• १३ साउन २०८१, आइतबार

अफ्रिकन स्वायन फिबर गोरखामा पनि भेटियो

blog

स्वायन फिवर संक्रमण भइ मरेको बंगुर । तस्विर : गुणबहादुर रोका

गुणबहादुर रोका 

सुलीकोट, माघ २६ गते । गोरखा नगरपालिका –९ लक्ष्मीबजारमा बङगुरमा पाइने स्वायन फिबरको सङ्क्रमण भेटिएको छ । बङ्गुर फर्ममा एक हजारभन्दा बढी बङ्गुर बिरामी पर्न थालेपछि परीक्षण गर्दा अफ्रिकन स्वायन फिबर पुष्टि भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकी प्रमुख शर्मिला कुमालले जानकारी दिनुभयो । 

“बङ्गुर फर्ममा रहेको ३ वटा बङ्गुर मरेको जानकारी पाएपछि माघ २० गते चिकित्सकसहित टोली फर्ममा पुगेका थियौं, फर्ममा रहेको एउटा बङ्गुरको स्याम्पल लिएर परीक्षण गर्न २३ गते पोखरा पठाउँदा स्वायन फिबर पुष्टि भयो” उहाँले भन्नुभयो, “खोरमा रहेका १० भन्दा बढी बङ्गुर अफ्रिनकन फिबरका कारण मरेको केन्द्रले जनाएको छ ।” 

त्यस्तै, गोरखा नगरपालिका –६ मा पनि ज्वरो आउने, शरीरमा डाम पर्ने, शास फेर्न गाह्रो हुने लगायतको लक्षण ती बङगुरमा देखिएको केन्द्रले जनाएको छ । अहिले जुन–जुन ठाउँमा बङगुर बिरामी परेका छन्, त्यस ठाउँको बङगुरको नमुना केन्द्रले सङ्कलन गरेको छ । ती सबै बिरामी बङ्गुर परीक्षणका लागि २६ गते पोखरा पठाउने तयारी गरेका छौं, उहाँले भन्नुभयो, ‘नमुना परीक्षणका लागि पोखरास्थित पशुपंक्षी अन्वेषणमा प्रयोगशाला पठाइनेछ ।’

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय गोरखाले एक सूचना जारी गर्दै ११ वटै पालिकालाई सचेत रहन आग्रह गरेको छ । यो रोग सुँगुर, बङ्गुर र बँदेल प्रजातिमा विषाणुका कारण लाग्ने उच्च मृत्युदर भएको छिटो फैलिने रोग हो । नेपालमा यो रोग पहिलो पटक २०७९ साल जेठ २ गते पुष्टि भएको थियो । यो रोगको सङ्क्रमणबाट बच्न किसानलाई फर्ममा जौविक सुरक्षाका विधि अवलम्बन गर्न केन्द्रले आग्रह गर्दैआएको छ ।

बङ्गुर पालिएको फर्म वरिपरि नियमित सरसफाइ गर्ने र सङ्क्रमण नहुने औषधीहरु प्रयोग गर्नाले सङ्क्रमणबाट बच्न सकिने केन्द्रले जनाएको छ । रोग लागेका शङ्का लागेमा हुलबाट एक्लो बनाएर छुट्टै राख्ने, मरेका बङ्गुरलाई राम्रोसँग खाल्डो खनी गाड्नेलगायतका सचेतना अपनाउन आग्रह गरिएको छ । 

यो रोगको सङ्क्रमण हुँदा उच्च ज्वरो आउने कान पुच्छर र पेटको तल्लो भाग रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने वान्ता हुने लक्षण देखा परेमा बङ्गुर मर्नेगरेको पाइएको छ । केन्द्रले रोग देखा परेको ठाउँबाट सुँगुर बङ्गुरमा सङ्क्रमित दाना र मासु ओसारपसार नगर्ने दानाबाहेक अन्य खानेकुरा पकाएर मात्र खाना कार्यालयले सबै जिल्लावासी किसानलाई अपिल गरेको छ । 

यो रोगलाई बेलैमा पहिचान गरेमा तत्काल निराकरण हुने  सुँगुर र बङ्गुरलाई त्यस रोगबाट जोगाउन सकिने कार्यालय प्रमुख कुमालको भनाइ छ ।