• २ पुस २०८१, मङ्गलबार

ट्राफिक चिल्ड्रेन पार्कको मार्गचित्र

blog

सवारी दुर्घटना न्यूनीकरण र सचेतनाका लागि विद्यालयको पाठ्यक्रममा ट्राफिक शिक्षा समावेश गर्नुपर्ने तथा व्यावहारिक ज्ञानका निमित्त देशका विभिन्न स्थानमा ‘ट्राफिक चिल्ड्रेन पार्क’ को स्थापना गरिनुपर्ने आवश्यकता नेपाल प्रहरीले विगत लामो समयदेखि भन्दै आएको हो । ट्राफिक शिक्षा विद्यालयस्तरमा नै समावेश गर्ने हो भने जनचेतनाको स्तर तलदेखि नै बढ्छ । ट्राफिक नियमबारे सैद्धान्तिक तथा व्यावहारिक ज्ञान तथा सिप दिन सके सवारी दुर्घटना घटाउन सकिन्छ । दुर्घटनामा कमी ल्याउन सकिन्छ । सम्बन्धित सरोकारवाला निकायले भने त्यस अनुसारको कार्ययोजना र कार्यान्वयनमा ध्यान पु¥याउन सकेका छैनन् । विश्वभर र अझ विकासोन्मुख देशमा हुने गरेका सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षतिका कारण विशेष गरी बालबालिकाको भयरहित र सुरक्षित यात्राको अधिकार उपभोगमा अवरोध उत्पन्न भएको छ । विश्वमा हरेक दिन सवारी दुर्घटनाका कारण पाँच सयभन्दा बढी बालबालिकाले ज्यान गुमाइरहेको तथ्याङ्क बाहिर आउने गरेका छन् । दैनिक एक हजारभन्दा बढी घाइते हुने गरेका छन् । विश्वमा सवारी दुर्घटनाबाट हुने कुल मृत्युमध्ये ९० प्रतिशत हिस्सा विकासोन्मुख मुलुकले ओगट्ने गरेको पाइन्छ । विश्व स्वास्थ्य सङ्गठनले सडकमा हुने सवारी दुर्घटना, तीव्र गतिमा गएको महामारीका रूपमा चित्रण गरेको छ । 

नेपालको सन्दर्भमा दुर्घटनाको अनुपात पनि विकराल बन्दै गएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाको तथ्याङ्क अनुसार विगत पाँच वर्षको अवधिमा एक हजार ७९ जना बालबालिकाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । तीन हजार ६४ जना बालबालिका गम्भीर घाइते तथा अङ्गभङ्ग भएका छन् । त्यसै गरी आठ हजार छ सय जनाभन्दा बढी बालबालिका साधारण घाइते भएका छन् । सहज रूपमा सुरक्षित आवागमन गर्न पाउनुपर्ने अधिकार, त्यसमा पनि बाल अधिकार संरक्षणमा देखिएको यो चुनौती मुलुकका लागि गम्भीर विषय हो । यस्ता सवारी दुर्घटनामा धेरै जसो बालबालिकाले आफ्नो अभिभावकसमेत गुमाएका छन् । सवारी दुर्घटनाका कारण भएको यस्तो भयावह अवस्थाले देशको विकास र बाल अधिकारकारको संरक्षण र वृत्तिविकासमा चुनौती थपिरहेको छ । यस्ता चुनौतीलाई सम्बोधन गर्न तत्काल ठोस र दूरदर्शी कदम चालिनु अत्यावश्यक भइसकेको छ । मानिसलाई शारीरिक रूपमा अपाङ्गता बनाउने मूल स्रोतमध्ये सवारी दुर्घटना पहिलो कारण हो । नेपालमा हवाई यातायात तुलानात्मक रूपमा सुरक्षित मानिन्छ । यो सेवा आमनेपालीको पहुँचमा पुग्दैन । सडक यातायात ‘हुने–खाने’ देखि ‘हुँदा–खाने’ सम्मको सहज पहुँच भएको माध्यम हो । हाम्रो जस्तो भूपरिवेष्टित मुलुकमा जल यातायातको पहुँच छैन । मानिसले कम प्रयोग गर्ने तथा जल यातायातको अन्वेषण र उपयोग न्यून रहेकाले सडक यातायात नै बहुसङ्ख्यक नागरिकको आवागमनको माध्यम बनेको छ । विडम्बना, बहुसङ्ख्यक सर्वसाधारणले प्रयोग गर्ने सडक यातायात नेपालमा सर्वाधिक असुरक्षित छ । 

