• १२ मंसिर २०८१, बुधबार

‘कुडा कर्णालीका’ मा भूकम्प बहस

blog

बुलबुले समाचारदाता

सुर्खेत, फागुन ७ गते । रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले ‘कुडा कर्णालीका’ मञ्चबाट भूकम्पपीडितले पाइरहेको सास्तीको वर्णन गर्नुभयो । शनिबारदेखि वीरेन्द्रनगरमा सुरु भएको कर्णाली उत्सवको ‘इपिसेन्टर’ शीर्षक सत्रमा सहभागी प्रमुख केसीले भूकम्प गएको चार महिनासम्म पनि कार्यविधि नै नहुँदा पुनर्निर्माणमा ढिलाइ हुन गएकोभन्दा लाज लाग्ने गरेको बताउनुभयो । 

उहाँले प्रदेश र सङ्घीय सरकारले तत्काल पुनर्निर्माणका लागि कार्यविधि बनाउनुपर्नेमा जोड दिँदै आवश्यक कार्यविधि र दोस्रो चरणको अनुदानको पर्खाइमा भूकम्पपीडित रहेको बताउनुभयो । बहसमा सहभागी वक्ताले जाजरकोट भूकम्पबाट पाठ सिकेर सरकारले नीति निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले भूकम्पपछि अब जुनसुकै प्रयोजनका लागि संरचना निर्माण गर्दा भूकम्प प्रतिरोधी बनाउनुपर्ने पाठ जाजरकोट भूकम्पले सिकाएको बताउनुभयो । 

भूकम्पले ठुलो क्षति निम्त्याउनुमा असुरक्षित संरचना मुख्य कारण रहेको उहाँको ठम्याइ छ । उहाँले बारेकोटको चर्चा गर्दै भन्नुभयो, “बस्ती तल छ । माथिको जमिन सबै भासिएको छ । नागरिक असुरक्षित अवस्थामा बसिरहेका छन् ।” भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्पबारे जनता शिक्षित नभएसम्म भूकम्पबाट हुने क्षति कम नहुने बताउनुभयो । उहाँका अनुसार भूकम्पबारे अध्ययन नै राम्रोसँग हुने गरेको छैन । अझै पनि कतिलाई भूकम्प पनि जान सक्ने र भूकम्पले क्षति हुन्छ भनेर थाहा नपाएको उहाँको भनाइ छ । नेपालमा भूकम्पसम्बन्धी २०७२ सालबाट नीति, नियम बने पनि कार्यान्यवनको पाटो एकदमै कमजोर रहेको उहाँको भनाइ छ । 

अधिकारीले भन्नुभयो, “भूकम्पको केन्द्रबिन्दुमा मानवीय क्षति छैन । भौतिक क्षति पनि कम छ । भूकम्प गएकै ठाउँमा क्षति बढी हुन्छ, अन्य ठाउँमा कम हुन्छ भन्ने सोच बनाउन हुँदैन । जाजरकोटको भूकम्पले बनाउँदै गरेका घरहरू भत्किएका कारण यस पटक नयाँ सिकाइ पनि भएको छ ।”

शनिबारदेखि सुरु भएको ‘कर्णाली उत्सव’ मा पहिलो दिन विपत् र व्यवस्थापनसँग सम्बन्धित छलफल गरिएको थियो । शनिबार नै ‘सङ्कट र सेवा’ तथा ‘जोखिम र जुइन्या जुक्ति’ शीर्षकमा समेत छलफल भएको छ । तीन दिन चल्ने उत्सवमा १३ वटा सत्र राखिएको जनाइएको छ ।