• १२ असार २०८१, बुधबार

चालिस करोडको अदुवा उत्पादन

blog

नवलपरासी समाचारदाता

नवलपरासी, माघ २४ गते । अदुवाको मूल्यवृद्धि भएपछि नवलपरासीमा व्यावसायिक रूपमा अदुवा खेती गर्ने किसान खुसी भएका छन्। 

बुलिङटारका अदुवा कृषक रूपबहादुर थापामगरले यो जिल्लाबाट गत वर्ष ३० करोड रुपियाँभन्दा बढीको अदुवा बिक्री भएकामा यो वर्ष उत्पादन राम्रो भएकाले ४० करोड रुपियाँभन्दा बढीको अदुवा बिक्री गर्ने बताउनुभयो । 

पहाडी गाउँपालिका बुलिङटार र बौदीकाली व्यावसायिक रूपमा अदुवा खेती गर्ने पालिकाका रूपमा रहेका छन् । गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु, हुप्सेकोट र विनयीत्रिवेणीका धेरै जसो वडामा व्यावसायिक रूपमा अदुवा खेती गर्ने गरिएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । 

यस क्षेत्रका झन्डै १० हजार कृषक व्यावसायिक अदुवा खेतीमा संलग्न रहेको र यहाँका कृषकले अदुवा खेतीबाट वर्षौंदेखि राम्रो आम्दानी गरिरहेका छन् । यो वर्ष गत वर्षको तुलनामा अदुवा र यसबाट बनेको सुठोको मूल्यमा भएको वृद्धिका कारण किसानमा खुसी छाएको बरिमलका अदुवा कृषक दुतबहादुर लुङ्गेलीमगरले बताउनुभयो । 

गत वर्ष अदुवाको मूल्य प्रतिधार्नी २५० रुपियाँ र सुठो प्रतिधार्नी एक हजार २५० रहेको थियो । अहिले अदुवा प्रतिधार्नी एक हजार र सुठो प्रतिधार्नी एक हजार तीन सय रुपियाँ रहेको कृषकले बताए । 

अदुवा उत्पादक समितिका अध्यक्ष मीनबहादुर मगरले मूल्यमा आएको अपेक्षित वृद्धिका कारण अदुवा किसान उत्साहित भएको बताउनुभयो । यो जिल्लाबाट अदुवा निकासी हुने गर्दछ । कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले यो वर्ष अदुवामा धेरै मूल्यवृद्धि भएकाले किसानमा उत्साह छाएको बताउनुभयो ।