• २१ असार २०८१, शुक्रबार

बजेट अभाव हुँदा अस्पताल निर्माणमा ढिलाइ

blog

धनगढी समाचारदाता

धनगढी, फागुन १० गते । कैलालीको दुर्गम मोहन्याल गाउँपालिकामा १० शय्याको पालिकास्तरीय अस्पताल निर्माणमा ढिलाइ भएको छ । बजेट अभावले निर्माणमा ढिलाइ भएको गाउँपालिकाले जनाएको छ ।

सङ्घीय सरकारले बजेट नपठाउँदा निर्माण अगाडि बढाउन समस्या भइरहेको पालिकाका इन्जिनियर योगेन्द्र भण्डारीले बताउनुभयो । “ हाल भइरहेको कामको पनि भुक्तानी दिन सकिएको छैन,” इन्जिनियर भण्डारीले भन्नुभयो, “निर्माण कम्पनीलाई पालिकाले एक करोड रुपियाँ पेस्की दिएको थियो । त्यसपछिको कामको भुक्तानी हुन सकेको छैन ।” 

चालु आर्थिक वर्षमा पनि सङ्घीय सरकारले अस्पताल निर्माणका लागि पर्याप्त बजेट नपठाएको जनाइएको छ । “बजेट निकासाका लागि कामको प्रगतिसहित स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएका छौँ,” उहाँले थप्नुभयो, “तर बजेट निकासा भएको छैन ।”

मङ्सिरसम्म निर्माण हुनुपर्ने अस्पताल बजेट अभावका कारण अलपत्र बनेको छ । तोकिएको समयावधिमा निर्माण पूरा हुन नसकेपछि निर्माण कम्पनीसँगको सम्झौता अवधि एक वर्ष थप गरिएको छ । 

हाल ढलानको काम भइरहेको छ । अस्पताल फाउन्डेसनको काम पूरा भइसकेकाले अन्य काम अगाडि बढाउने तयारी भइरहेको छ तर बजेट नआएकाले ढिलो भएको गाउँपालिकाको कार्यालयले जनाएको छ । 

कैलाली जिल्लाको विकट पहाडी क्षेत्रमा पर्ने मोहन्याल गाउँपालिकामा अस्पताल नहुँदा सर्वसाधारणलाई सामान्य उपचारका लागि पनि छिमेकी प्रदेश सुर्खेतको वीरेन्द्रनगर, लम्की, धनगढी र अत्तरिया आउनुपर्ने बाध्यता रहेको छ । 

प्रत्येक पालिकामा १० वा १५ शय्याको अस्पताल बनाउने सरकारको कार्यक्रम अनुसार मोहन्यालको वडा नम्बर ६, सोल्टामा १० शय्याको अस्पताल निर्माण अगाडि बढाइएको थियो । उक्त अस्पताल निर्माणका लागि सिएम शाही सञ्चालन रहेको प्रशंसा जेभीसँग छ करोड रुपियाँमा ठेक्का सम्झौता गरिएको छ ।