सडकको भौतिक अवस्था अवैज्ञानिक हुनु, ट्राफिक व्यवस्थापनको ‘थ्री ई’ (एजुकेसन, इन्जिनियरिङ र इन्फोर्समेन्ट) मूलतः लागु हुन नसक्नु, सडक यातायातसम्बन्धी तयार पारिएका नीति नियम कार्यान्वयनमा कमी, सडक प्रयोगकर्तामा सवारी नियमको ज्ञान र त्यसको पालनामा अभाव, यातायात व्यवसायीले सवारी नियम कानुन र मापदण्डको उचित अनुसरण नगर्नुलगायतका कारणले सवारी दुर्घटना बढेको देखिन्छ । ट्राफिक व्यवस्थापनमा ‘थ्री ई’ मध्ये एजुकेसन अर्थात् शिक्षा, सडक सुरक्षा, सडक सभ्यता र सवारी दुर्घटना न्यूनीकरणको प्रमुख आधार हो । प्राथमिक तहमा नै विद्यार्थीलाई ट्राफिक शिक्षाबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान र सिपबारे जानकारी दिन सके त्यसले एकै पटक तीन तहमा सकारात्मक असर पार्न सक्छ । 

पहिलो, ऊ आफैँ सडक यात्राप्रति सजग, सचेत र संवेदनशील बन्छ । दोस्रो, आफ्ना अविभावकलाई समेत ट्राफिक नियमका बारेमा आफूले जानेका कुरा सिकाउन सक्छ भने, तेस्रोमा आफूभन्दा ससाना भाइबहिनीलाई ट्राफिक नियमका बारेमा जानकारी तथा कार्यान्वयन गराउनमा सहयोग गर्छ । यसरी एउटा तहलाई ट्राफिक शिक्षा प्रदान गरिँदा एकै पटक तीन तहलाई शिक्षित गराउन सकिने अन्तर्राष्ट्रिय अनुभवबाट समेत प्रमाणित भइसकेको अवस्थामा नेपालमा भने त्यसको खासै कार्यान्वयन र अभ्यास भएको पाइँदैन । विश्वका अस्ट्रेलिया, बेल्जियम, क्यानडा, फिनल्यान्ड, फ्रान्स, जर्मनी, जापान, इन्डोनेसिया, रसिया, बेलायत, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिकालगायतका देशका सहरी तथा ग्रामीण क्षेत्रमा ट्राफिक पार्क, ट्राफिक बगैँचा वा सुरक्षा गाउँका रूपमा स्थापित यस्ता पार्कले सवारी दुर्घटना उल्लेख्य मात्रामा घटाउन सहयोग पुगेको विश्लेषण गरिएको छ । शिक्षाको राष्ट्रिय उद्देश्य प्राप्तिमा ठोस सहयोग पु¥याउने उद्देश्यले विसं २०२८  भदौ ५ गते केन्द्रीय प्राविधिक कार्यालयको रूपमा पाठ्यक्रम–पाठ्यपुस्तक तथा निरीक्षण विकास केन्द्रको स्थापना भएको थियो । शिक्षालाई समसामयिक, व्यावहारिक, जीवन सिप उन्मुख, व्यावसायिक, प्रतिस्पर्धात्मक र गुणात्मक विद्यालय शिक्षाका लागि आवश्यक उपयुक्त पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका, बाल सन्दर्भ सामग्री, विद्यार्थी मूल्याङ्कन जस्ता शैक्षिक सामग्री निरन्तर रूपमा विकास गरी आएको तथा बनाउन अनुसन्धानमूलक कार्य निरन्तर रूपमा गरी आएको बताउने पाठ्यक्रम विकास केन्द्रले सवारी दुर्घटनामा परी बर्सेनि दुई सयभन्दा बढी बालबालिकाले अनाहकमा ज्यान गुमाइरहँदा र केन्द्र स्थापनाको ५३ वर्ष बितिसक्दा पनि विद्यालयको पाठ्यक्रममा यथोचित ट्राफिक शिक्षा समावेश गर्न तथा व्यावहारिक शिक्षाका निमित्त ट्राफिक चिल्ड्रेन पार्क निर्माण गर्न जागरुकता नदेखाउनु दुःखद पक्ष हो । यस विषयलाई शैक्षिक संस्था सञ्चालकले गम्भीर रूपमा नलिँदा सडक अनुशासन र बाल अधिकार संरक्षणमा थप मद्दत पुग्न सकेको छैन ।

