• २३ वैशाख २०८१, आइतबार

थाइराइड ग्रन्थिलाई सन्तुलनमा राख्न आवश्यक पर्छ आयोडिन

blog

काठमाडौं, फागुन ६ गते । आयोडिन शरीरलाई नभई नहुने तत्त्व हो । परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाका प्रमुख डा. लीलाविक्रम थापाका अनुसार आयोडिन अत्यावश्यक पोषण तत्त्व हो, जुन थाइराइड ग्रन्थिलाई सन्तुलनमा राख्न मद्दत गर्छ ।  मस्तिष्क र सम्पूर्ण स्नायु प्रणालीलाई सञ्चालन गर्न आयोडिनको आवश्यक पर्छ ।

मानसिक तथा शारीरिक विकासका लागि आयोडिनको प्रयोग गर्न उहाँको सुझाव छ । प्रमुख डा. थापाले मानसिक तथा शारीरिक विकासका लागि आयोडिन अति आवश्यक भएकाले दैनिक खानामा समावेश गर्न सुझाव दिनुभएको हो ।  उहाँ भन्नुहुन्छ, “गर्भावस्थादेखि जीवनको हरेक अवस्थामा बाँच्न, स्वस्थ रहन र मानसिक तथा शारीरिक विकासका लागि मानिसलाई विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ । यीमध्ये आयोडिन पनि एक महत्त्वपूर्ण खनिज तत्त्व हो ।”

पोषण शाखाका प्रमुख डा. थापाका अनुसार आयोडिन विशेषगरी माटोको माथिल्लो तह र समुद्रबाट प्राप्त हुन्छ । प्राकृतिक खाद्य पदार्थ सेलफिस, फिस, कर्डफिस लगायतका समुद्रमा पाइने वनस्पति तथा तरकारीजन्य हरियो खाद्य पदार्थमा पाइन्छ । त्यसका अलावा जमिनमा उमारेका खाद्य पदार्थहरू जस्तै सलगम, बन्दा, पालुङ्गो, ब्रोकाउली आदिबाट प्राप्त गर्न सकिन्छ । उहाँका अनुसार आयोडिन सबै उमेरका मानिस तथा जीवजन्तुलाई दैनिक रूपमा चाहिन्छ । 

आयोडिन सबै उमेरका मानिस तथा जीवजन्तुलाई दैनिक रुपमा चाहिन्छ । 

नेपालको भौगोलिक अवस्थाले गर्दा नेपालको माटो र पानीमा आयोडिनको अभाव भएकोले नुनमा आयोडिन मिसाएर खुवाउने गरेको डा. थापाको भनाइ छ । उहाँ भन्नुहुन्छ,  “दुई बालबालिका चिन्ह भएको प्याकेटको नुनमा सही मात्रामा आयोडिन मिसाइएको हुन्छ । यो चिन्ह नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सही मात्रामा आयोडिन भएको नुनलाई दिने प्रमाणित चिन्ह हो ।”

नेपालमा सन् १९६५ देखि सन् १९६७ सम्म गरेको एक अध्ययनमा पहाडी-हिमाली जिल्लाका एकसय जनामध्ये ५५ जना मानिसमा गलगाँडको समस्या देखिएको थियो । सरकारले नुनमा आयोडिनको मात्रा मिसाएर खुवाउन सुरु गरेपछि हाल आयोडिनको कमीले हुने गलगाँडको समस्या जनस्वास्थ्यका समस्याका रुपमा नरहेको डा. थापाको भनाइ छ ।  

आयोडिनको फाइदा 

आयोडिनले पाचन प्रक्रिया, शरीरमा शक्तिको प्रयोग गर्न, कोषिकाहरुको कार्य सुचारु राख्न, दिमागको विकास गर्न, शारीरको दैनिक प्रक्रिया सुचारु राख्न सहयोग गर्ने डा. थापा बताउनुहुन्छ । 

आयोडिनको सही मात्राले मानिसको मानसिक तथा शारीरिक वृद्धि विकास राम्ररी हुन्छ । जसलेगर्दा गलगाँड लगायतका थाइराइडसम्बन्धी समस्याबाट बचाउँछ । चिकित्सकका अनुसार गर्भावस्थादेखि २ वर्षको उमेरसम्म मानिसको दिमागको ८० प्रतिशत विकास भइसकेको हुन्छ । यदि सोही समयमा शरीरमा आयोडिनको कमी भएमा मानसिक तथा शारीरिक विकासमा अवरोध आउँछ ।

आयोडिनको सही मात्राले मानिसको मानसिक तथा शारीरिक वृद्धि विकास राम्ररी हुन्छ ।

गर्भवतीले योडिनको सही मात्रामा प्रयोग गर्दा गर्भको बच्चाको मानसिक र शारीरिक विकासमा मद्दत गर्ने पोषणविद् बताउँछन् । गर्भवतीले दैनिक रुपमा आयोडिन नुनको सही मात्रा पाँच ग्रामभन्दा कम खाएमा उनीबाट जन्मने शिशुको दिमागको विकास राम्रो हुने डा. थापाको भनाइ छ । 

उहाँका अनुसार आयोडिनको कमीबाट गर्भको बच्चा तुहिने, मरेको बच्चा जन्मने, मानसिक स्थिति ठिक नभएको र सुस्त मनस्थिति भएको बच्चा जन्मिनेजस्ता समस्याबाट बचाउन सकिन्छ । 

बाल्यवस्थामा आयोडिनको फाइदा

बाल्यावस्थामा आयोडिनको सही मात्रा पायो भने बालबालिकाको मानसिक तथा शारीरिक विकासमा मद्दत गर्ने उहाँ बताउनुहुन्छ ।  डा. थापाका अनुसार बालबालिका १२ महिना भएदेखि खानामा आयोडिनयुक्त खानेकुरा खुवाएमा बालबालिकाको मानसिक तथा शारीरिक विकासमा मद्दत गर्नुका साथै बौद्धिक विकास हुने गर्छ । 

किशोरावस्थामा आयोडिनको सही मात्राले मानसिक तथा  शारीरिक क्षमतामा वृद्धि हुनका साथै अन्य क्रियाकलापमा पनि सकारात्मक प्रभाव पर्दछ । 

आयाेडिन कति आवश्यक पर्छ  

एउटा व्यक्तिलाई जीवनरभर एक चिया चम्चा जति आयोडिन आवश्यक पर्ने डा. थापा बताउनुहुन्छ । नुनमा थोरै मात्रा आयोडिन मिसाइएको वयस्कहरुले दैनिक पाँच ग्रामभन्दा कम नुनको प्रयोग गर्न डा. थापाको सुझाव छ । बालबलिका १२ महिना पूरा भएपछि बढीमा दु  ग्राम नुन (आधा चिया चम्चाभन्दा पनि कम ) दिनभरिको खानामा प्रयोग गर्नुपर्छ । 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।