• १५ मंसिर २०८१, शनिबार

बसपार्क निर्माण कागजमा सीमित

blog

मीना कँडेल 

कावासोती, फागुन ४ गते । पूर्वी नवलपरासीमा बसपार्क नहुँदा पार्किङको समस्या निम्तिएको छ । बर्सेनि सवारीसाधनको सङ्ख्या बढ्दै गए पनि बसपार्कको व्यवस्था नहुँदा राजमार्ग छेउछाउमा अव्यवस्थित पार्किङको समस्या बढ्दो छ । यो समस्या भित्री सडकमा समेत देखिन थालेको छ । 

सङ्घीय संरचनापछि नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला कायम भएको पनि आठ वर्ष बितिसकेको छ तर अझै जिल्लामा बसपार्क निर्माण हुन सकेको छैन । केही पालिकाले बसपार्क पार्किङका काम अघि बढाए पनि फितलो तयारीका कारण सवारीसाधन सडकमै राख्नुपर्ने अवस्था छ ।  

लामो समयदेखि अटो चलाउँदै आउनुभएका कावासोतीका अटोचालक भीमप्रसाद  काफ्लेले जिल्लामा पार्किङको व्यवस्था नहुँदा व्यवसायीलाई मात्र नभई सर्वसाधारणलाई पनि अप्ठ्यारो पर्न गएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “नारायणघाट बुटवल सडक निर्माण कार्य सुस्त हुँदा निर्माण सामग्री सडकमा नै थुपारिएका छन् । एकातिर सडक निर्माणले सास्ती अर्काेतर्फ बजारको छेउछाउमा टिकट काउन्टर खोलिएको छ । साँघुरो सडक त्यसैमाथि सवारीसाधनको चाप । पार्किङ नभएपछि सडक र बजारको छेउछाउमा जथाभाबी सवारीसाधान पार्किङ भइरहेका छन् ।” सवारीचालकका रूपमा २२ वर्षदेखि काम गर्दै आउनुभएका देवचुलीका भीमदत्त सुवेदीले यस अवधिमा नवलपुरमा बसपार्क बन्न नसक्नु दुःखद भएको बताउनुभयो । 

२२ वर्षसम्म नवलपुर क्षेत्रमा पार्किङका लागि सरोकारवालाले काम गर्न नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बस बाटोमा रोक्नुपर्ने अवस्था छ । बाटोमा राख्न पनि नपाइने ट्राफिक जाम हुने गरेको छ ।” बसपार्क नहुँदा कहाँ राख्ने समस्या भएको उहाँले बताउनुभयो । 

जिल्लाको गैँडाकोटदेखि दाउन्नेसम्म पूर्वपश्चिम राजमार्गको ६४ किलोमिटर लम्बाइ छ । हरेक पालिकामा समेत भित्री सडक सञ्जाल उत्तिकै छन् । जिल्लाभरको करिब एक हजार २६५ किलोमिटर सडकमा दैनिक करिब एक लाखभन्दा धेरै सवारी गुड्छन् । नवलपुर जिल्लाको मात्रै नभई अन्य जिल्लाका सवारीसाधन पनि चल्ने हुनाले चाप बढ्दै छ तर यस्ता सवारीका लागि जिल्लामा बसपार्क छैन । नवलपुरको सदरमुकाम कावासोतीमा मानिसको चहलपहल बढ्दै गइरहेको छ । धमाधम नयाँ संरचना बन्न थालेका छन् । बसपार्क नहुँदा सडक दायाँबायाँ, होटल, स्थानीयका घरअगाडि सवारीसाधन पार्किङ हुँदै आएका छन् । 

घरअगाडि र सडक छेवैमा गाडी पार्किङ गराउँदा दुर्घटना हुने सम्भावना बढी हुन्छ । बजारमा भएको अव्यवस्थित गाडी पार्किङले ग्राहक पसलसम्म पुग्न नसकेको कावासोतीका होटल व्यवसायी युवराज न्यौपाने बताउनुहुन्छ । 

लेकबेँसी यातायात प्रालिका अध्यक्ष युवराज बस्यालले सडकमा बस राख्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले बसपार्क नहँुदा बस कहाँ पार्क गर्ने भन्ने मूल समस्या रहेको बताउनुभयो । यात्रु कहाँ गएर बस चढ्ने, टिकट काट्ने भन्ने समस्या हुने बताउँदै सडकमा धेरै स्थानमा बस रोकेर यात्रु चढाउने र ओराल्ने गर्नु परेको गुनासो गर्नुभयो । बसपार्क नहुँदा सडक छेउछाउमा हुने अव्यवस्थित पार्किङले दुर्घटनाको जोखिमसमेत निम्ताएको छ । 

जिल्लामा बसपार्कको आवश्यकता रहेको र यसका लागि पालिकाले पहल गर्नुपर्ने जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख अच्युतराज आचार्यले बताउनुभयो ।  जिल्लामा राजमार्गसँग जोडिएका क्षेत्रहरू कावासोतीसहित दलदले, चोरमारा, प्रगतिनगर, गैँडाकोटमा सवारीको चाप बढ्दो रहेको छ । सबै क्षेत्रमा व्यवस्थित पार्किङको समस्या रहेको छ ।