पुष्कर भण्डारी
डडेलधुरा, चैत १७ गते । आकृति अवस्थी डडेलधुराबाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यमा चयन हुनुभएको छ । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा सदस्य बन्नुभएको हो ।
सदरमुकामको तुफानडाँडामुनि अमरगढी नगरपालिका–५, सेलामा सामान्य परिवारमा जन्मिएकी आकृति गत भदौ २३ र २४ को जेनजी आन्दोलनअगाडिसम्म कुनै पार्टीमा आबद्ध हुनुहुन्नथ्यो । जेनजी आन्दोलनमा उहाँका भाइ घाइते हुनुभएपछि पार्टीले उहाँलाई समानुपातिकको सूचीमा राखेको थियो ।
बुवा चेतराज अवस्थी र आमा अर्मापति अवस्थीकी जेठी सन्तानका रूपमा जन्मिएकी अवस्थीले कक्षा १२ पास गर्नेबित्तिकै गैरसरकारी संस्थामा काम गर्दै आउनुभएको थियो । हाल उहाँ ग्रामीण विकास विषयमा स्नातकोत्तर तहमा अध्ययनरत हुनुहुन्छ ।
प्रतिनिधि सभा सदस्य हुनुअघिसम्म उहाँ कञ्चनपुरमा रहेको ‘निड्स’ नामक संस्थामा कार्यक्रम संयोजकका रूपमा कार्यरत हुनुहुन्थ्यो । गैरसरकारी संस्थामा काम गर्दा महिला र पछाडि परेका वर्ग र समुदायको वास्तविक अवस्था एवं उनीहरूको आवश्यकतालाई प्रत्यक्ष अनुभव गर्न पाएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यस्तो वर्ग र समुदायलाई माथि उकास्नु विशेष योजना चाहिन्छ भन्ने कुरा मेरो मानसपटलमा उठिरह्यो । राज्यले यस्ता वर्गका लागि विशेष कार्यक्रम ल्याउनु पर्छ ।”
गैरसरकारी संस्थामा काम गर्दा अछामका ग्रामीण र दुर्गम बस्तीमा महिला तथा पछाडि पारिएका समुदायका समस्या पहिचान गर्ने अवसर पाएको उहाँको भनाइ छ ।
यसअघि दुई वटा परियोजनामा कृषि प्राविधिकका रूपमा काम गरेको अनुभव पनि उहाँसँग छ । सोही अनुभवका आधारमा कृषिलाई औद्योगिकीकरणसँग जोडी बढ्दो बेरोजगारी र युवा पलायन रोक्न सकिने उहाँ बताउनुहुन्छ ।
आकृतिको जीवनमा राजनीतिक मोड ल्याउने घटना गत भदौ २३ को हो । सो दिन उहाँका माइला भाइ मुकेश अवस्थी जेनजी आन्दोलनमा सहभागी हुन प्रतिनिधि सभा भवन नजिक पुगेका बेला प्रहरीको गोली लागेर घाइते हुनुभयो । गम्भीर घाइते अवस्थामा उपचार गराइरहेका मुकेशले अन्ततः आफ्नो बायाँ खुट्टा गुमाउनु प¥यो । परिवारका लागि यो घटना निकै पीडादायी बन्यो । राजनीतिमा खासै चासो नभए पनि रास्वपाले जेनजी आन्दोलनका घाइते परिवारलाई प्राथमिकतामा राखेकाले आफूले अवसर पाएको आकृति बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अब देशमा सुशासन कायम गर्ने र भ्रष्टाचार रोक्ने प्रयास हुने छ ।” पार्टीको वाचापत्र र सरकारले गर्ने सय कामलाई ध्यान दिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
डडेलधुराको स्वास्थ्य अवस्था सुधार गर्न पनि आफू लागिसकेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सङ्घीय सरकारमातहत रहेको सुदूरपश्चिमको एक मात्रै डडेलधुरा अस्पतालको समस्या र सुदूरपश्चिमका पहाडी जिल्लाका बिरामीले भोग्नु परेको पीडा नजिकबाट हेरेकाले त्यसको समाधानमा लाग्ने छु ।” अस्पतालका लागि आवश्यक जनशक्तिसँगै उपकरण र औषधीको व्यवस्थापनका लागि समयमै पहल थालिएको उहाँ बताउनुहुन्छ ।
“यहाँ शिक्षा, प्रविधि, खानेपानी, सिँचाइ, सडकलगायतका पूर्वाधार विकास अत्यावश्यक छ । कृषि उत्पादनलाई व्यावसायिक रूपमा अघि बढाई उद्योग व्यवसाय विस्तार गर्नुपर्ने छ,” उहाँ भन्नुहुन्छ ।”