• १७ जेठ २०८१, बिहिबार

देशभर २० सुरुङमार्ग निर्माण प्रक्रियामा

blog

काठमाडौं, फागुन ८ गते । पछिल्लो समय देशभर सुरुङमार्गको अध्ययन बढ्न थालेको छ । देशभर २० वटा सुरुङमार्ग निर्माणका लागि अध्ययन अघि बढेको छ । त्यसमध्ये दुई वटा सुरुङमार्ग निर्माणाधीन छन् । सात वटाको प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । निर्माणाधीन र प्रारम्भिक सम्भाव्यता अध्ययन सकिएका नौ वटा आयोजनाको लागत एक खर्ब रुपियाँभन्दा बढी छ ।

सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नरेशमान शाक्यका अनुसार आठ सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन भइरहेको छ । बाँकी तीनको सुरुङ निर्माणको सम्भाव्यता अध्ययनको प्रक्रियामा छ ।

यी सुरुङमार्गको ठेक्का लगाउने प्रक्रिया भइरहेको उहाँको भनाइ छ ।

यी हुुन् निर्माणाधीन सुरुङमार्ग 
काठमाडौं–धादिङ जोड्ने नागढुङ्गा सुरुङमार्ग निर्माणको अन्तिम चरणमा पुगेको छ । अब यो सुरुङमार्ग छिचोलिन ३२ मिटर मात्र बाँकी रहेको आयोजनाले जनाएको छ । यस्तै, पाल्पा र  रुपन्देही जोड्ने सिद्धबाबामा सुरुङमार्ग निर्माणको प्रक्रियामा छ । ‘इन्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन’(इपिसी) मोडेलमा निर्माण हुने गरी ठेक्का सम्झौता भएको छ । निर्माण कम्पनीले पाँच वर्षभित्र सुरुङको डिजाइनसहित निर्माणकार्य सक्नुपर्नेछ ।

सोही अनुसार चाइना स्टेटले डिजाइन बनाएर सुरुङ निर्माण थालेको छ । निर्माणाधिन दुई वटा सुरुङको लागत २७ अर्ब ९४ करोड रुपियाँ छ ।

सम्भाव्यता अध्ययन सम्पन्न सुरुङ मार्ग
सुनसरीको धरान–लेउती सुरुङमार्गको सम्भाव्यता अध्ययन सकिएको छ । चालु आर्थिक  वर्षमा यसको सम्भाव्यता अध्ययन सकिएको हो । यो सुरुङमार्गको लम्बाई ३.८७ किलोमिटर छ । ‘टिएमएस ईआई माभेन रेस’ को ओयन्ट भेन्चर कम्पनी (जेभी)सँग २०८० वैशाख ३० मा ठेक्का सम्झौता भएको थियो । यसको लागत अनुमान ११ अर्ब ३८ करोड ६८ लाख ६३ हजार रुपियाँ  छ । 

यस्तै, कैलाली र डोटीको खुटिया–बिपी नगर–दिपायल सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । यस आयोजनाको २०७७ साल माघ ७ गते सम्भाव्यता अध्ययन सकिएर ठेक्का सम्झौता भएको थियो । इन्भायरोमेनट एण्ड रिसर्च म्यानेजम्यान्ट कन्सल्टसँग सम्झौता भएको थियो । यसको लम्बाइ ७.०१ किलोमिटर रहनेछ ।

यस आयोजनाको लागत रकम १३ अर्ब ४० करोड ७२ लाख २७ हजार अनुमान गरिएको छ । चालु आर्थिक वर्षका लागि भने बजेट विनियोजन गरिएको छैन ।

ललितपुर, काभ्रेमा बन्ने गोदावरीपुल–काभ्रेमनेदोभान सुरुङमार्गको सम्भाव्यता अध्ययन सकिएको छ । वि.सं २०७७ माघ ७ गते सम्भाव्यता अध्ययन सम्पन्न भएर ठेक्का लागेको थियो । यस आयोजना सम्पन्न गर्नका लागि कुल लागत सात अर्ब ९७ करोड ९९ लाख रुपियाँ लाग्ने अनुमान छ । यसको लम्बाइ ३.६५ किलोमिटर रहनेछ । चालु आर्थिक वर्षमा यस आयोजनालाई रकम विनियोजन गरिएको छैन ।

यस्तै, बागलुङको न्यू नरेठाँटी सुरुङमार्ग अध्ययन कार्य पनि सम्पन्न भएको छ । यस आयोजनाको २०८० साल वैशाख ७ गते सम्भाव्यता अध्ययन कार्य सम्पन्न भएको थियो । इआइएम सोइल्टेम्ट इन्साइट कम्पनीसँग सम्झौता भएको थियो । यसको लम्बाइ ७.४४ किलोमिटर रहनेछ ।  आयोजना सम्पन्न गर्न कुल २० अर्ब ४८ करोड ३५ लाख ३३ हजार लागत लाग्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा यस आयोजनाका लागि बजेट भने विनियोजन गरिएको छैन ।

पाल्पाको प्रभास–जार्ते जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन सकिएको छ । यो सुरुङमार्गको लम्बाइ चार किलोमिटर रहनेछ । यस आयोजनाको लागत नौ अर्ब ३५ करोड ३६ लाख ३३ हजार रुपियाँ लाग्ने अनुमान छ । 

यस्तै, मकवानपुरको कुलेखानी भीमफेदी सुरुङमार्गको पनि सम्भाव्यता अध्ययन सकिएको छ ।

कुल लम्बाइ ३.१६ किमी रहनेछ । यसको लागत १० अर्ब ७२ करोड ३४ लाख ३८ हजार लाग्ने अनुमान छ ।

सिन्धुलीको खुर्कोट–सिन्धुली सुरुङमार्गको पनि अध्ययन सकिएको छ । ४.९ किलोमिटर लम्बाइ रहने यस आयोजनको लागत १६ अर्ब ८१ करोड ८७ लाख ४२ हजार रपियाँ लाग्ने अनुमान छ ।

अध्ययन हुँदै आठ सुरुङमार्ग
अहिले आठ सुरुङमार्गको अध्ययन भइरहेको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नरेशमान शाक्यले बताउनुभयो ।

फुस्रेखोला ढोरपाटन (पोखरा)देखि स्याङ्जा गुडीखोला सुरुङ र ताथली–रविओपी सुरुङ मार्गको सम्भाव्यता अध्ययनको क्रममा नै रहेको उहाँ बताउनुहुन्छ ।

यस्तै, रारा राजमार्गको कुशेपाटन (जाजरकोट ब्याउलीढुङ्गा) र जुम्लाको इमिलचा खोला (सुरुङ मार्ग) को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अध्ययनका लागि केन्द्रले सम्झौता गरेको छ ।

यस्तै, बबइ–छिन्दु, माझिम्तार–शक्तिखोर सुरुङमार्ग, इलामको सुनुमाई राजदुवोल सुरुङमार्ग, हेम्जा नयाँपुल खण्ड सुरुङमार्गको पनि अध्ययन भइरहेको छ । दुम्किबास बर्दघाट सुरुङमार्गको पनि अध्ययन भइरहेको छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।