• १६ वैशाख २०८१, आइतबार

चर्चा भिपिएनको

blog

छोटो भिडियो पोस्ट गर्न सकिने टिकटक नेपालमा बन्द गर्ने निर्णयपछि अहिलेसम्म पनि त्यसको चर्चा चलिरहेकै छ । भाइबहिनीले पनि समाचार अथवा घरमै आमाबुवाबाट पनि यो खबर पक्कै थाहा पाउनु भएकै होला । टिकटक बन्द भएपछि त्यसको जति धेरै चर्चा भयो त्यससँगै भिपिएनको पनि चर्चा सुरु भयो । त्यसो त प्रविधिको दुनियाँमा भिपिएन कुनै नौलो कुरा होइन तर नेपालमा भने यो यतिबेला चर्चित बन्न पुगेको छ । 

भिपिएनको चर्चा बढेपछि यसबारे जान्ने बुझ्ने चासो पनि बढेको छ । बारम्बार सुनिराखेपछि भाइबहिनीलाई पनि पक्कै यसबारे जान्न मन लागेको हुनु पर्छ । 

भिपिएन – भर्चुअल प्राइभेट नेटवर्कको छोटकरी रूप हो । मोबाइल एप्स अथवा सफ्टवेयरका रूपमा रहने भिपिएनले प्रयोग गर्ने हरेकको एउटा छुट्टै नेटवर्क तयार गरिदिएको हुन्छ । यस्तो नेटवर्कले हामीलाई इन्टरनेटको कन्टेन्ट राखिएको सर्भरसम्म बिनापरिचय पुर्‍याउँछ । यसको मतलब भिपिएन प्रयोग गरेर इन्टरनेटको कुनै पनि कन्टेन्ट प्रयोग गर्दा त्यो प्रयोग गर्नेको परिचय गोप्य हुन्छ । जसले गर्दा ह्याकर अथवा इन्टरनेटमा हुने आक्रमणबाट हामी बच्न सक्छौँ । 

भिपिएनबाट इन्टरनेट प्रयोग गर्दा त्यो कसैले पनि नबुझ्ने (इन्व्रिmप्टेड) भाषामा रहेको हुन्छ । जसलाई कसैले सजिलै देख्न सक्दैन । जस्तो कि सामान्य दिनमा हामीले कुनै पनि कम्पनीको इन्टरनेट प्रयोग गर्दा त्यस्ता कम्पनीले आफ्ना प्रयोगकर्ताको छुट्टै पहिचान राखेका हुन्छन् । जसले गर्दा कसले कति मात्रामा इन्टरनेट चलाइरहेको छ भन्ने उनीहरूलाई जानकारी हुन्छ । इन्टरनेटमा हामीले के हेरिरहेका छौँ भन्ने जानकारी पनि त्यस्ता कम्पनीलाई हुने गर्छ तर भिपिएनको प्रयोगले इन्टरनेट कम्पनीलाई पनि आफ्नो ग्राहकको अन्तिम गन्तव्य पत्ता लगाउन मुस्किल हुन्छ । यी सबै कारणले भिपिएनको प्रयोग सुरक्षित पनि मानिन्छ । 

अब फर्किउँ फेरि टिकटकतिरै । टिकटक बन्द भएपछि कतिपयले भिपिएनबाट यसको प्रयोग गर्न सुरु गरे । सरकारले टिकटक बन्द गर्ने निर्णय गरेपछि नेपालमा रहेका इन्टरनेट कम्पनीले टिकटकको सर्भरसम्म पुग्ने बाटो बन्द गरिदिए । जसले गर्दा नेपालका इन्टरनेट कम्पनीका ग्राहकले नेपालभित्र रहँदा टिकटक चलाउन नसक्ने अवस्था बन्यो तर त्यसकै साटोमा भिपिएन एप्स प्रयोग गरेर विकल्पको बाटोमार्फत टिकटक चलाउने चलन बढ्यो ।

 भिपिएनको प्रयोग गर्दा बुझ्नुपर्ने कुरा के हो भने यो सधैँ उत्तिकै सुरक्षित नहुन सक्छ किन कि कतिपयले भिपिएनको नाममा अत्यन्त असुरक्षित एप्सहरू पनि बनाइरहेका हुन्छन् । प्रायः निःशुल्क उपलब्ध हुने त्यस्ता एप्सको प्रयोग झन् जोखिमपूर्ण हुन्छ किन कि त्यस्ता एप्स उपलब्ध गराएर त्यसका प्रयोगकर्ताका बारेमा जानकारी राख्ने र उनीहरूको गोप्य सूचनासम्म पहुँच राख्ने नियत पनि हुन सक्छ । जसले गर्दा हाम्रो डिजिटल बैङ्क तथा सामाजिक सञ्जालसम्म उनीहरू सजिलै पुग्न सक्ने र हामीलाई नै उल्टो नोक्सानी पुर्‍याउने हुन सक्छ । 

भिपिएनको प्रयोग गर्दा सकेसम्म सुरक्षित मानिएको, पैसा तिर्नुपर्ने किसिमका एप्स प्रयोग गर्दा सुरक्षित हुन सकिन्छ । वास्तवमा भिपिएन इन्टरनेटमार्फत हुन सक्ने चुनौतीबाट सुरक्षित हुन बनाइएको हो तर यसको प्रयोग सुरक्षाभन्दा पनि बन्द गरिएका कन्टेन्ट हेर्न बढी प्रयोग हुन थालेपछि यसप्रति शङ्का उब्जन थालेको हो ।