• १२ पुस २०८१, शुक्रबार

‘गोदावरी सहमति’ र महासमिति बैठक

blog

सरकारको नीति तथा कार्यक्रम पारित नभएपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २६ असार २०५१ मा प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरे । टिकट वितरणअघिको बैठकमा नेपाली कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईले आफूसहित महामन्त्री महेन्द्रनारायण निधि र नेता कोइरालाले चुनावमा प्रतिस्पर्धा नगर्ने प्रस्ताव अघि सारे । भट्टराईको यस्तो प्रस्तावमा आफ्नो सहमति नभएको तर लिखित रूपमा केही उल्लेख नगरेको प्रस्ट पार्दै बैठकपछि कोइरालाले भनेका थिए, ‘संवैधानिक रूपमा संसद् विघटन गरेर मध्यावधिमा जाने निर्णय मैले गरेको हुँ । चुनाबबाट म नै पछाडि हट्दा पार्टीको हालत के होला ?’ त्यसपछि महामन्त्री महेन्द्रनारायण निधिलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री कोइरालाले सोधे, “निधि जी आप क्या करेंगे ?” निधिले जवाफ दिए, “मे नहि लडरहा हुँ । मे बुढ्ढा हो गया हुँ । मेरा बेटा लडेगा ।” कोइरालाले अगाडि सोधे, “मे क्या करुँ ?” निधिले भने, “आप इलेक्सन लडो । क्यू कि आपके बिना इलेक्सनका लेजिटिमेसी नहिं होगा ।” त्यसपछि निधिले पुत्र विमलेन्द्रलाई अघि सारे । उता सन्तनेता भट्टराई पनि चुनाव लडेनन् । २९ कात्तिक २०५१ मा मध्यावधि निर्वाचन भयो । कुनै पनि दलको बहुमत आएन । सबैभन्दा ठुलो दल एमालेको तर्फबाट १४ मङ्सिर २०५१ मा मनमोहन अधिकारी अल्पमतको सरकारको प्रधानमन्त्री नियुक्त भए । अधिकारीको अल्पमतको सरकार नौ महिनाभन्दा लामो टिक्न सकेन । २७ भदौ २०५२ मा शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्यो । देउवा सरकार पनि लामो समय टिक्न सकेन । २७ फागुन २०५३ मा एमालेको समर्थनमा राप्रपाका लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा नयाँ सरकार गठन भयो । 

यता, २०५० सालको उपनिर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट आफू पराजित हुनुको पछाडि प्रधानमन्त्री कोइरालाले रेडियो नेपालमार्फत दिएको २६ मिनेट लामो वक्तव्य प्रमुख कारण रहेको नेपाली कांग्रेसका कार्यबाहक सभापति कृष्णप्रसाद भट्टराईको ठम्याइ थियो । यसैबिच, उपनिर्वाचनको तुष बाँकी नै रहेका बेला २६–२८ वैशाख २०५३ मा काठमाडौँमा कांग्रेसको नवौँ महाधिवेशन भयो । महाधिवेशनमा भट्टराईकै योजना अनुसार कोइरालाका विरुद्ध चिरञ्जीवी वाग्लेलाई सभापति पदमा अघि सारियो । पार्टीभित्र पनि सभापतिलाई औँलो ठड्याउन प्रतिपक्षी चाहिन्छ भनेर उनले वाग्लेलाई अघि सारेका थिए । सभापतिमा निर्वाचित कोइरालाले महाधिवेशन लगत्तै बलदेव शर्मा मजगैंया, जेपी गुप्ता र गोपाल राईलाई केन्द्रीय सदस्य मनोनित गरे । उपनिर्वाचनमा आफ्नाविरुद्ध खुलेर लागेका गुप्ता र राईलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको भन्दै भट्टराईले गम्भीर आपत्ति जनाए । यो घटनापछि भट्टराई र कोइरालाबिच मनमुटाव झनै बढ्यो । भट्टराईले भने, “गिरिजाबाबुले पटक पटक मेरो चित्त दुखाउने काम गर्नुभएको छ, त्यस कारण अबदेखि म पार्टी अफिस (टेकु) पनि जान्न, कोइराला निवास महाराजगन्ज पनि जान्न ।” भट्टराईको यो सन्देश महामन्त्री तारानाथ रानाभाटमार्फत गिरिजाप्रसादकहाँ पुग्यो । दुई नेताबिच यसरी खटपट सुरु भएको थाहा पाएपछि भेट्न पुगेका शैलजा आचार्य र चक्रप्रसाद बास्तोलालाई भट्टराईले चित्त दुखेको कुरा सुनाए । आचार्य, बास्तोला र रानाभाटले ‘किसुनजी र तपाईं सँगै बसेर आपसी तिक्तता नमेटाउने हो भने सिङ्गो पार्टी कमजोर हुन्छ’ भन्दै जतिसक्दो छिटो कुरा गर्न कोइरालालाई सुझाए । त्यसपछि मात्र कोइराला नेता भट्टराईको गुनासो सम्बोधन गर्न तयार भएका हुन् । अर्कातिर, आचार्य, बास्तोला र रानाभाटसहितले गरेको संयोजनमा संशय लागेपछि किसुनजीले विराटनगरमा रहेकी नेतृ नोना कोइरालासँग टेलिफोनमा कुरा गरे । माइतीसँगको घनिष्ठ सम्बन्धका कारण पनि नोनासँग किसुनजीको पारिवारिक सम्बन्ध थियो । तत्कालै विराटनगरबाट काठमाडौँ आएकी नोनालाई गिरिजाप्रसादले भरोसा दिलाउनु भनेर भट्टरार्ई कहाँ पठाए । भट्टराईले सोधे ‘गिरिजाबाबुप्रति मेरो त्यति धेरै विश्वास छैन, तपाईंले साँच्चै पहल गर्ने हो त ?’ नोनाले त्यसको सम्पूर्ण जिम्मा आफूले लिने बचन दिएपछि कोइरालासँग कुरा गर्न भट्टराई बल्ल तयार भए । 

