काठमाडौँ, माघ २९ गते । नेपाल पत्रकार महासङ्घका पूर्वाध्यक्षहरूको जीवनीमा आधारित पुस्तक ‘अग्र अनुहार’ को विमोचन गरिएको छ । नेपाल पत्रकार महासङ्घ, प्रतिष्ठान प्रदेश समितिले प्रकाशन गरेको पुस्तक आइतबार महासङ्घका वर्तमान अध्यक्ष विपुल पोखरेल, पूर्वअध्यक्ष किशोर नेपाल, तारानाथ दाहाल, डा. महेन्द्र विष्ट, शिव गाउँले, हरिहर विरही, धर्मेन्द्र झालगायतले विमोचन गर्नुभयो ।
पुस्तकमा नेपाल पत्रकार महासङ्घको नेतृत्व गरिसकेका २२ जना पूर्वध्यक्ष र वर्तमान अध्यक्ष विपुल पोखरेलसहितको जीवनी समेटिएको छ । पुस्तक विमोचनमा बोल्दै महासङ्घका पोखरेलले यस पुस्तकले पत्रकार र पत्रकारिता क्षेत्रको इतिहास बुझ्न थप मद्दत गर्ने बताउनुभयो । उहाँले महासङ्घले पत्रकारिता र महासङ्घको योगदानसँग जोडिएका व्यक्तिलाई कुनै न कुनै तरिकारले सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष नेपालले पुस्तकले पत्रकार महासङ्घको इतिहास बोकेको बताउनुभयो । महासङ्घका पूर्वअध्यक्ष विरहीले महासङ्घको निर्माण, विकास र चुनौतीको सामना गर्ने क्रममा भोगेका अनुभव यस पुस्तकमा समेटिएको बताउनुभयो ।
प्राध्यापक तथा वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले अभिव्यक्ति, वाक र प्रेस स्वतन्त्रताको आवाज पत्रकार महासङ्घले उठाएको बताउनुभयो । उहाँले आवाज उठाउनेको दस्ताबेज तयार हुनु खुसीको कुरा रहेको उल्लेख गर्नुभयो । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले पत्रकार महासङ्घले पत्रकारसँग सम्बन्धित सबै खाले समस्या समाधान गर्नु पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारीले पत्रकार महासङ्घले उपलब्ध गराएको पूर्वअध्यक्षहरूको नाम अनुसार जीवनी तयार पारेको बताउँदै यस पुस्तकले महासङ्घ र पत्रकारिताको इतिहासबारे जान्न मद्दत पुग्ने उल्लेख गर्नुभयो । आइतबार विमोचन भएको कृतिमा महासङ्घको इतिहासलाई तोडमोड गरिएको भन्दै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को नेतृत्वमा पत्रकारहरूले विरोध जनाएका थिए ।