• १५ मंसिर २०८१, शनिबार

प्रणय दिवसका दिन सम्बन्धविच्छेद

blog

मीना कँडेल

कावासोती, फागुन ३ गते । पछिल्लो समयमा नेपालमा प्रणय दिवस मनाउनेको सङ्ख्या बढ्दो छ । यस दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एकअर्कामा प्रेमभाव साटासाट गर्ने, विभिन्न उपहार दिई मनाउने चलनसँगै विभिन्न विकृति पनि भित्रिएका देखिन्छन् । यही प्रणय दिवसमा नवलपुर गैँडाकोट–१२ का एक दम्पती भने सम्बन्धविच्छेद गर्न भन्दै न्यायालयको ढोका ढकढक्याउन जिल्ला अदालत नवलपुरमा पुग्यो । सहज र सुखी जीवनको खोजीमा धेरै महिला तथा पुरुषले सम्बन्धविच्छेदको बाटो रोजे जस्तै आफूहरूले पनि सम्बन्धविच्छेद गरेको रेनु दमाईं र सन्तलाल परियारको भनाइ छ । जीवनभर सँगै रहने वाचासहित विवाहको पवित्र बन्धनमा बाँधिएको र सँगै बाँच्ने कसम खाएर जोडिएको सम्बन्ध प्रणय दिवसका दिन तोडिएको सन्तलाल बताउनुहुन्छ । 

श्रीमान् श्रीमतीमा आपसी समझदारी हुन नसकेपछि सम्बन्धविच्छेद गर्न बाध्य भएको उहाँले बताउनुभयो । उहाँहरूकी एक छोरी छन् । छोरीको रेखदेख बाबुले गर्ने गरी सम्बन्धविच्छेद गरेको परियारको भनाइ छ ।

नवलपुरमा पारिवारिक मनमुटाव हुँदा हरेक वर्ष सम्बन्धविच्छेदको सङ्ख्या वृद्धि हुँदै गएको देखिन्छ । नवलपुर जिल्ला अदालतमा चालु आर्थिक वर्षको माघसम्म एक हजार १३४ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये देवानी प्रकृति र फौजदारी प्रकृतिका ६०३ वटा मुद्दा फस्र्योट भएका छन् । ५३१ वटा मुद्दा बाँकी रहेको स्रेस्तेदार गम्भीर घिमिरेले जानकारी दिनुभयो । नवलपुर जिल्ला नयाँ भएकाले पनि यस जिल्लामा नमुनाका रूपमा फरक मुद्दा व्यवस्थापन पद्धति लागु भएको र सफल पनि भएको घिमिरेले बताउनुभयो । यहाँका न्यायाधीश, कर्मचारी, सरकारी वकिल, प्रहरी, कानुन व्यवसायी तथा मुद्दाका सम्बन्धित पक्षबिच उचित तालमेल भएकाले नै फरक मुद्दा व्यवस्थापन पद्धति सफल भएको उहाँको भनाइ छ ।

सरल मार्ग समूहका मुद्दा फस्र्योट गर्ने अधिकतम अवधि छ महिना तोकिएको छ भने सामान्य मार्ग समूहका मुद्दा फस्र्योट गर्ने अधिकतम अवधि १२ महिना तोकिएको छ । विशेष मार्ग समूहमा रहने मुद्दाको फस्र्योट गर्ने अधिकतम अवधि भने १८ महिना तोकिएको छ । जिल्ला अदालतमा दर्ता भएको सामान्यतया डेढ वर्षभित्रै मुद्दा कारबाही र किनारा लाग्ने नवलपुर जिल्ला अदालतका सूचना अधिकारी सरिता अर्यालले बताउनुभयो । 

अदालतमा परेकामध्ये ९० प्रतिशत मुद्दा बिदेसिएका पुरुष र महिलासँग सम्बन्धित रहेका पाइएको अर्यालले जानकारी दिनुभयो । फरक मुद्दा व्यवस्थापन पद्धति अनुसार नयाँ दर्ता हुने मुद्दालाई मुद्दाको प्रकृति अनुसार सामान्य, सरल र विशेष गरी तीन समूहमा विभाजन गरी कामकारबाही अगाडि बढाइने भएकाले धेरै पुराना मुद्दा अहिले यहाँ खासै नरहेको उहाँले बताउनुभयो । सम्बन्धविच्छेदले सकारात्मक र नकारात्मक दुवै पक्ष समेटे पनि महिलामा भने सकारात्मक परिवर्तन बढी आउने गरेको अधिवक्ता राधा उपाध्याय बताउनुहुन्छ । श्रीमान् श्रीमती एक रथका पाङ्ग्रा भने पनि कता कता तोडिएको सम्बन्धपछि पाउने स्वतन्त्रता, अधिकार र त्यसपछि आर्थिक रूपमा सबल हुने मौका सकारात्मक पक्ष हुने अधिवक्ता उपाध्यायको बुझाइ छ ।