त्यसपछि नै ललितपुरको गोदावरी भिलेज रिसोर्टमा भट्टराई र कोइरालाबिच वार्ता तय भएको थियो । गोदाबरीमा चक्र, शैलजा, तारानाथ, ओमकार श्रेष्ठ, अमिता कपाली र गोकर्ण पौडेलसमेत सहभागी थिए । सबैका अगाडि कुरा गर्न नचाहेपछि भट्टराईले प्रस्ताव राखे, “जे हुने हो हामी दुई जनाबिच मात्र हुन्छ ।” कोइरालाका सहयोगी गोकर्णका अनुसार त्यसपछि कोइराला र भट्टराईबिच जम्मा पाँच मिनेट कुराकानी भएको थियो । जसलाई कांग्रेसभित्र ‘गोदावरी सहमति’ का नामले चिनिन्छ । सहमति भएपछि कोइरालाले ‘तपाईंको चित्त दुखेको विषय प्वाइन्टआउट गर्नुस्, म सम्बोधन गर्छु’ भन्दै नेता भट्टराईलाई पार्टी अफिसमा आउन निम्ता दिए । जवाफमा भट्टराईले भने, “वातावरण बनाउनुस् न पहिला ।” तत्कालै कोइरालाले भने, “जेपीलाई तपाईंसँग कुरा गर्न पठाउँछु, गोपाल राईलाई पार्टी अफिस पुगेर आजै हटाउँछु ।” नभन्दै गोदावरीबाट महाराजगन्ज फर्कंदै गर्दा मुख्य सचिव लक्ष्मण घिमिरेलाई पार्टी अफिसमा बेलाएर गोपाल राईलाई केन्द्रीय सदस्यबाट हटाइएको विज्ञप्ति जारी गर्न लगाए । 

यो सहमतिपछि नेता बेनीबहादुर कार्कीको जाउलाखेलस्थित निवासमा भट्टराई, कोइराला र सूर्यबहादुर थापाबिच नयाँ चरणको वार्ता भयो । जहाँ नेताहरूबिच चन्द सरकारविरुद्ध अभियान अघि बढाउने सहमति भयो । त्यसका लागि कांग्रेस एक्लैको पहलबाट मात्र सम्भव नहुने भएकाले राप्रपामा विभाजन ल्याएर केही समयका लागि थापालाई प्रधानमन्त्री बनाउने सहमति भयो । जस अनुसार कांग्रेसको समर्थनमा २० असोज २०५४ मा थापा प्रधानमन्त्री नियुक्त भए । साथै, चुनावी सरकारको नेतृत्व कोइरालाले गर्ने र भट्टराईलाई चुनावपछि कांग्रेसको नेतृत्वमा सरकार बन्दा प्रधानमन्त्री बनाउने प्रस्ताव पनि कोइरालाले नै अघि सारेका थिए । कार्की निवासमै भट्टराईलाई कोइरालाले भनेका थिए, “मैले रोजेको निर्वाचन क्षेत्रमा तपाईं जानु पर्छ नि ।” जवाफमा उनले भने, “वेल डन, आई एग्री विथ यु ।” सहमति अनुसार नै थापापछि २ वैशाख २०५५ मा कोइराला दोस्रो पटक प्रधानमन्त्री नियुक्त भए । साथै, कार्की निवासमा भएको सहमति अनुसार २०५६ को आमनिर्वाचनमा भट्टराईलाई कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा पर्सा जिल्ला निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवार बनायो । उक्त निर्वाचनमा कांग्रेसले बहुमत ल्यायो, भट्टराई प्रधानमन्त्री नियुक्त भए तर एक वर्ष नपुग्दै उनलाई हटाएर कोइराला पुनः प्रधानमन्त्री भए । 

