• १२ मंसिर २०८१, बुधबार

निर्धारित कोटाको ५७ प्रतिशत खाद्यान्न ढुवानी

blog

ल्याप्चेबाट खाद्यान्न ढुवानी गर्ने तयारीमा हेलिकोप्टर । तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, फागुन ६ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न दुई महिनाको अवधिमा ५७ प्रतिशतभन्दा बढी ढुवानी भएको पाइएको छ । ढुवानीको जिम्मा पाएको सिम्रिक एयरको हेलिकोप्टरले सिमकोट विमानस्थलमै हेलिकोप्टर नाइट स्टे राखेर खाद्यान्न ढुवानी गर्न थालेपछि छोटो अवधीमा आधाभन्दा बढी खाद्यान्न ढुवानी गर्न सम्भव भएको हो ।

लिमिटेड हुम्ला शाखाका नायव सुब्बा नवीन आचार्यले हेलिकोप्टरले खाद्यान्न ढुवानी गर्न सुरु गरेयता पाँच हजार ७३६ दशमलव ७५ क्विन्टल ढुवानी गरेको बताउनुभयो । यस वर्षको हवाई मार्गको खाद्यान्न हेलिकोप्टरले गत पुस ८ गतेबाट ढुवानी सुरु गरेको थियो । 

चालु आर्थिक वर्षको सिमकोट शाखाका लागि दश हजार क्विन्टल हवाई मार्गबाट खाद्यान्न कोटा छ । अब हेलिकोप्टरले यही गतिमा ढुवानी गर्दै गए डेढ महिनामा सम्पन्न गर्ने देखिएको शाखाले जनाएको छ । खाद्यान्न ढुवानी सुरु भएयता दैनिक बीसदेखि पच्चीस उडान हेलिकोप्टरले भर्ने गरेको छ । हेलिकोप्टरले हवाई मार्गको खाद्यान्न सर्केगार्ड गाउँपालिका–२ को ल्याप्चेबाट ढुवानी कार्य गरिरहेको छ । 

ल्याप्चेबाट दुईतर्फी गरी पन्द्र मिनेट समय लगाएर सिमकोट विमानस्थलमा खाद्यान्न ढुवानी हुने गरेको छ । अब खाद्यान्न ढुवानी कार्य पूरा नुहुँदासम्म हेलिकोप्टर सिमकोटमा बस्नेछ । एउटा उडानमा हेलिकोप्टरले सात क्विन्टल खाद्यान्न ढुवानी गर्ने गर्छ । यस वर्ष हवाई मार्गको खाद्यान्न सुर्खेतबाट छ हजार र नेपालगञ्जबाट चार हजार क्विन्टल कोटा निर्धारण गरिएको छ । यो खाद्यान्न सिम्रिक एयरले नेपालगञ्जबाट प्रतिकेजी १४३ रुपियाँ र सुर्खेतबाट प्रतिकेजी १३७ रुपियाँमा ढुवानी गर्ने गरी लिमिटेडसँग सम्झौता गरेको थियो । सो खाद्यान्न हाल सुर्खेतबाट हुम्लाका लागि निर्धारित कोटाको खाद्यान्न ढुवानी सुरु भएको हो । 

सुर्खेतबाट ट्रकमा ढुवानी भएर हुम्ला जिल्लाको सर्केगार्ड गाउँपालिकाको ल्याप्चेसम्म आउने गरेको छ ।