• १८ मङ्सिर २०८२, बिहिबार

चाडपर्व हाम्रा अमूल्य निधि हुन् : प्रदेश प्रमुख देवकोटा

blog

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा । फाइल तस्बिर

अनिल पराजुली

हेटौँडा, मङ्सिर १८ गते । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले चाडपर्व नेपाली समाजको अमूल्य सांस्कृतिक निधि भएको बताउनुभएको छ । उँधौली, धान्यपूर्णिमा, ज्यापु दिवस तथा यःमरी पुन्ही पर्वको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

हाम्रा चाड पर्वहरूले सांस्कृतिक विशिष्टता, श्रमप्रधान जीवनशैली र प्रकृति–सम्मानलाई उजागर गर्दैआएको उहाँको भनाइ छ । प्रदेश प्रमुख देवकोटाले भन्नुभएको छ, “हाम्रो मौलिकता, सांस्कृतिक विविधता र सम्पन्नता हाम्रो गर्वको विषय हो । यी पर्वहरूले प्रदेश तथा राष्ट्रको समृद्धि, सुशासन, सामाजिक सद्भाव, दिगो विकास, आपसी सहकार्य र सहअस्तित्वको मार्गमा अघि बढ्न हामी सबैलाई प्रेरणा प्रदान गर्छन् ।”

उहाँका अनुसार उँधौली किरात समुदायले मनाउने प्रकृतिपूजकको महत्त्वपूर्ण पर्व हो, जसले प्रकृति र मानवबिचको सुमधुर सम्बन्धलाई अभिव्यक्त गर्दछ । उधौलीले किरात समुदायको पहिचान, परम्परा र सहअस्तित्वको भावना अझ मजबुत बनाउने उल्लेख गरिएको छ ।

त्यसैगरी, धान्यपूर्णिमा नेपाली कृषक समाजको श्रम, कर्मफल र समृद्धिको प्रतीक भएको प्रदेश प्रमुखको सन्देशमा उल्लेख छ । नयाँ धान भित्र्याएको खुसीसहित प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने यो पर्वले किसानको मिहिनेत, धैर्य र भूमिसँगको गहिरो नातालाई स्मरण गराउँछ ।

ज्यापु दिवसबारे उहाँले नेवार समुदायका ज्यापु किसानले समाज, सभ्यता र कृषि प्रणालीमा गरेको ऐतिहासिक योगदानप्रति सम्मान प्रकट गर्ने अवसर भएको बताउनुभयो । यस्तै, यःमरी पुन्हि नेवार समुदायले नयाँ धानबाट बनेको परिकार यःमरी खाएर मनाइने समृद्धि र सु–स्वास्थ्यको प्रतीक पर्व भएको उहाँको सन्देशमा उल्लेख छ । यसले नेवारी परम्पराको कला, स्वाद र कारीगरीलाई प्रतिबिम्बित गर्दै संस्कृतिको संरक्षणमा योगदान गर्ने उहाँको विश्वास छ ।