्बाइन राख्ने क्षेत्रको काम पनि एकसाथ सुरु गरेको जनाएको छ । विद्युत्गृह निर्माण स्थलबाट भर्टिकल प्रेसर साफ्टसँग जोड्ने ३२९ मिटर बटम प्रेसर साफ्टको सुरुङ यसअघि नै जोडिएको थियो । विद्युत्गृहबाट निस्कने पानी कालीगण्डकीमा मिसाउने १२८ मिटर लामो टेलरेसमध्ये २८ मिटर निर्माण सकिएको, ६३ मिटरमा काम भइरहेको र ३७ मिटर बाँकी रहेको विष्टले जानकारी दिनुभयो । पावरहाउसमा टबाइन र जेनेरेटरमध्ये एक/एक वटा आइसकेको छ । स्विचयार्डको काम पनि सकिएको छ । सन् २०२५ मार्चदेखि विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजनासहित निर्माणमा तीव्रता दिएको जनाइएको छ । सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्सले बाँध, सुरुङ र विद्युत्गृह निर्माणलाई एकैसाथ अघि बढाएको छ ।
भारतीय आयातनिर्यात (एक्जिम) बैङ्कको सहुलियतपूर्ण ऋण लगानी भएको राहुघाट जलविद्युत् आयोजनामा ब्याजबाहेक आठ अर्ब ६० करोड लागत अनुमान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले २०६५ देखि राहुघाटको सिभिल इन्जिनियरिङको काम सुरु गरेको थियो । ऋणको सर्त अनुसार २०६७ साल कात्तिकमा निर्माण सम्पन्न गर्ने गरी भारतीय कम्पनी आइभिआरसिएल इन्फास्टक्चर प्रोजेक्ट्स इन्डिया लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो तर ठेकदारले काम गर्न नसकेपछि प्राधिकरणले २०७० सालमा सम्झौता तोडेको थियो ।
आइभिआरसिएलसँग ठेक्का तोडेपछि रघुगङ्गा हाइड्रोपावर लिमिटेडले राहुघाट हाइड्रोको डिजाइन तथा मोडेल परिवर्तन गरी ३२ बाट ४० मेगावाट क्षमता वृद्धि गरिएको थियो । आयोजनामा ७० प्रतिशत विद्युत् प्राधिकरण र ३० प्रतिशत सर्वसाधारणको सेयर पुँजी रहने व्यवस्था छ ।