शैक्षिक सत्र सुरु हुने बेलामा विद्यालयका लागि आवश्यक पाठ्यक्रम निर्माण गर्दा विभिन्न लेख, रचना तथा सन्दर्भ सामग्रीको सिफारिस गर्ने विद्वान् व्यक्तिले सडक सुरक्षाका लागि यस्तो पाठ्यक्रम बनाउनु पर्छ भनेर सिफारिस नगर्ने प्रवृत्तिले पनि बढ्दो दुर्घटनामा प्रश्रय दिएको छ । त्यसै गरी युरोप–अमेरिका तथा अन्य विकसित मुलुकमा प्राथमिक तहदेखि नै ट्राफिक शिक्षा तथा ट्राफिक चिल्ड्रेन पार्क निर्माण गरी व्यावहारिक शिक्षासमेत सिकाइँदै आएका र यसले गुणात्मक रूपमा सवारी दुर्घटना घटाएको छ भन्ने जानकारी लिएका व्यक्ति तथा शैक्षिक संस्थाले पनि ट्राफिक शिक्षालाई पाठ्यक्रममा राख्न र ट्राफिक पार्क निर्माण गर्न खासै जोडबल गरेको पाइँदैन । 

बाल अधिकारको सुरक्षा गर्ने काम कुनै एउटा पक्षको मात्रै होइन, सबैले आआफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्नु पर्छ । यति धेरै बालबालिकाले अकालमै ज्यान गुमाउँदा पनि अनविज्ञ बनेका र भोलिका देशका कर्णधारलाई सवारी दुर्घटनाबाट बचाउन, पूर्वसजगता अपनाउन र सचेत नागरिक बनाउन महìवपूर्ण भूमिका खेल्ने शिक्षा क्षेत्रका अन्य सरकारी, गैरसरकारी निकाय समयमै सजग र सचेत हुनु अत्यावश्यक मात्र होइन, ढिला भइसकेको छ । त्यसैले बाल अधिकारको संरक्षण, सवारी दुर्घटना न्यूनीकरण र सडक अनुशासन पालना गर्न विद्यालयस्तरबाटै सैद्धान्तिक तथा व्यावहारिक ट्राफिक शिक्षाको खाँचो अहिलेको आवश्यकता हो । भोलिका दिनमा सडक सभ्यता अभिवृद्धि गर्दै दुर्घटनारहित समाज निर्माण तथा शून्य मानवीय क्षतिको लक्ष्य प्राप्तिका लागि सम्बन्धित सबै सरोकारवाला निकाय ‘ट्राफिक चिल्ड्रेन पार्क’ सहितको सैद्धान्तिक तथा व्यावहारिक ट्राफिक ज्ञान दिनेतर्फ गम्भीर र जिम्मेवार बन्नुपर्ने आवश्यकता छ ।

  

Author

विष्णु थापा