एकिन्द्र तिमिल्सेना
टीकापुर, मङ्सिर १८ गते । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले चार वटा आयोजनाको सुरुवात गर्नु भएको छ । विहीबार विहान आफ्नो निर्वाचन क्षेत्र लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकामा ती आयोजनाको सुरुवात गर्नुभएको हो ।
आ.व. २०८१-८२ का बजेट विनियोजन गरी ठेक्का लागेका तर काम सुरु नभएका आयोजनाको मुख्यमन्त्री शाहले शिलान्यास गर्नुभएको हो । टीकापुर–जानकी–लम्कीचुहा गरी तीन पालिका जोडने टीकापुर–डुडेझारी सडक निर्माणका लागि छ करोड नौ लाख २१ हजार रुपियाँमा केएएस–अपी–श्रीपुर जेभीले ठेक्का पाएको छ । उक्त बजेटमा नालीसहित साढे तीन किलोमिटर सडक कालोपत्रे हुँदैछ। निर्माण अवधी २०८३ पुस २४ गतेसम्म रहेको छ ।
टीकापुर डुडेझारी सडकको आयोजना शिलान्यास गर्दै मुख्यमन्त्री शाहले अग्रज नेताहरुले काम सुरु गरेका सडकहरु निर्माणमा चासो दिन स्थानीय तहका जनप्रतिनिधि र जनतालाई आग्रह गर्नुभयो । साथै सम्झौता अवधीमै काम पूरा गर्न निर्माण कम्पनीहरुलाई निर्देशन दिनुभएको छ । जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले दुई वा दुई भन्दा बढी पालिका जोडने सडक प्रदेश सरकारको जिम्मेवारीमा भएकाले बाटो बनेमा धुलो र हिलोबाट मुक्ति पाइने बताउनुभयो ।
मुख्यमन्त्री शाहले पूर्वपश्चिम राजमार्गबाट रानी जमरा हाइड्रो–जगतपुर हुँदै टीकापुर जोडने केशरमार्गको सुरुवात गर्नु भएको छ । यस्तै लम्कीचुहा नगरपालिका देखि मोहन्याल गाउँपालिकाको पर्यटकीय क्षेत्र राजकाँडासम्म दुई किलोमिटर ६०० मिटर सडक कालोपत्रे योजनाको शिलान्यास गर्नुभएको छ । चार करोड ५६ लाख ९३ हजार ४४१ रुपियाँको लागतमा बन्ने उक्त सडक २०८३ पुस २५ सम्म सक्ने गरी एसी–एनएनएस– एचबी जेभी सुर्खेतले ठेक्का पाएको छ ।
मुख्यमन्त्री शाहले जानकी गाउँपालिकाको सिमाना अमौरा थापापुर चौरी चाकावाणी हुँदै सेती राजमार्ग जोडने लम्कीचुहा रिङरोडको पनि शिलान्यास गर्नुभएको छ । २ किलोमिटर ७०० मिटर नालीसहितको सडक कालोपत्रे गर्न चार करोड ३६ लाख ६४ हजार ५३० रुपियाँमा तुलसी–निराजन जेभी टीकापुरले ठेक्का पाएको छ । उक्त सडक २०८३ असार २५ गतेसम्म पूरा गर्ने सम्झौता छ ।