• १२ साउन २०८१, शनिबार

भासु भीर खण्डमा विस्फोट हुँदा चार जना घाइते

blog

फाइल तस्बिर ।

एकिन्द्र तिमिल्सेना

टीकापुर, फागुन १० गते । भीमदत्त राजमार्गस्थित भासु भीर खण्डमा बुधबार साँझतिर विस्फोटनमा परी चार जना घाइते भएका छन् । राजमार्गको कैलाली, चुरे गाउँपालिका–३ भासुमा सडक चौडा गर्ने क्रममा मेसिनले बाटो खनिरहेको अवस्थामा जमिनभित्रबाट नाम नखुलेको पदार्थ विस्फोट भई चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घाइते हुनेहरुमा स्थानीय ४५ वर्षीका वसन्त खडायत, जिल्ला सुर्खेत घर भई हाल कञ्चनपुर बस्ने रोलर अप्रेटर २२ वर्षका हीरा थापा हुनुहुन्छ । उनीहरु दुवै जना गम्भीर घाइते भएका छन् भने डडेल्धुरा आलिताल गाउँपालिका–८ का २४ वर्षीय चालक विकास थापा र विराटनगर घर भई हाल कञ्चनपुर बस्ने ३५ वर्षका नवीन देवलाई सामान्य चोट लागेको छ । घाइतेहरुको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भैरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार मेसिनको चुच्चो लाग्ने बित्तिकै विस्फोट भएको र ढुङ्गा माटो लागेर चारै जना घाइते भएका हुन् । 

घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेनाको टोल सहित आवश्यक अनुसन्धान गरिरहेको चन्दको भनाइ छ ।