२७ वर्षपछि गोदावरी चर्चा

नीति महाधिवेशनका रूपमा रहेको कांग्रेसको महासमिति बैठक गोदावरी सनराइज सम्मेलन केन्द्रमा आज (७ फागुन) देखि सुरु हुँदै छ । मङ्सिर २०७८ मा सम्पन्न १४ औँ महाधिवेशनले नीतिगत छलफल थाती राखेर नेतृत्व चयन मात्र गरेको थियो । महाधिवेशन भएको छ महिनापछि नीति अधिवेशन गर्ने केन्द्रीय समितिले निर्णय गरेको भए पनि नीति अधिवेशन नगरी महासमिति बैठक हुन लागेको हो । संवादहीनताको अवस्थामा रहेका शीर्ष नेताद्वय भट्टराई र कोइरालाबिच सहमति भएको २७ वर्षपछि देशभरका कांग्रेसजन सहमति स्थल गोदावरी भिलेज रिसोर्टदेखि दुई किलोमिटर टाढाको सम्मेलन केन्द्रमा भेला हुँदै छन् । १६५ निर्वाचन क्षेत्रबाट ११ जनाका दरले तथा नेपाली जनसम्पर्क समिति रहेका देशबाट बढीमा छ जना गरी करिब दुई हजार सदस्य सहभागी हँदै छन् । 

१० फागुनसम्म चल्ने बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीतिगत, महामन्त्री गगन थापाको साङ्गठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्तावमाथि छलफल हुने छ । ३ फागुनमा बसेको केन्द्रीय समिति बैठकको अघिल्लो दिन केन्द्रीय कार्यालयका तर्फबाट पदाधिकारी तथा सदस्यलाई इमेलमार्फत पठाइएका प्रस्तावबारे लिखित धारणा मागिएको थियो । १३० पृष्ठ लामो प्रस्ताव पढेर धारणा राख्ने सदस्य नगन्य थिए । हुन त अधिकांश कांग्रेसजनमा लेखपढ गर्ने संस्कार पनि त छैन । यो वास्तविकतालाई राजनीतिक चिन्तक प्रदीप गिरि बेलाबेलामा झक्झक्याउने गर्थे । नेताहरूमा पढ्ने बानी कत्तिको थियो भन्ने सन्दर्भमा गिरिले लेनिन एक अध्ययन पुस्तकको भूमिकामा लेखेका छन्, ‘...नख्खु जेल बसाइका व्रmममा हाम्राबिच माक्र्सवाद, समाजवादका कुरा भइरहन्थे । शेरबहादुरजी र गोपालमानजी जेलमा धेरै रहनु भएन । एक महिना पनि पुगेन क्यारे तर एक महिनाकै बसाइमा उहाँहरूले माक्र्स र लेलिनप्रति आफ्नो वितृष्णा जाहेर गर्नुभयो । खासमा यो पुस्तक कांग्रेसका शेरबहादुर, गोपालमान र कम्युनिस्टका निर्मल लामा र सिन्धुनाथ प्याकुरेल आदिसँग भएको बहसको परिणाम हो । कांग्रेसी मित्रहरूको माक्र्स–लेनिप्रतिको अज्ञानता पत्याइनसक्नुको थियो । उहाँहरू पढ्नु हुन्छ कि भनेर यो पुस्तक लेखियो तर अझै फरक परेको देखिन्न ।’

अध्ययन नगर्ने बानीकै कारण अधिकांश सदस्यले केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रस्तावभन्दा बाहिरका विषय उठाएका थिए । अध्ययन गरेका केहीले प्रस्तावमा कांग्रेसको इतिहासको गुणगान मात्र गाइएको भन्दै अबको बाटोबारे केही उल्लेख नभएको टिप्पणी गरेका थिए । समस्या मात्र उल्लेख गरिएका प्रस्तावले समाधान दिन नसकेको उनीहरूको ठम्याइ थियो । हुन पनि प्रस्तावमा उल्लेख गरिएका विषय एकअर्कासँग मेल खाने खालका पनि छैनन् । निराश कतिपय सदस्यले आफ्नो क्रियाशील सदस्यता नवीकरणमा चासो देखाएका छैनन् । आमरूपमा व्याप्त यस्तो निराशाले कांग्रेसलाई कहाँ पुर्‍याउँला ? भोलिको कांग्रेस कस्तो हुने छ भनेर स्पष्ट दिशानिर्देश गर्न सकेन भने गोदावरीको महासमिति बैठक कर्मकाण्डीमा सीमित हुने छ । जब कि यो बैठकलाई कांग्रेसजन मात्र नभई देशभित्र र बाहिरका अन्य शक्तिहरूले पनि चासोपूर्वक हेरेका छन् । त्यस कारण २७ वर्षअघिको गोदावरी सहमतिपछि एकजुट भएर सशक्त भए जस्तै कांग्रेसलाई फेरि पनि भरपर्दो र बलियो पार्टी बन्न दिशानिर्देश गर्न सके मात्र जारी महासमिति बैठक सफल हुने छ ।