• २२ वैशाख २०८१, शनिबार

डिजिटल नेपालको पूर्वाधार

blog

एक्काइसौँ शताब्दी प्रविधिकेन्द्रित युगको रूपमा अगाडि बढ्दै छ । विज्ञान तथा सूचना प्रविधिको क्षेत्रमा तीव्रतर प्रगति गर्ने मुलुकले चाँडो समृद्धि हासिल गर्ने स्पष्ट भइसकेको छ । यो सबै विद्युतीय प्रविधि क्षेत्रको विकासलाई विश्वका सबै मुलुकले पहिलो प्राथमिकतामा राख्दै आएका छन् । विद्युतीय प्रविधिको उन्नत प्रयोगले कागजी लेखापढीलाई विस्थापित गर्दै लगेको यथार्थ सबैसामु छर्लङ्ग भइसकेको छ । त्यसो त सञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा नेपाल पनि द्रुतत्तर गतिमा अगाडि बढिरहेको छ । यद्यपि मुलुकभर भरपर्दो र गुणस्तरयुक्त प्रविधि विस्तार हुन भने सकिरहेको छैन । यसै तथ्यलाई दृष्टिगत गर्दै सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ कार्यक्रम नै अगाडि बढाएर मुलुकलाई विद्युतीय प्रविधिमार्फत सुशासन कायम गर्ने लक्ष्य लिएको छ । यस अभियानको पहिलो पूर्वाधारका रूपमा रहेको दूरसञ्चार क्षेत्रको सुधारतर्फ जोड दिन आवश्यक भएको विज्ञहरूको भनाइलाई सेवाप्रवाहको जिम्मेवारीमा रहेका सङ्घ संस्थाले आत्मसात् गर्नुपर्ने हुन्छ ।

सरकारको ‘डिजिटल नेपाल’ अभियानलाई सार्थक बनाउने कार्यमा तालुकवाला सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) आआफ्नो भूमिकासाथ लागिपरेका छन् । टेलिकमले आफ्ना ग्राहकको घरघरमै पुगेर आवश्यक सेवा उपलब्ध गराउने महत्वाकाङ्क्षी योजना घोषणा गरेको छ । हिजोका दिनमा सेवा लिनका लागि कैयौँ पटक धाउनुपर्ने, मोलाहिजा गर्नुपर्ने, चिनजानका मानिसबाट भनसुन गराउनुपर्ने अवस्था पछिल्लो समयमा हटिसकेको भए पनि सेवाप्रवाहमा अझै पनि छिटोछरितो एवं चुस्तपना आउन बाँकी नै रहेको सेवाग्राहीको गुनासोको सुनुवाइ हुनै पर्छ । टेलिकम स्वयम्ले संस्थागत रूपमा यो तथ्य स्वीकार गर्दै सुधारमा अग्रसर हुनु सकारात्मक आयाम हो ।

दूरसञ्चार संस्थानबाट कम्पनीमा परिणत भएको २० औँ वर्ष प्रवेशका अवसरमा ‘नेपाल टेलिकम अन ह्विल’ नाम दिएर आइतबारदेखि विशेष अभियान शुभारम्भ गरिएको जानकारी दिइएको छ । मुख्य अभियानसँगै टेलिकमले ग्राहक केन्द्रित अन्य थुप्रै कार्यक्रम पनि सुरुवात गरेको घोषणा गरेको छ । बदलिँदो परिवेश अनुसार टेलिकमले नवीन प्रविधिमा जोड दिँदै दीर्घकालीन योजना बनाएर काम गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निर्देशनसमेत दिनुभएको छ । सरकारले डिजिटल नेपालको अवधारणा कार्यान्वयनमा ल्याएकाले त्यसका लागि डिजिटल पूर्वाधार निर्माणमा टेलिकमको भूमिका महत्वपूर्ण हुने मन्त्री शर्माले स्पष्ट पार्नुभएकाले यसतर्फ टेलिकमको ध्यान जान आवश्यक छ । सरकारको योजनालाई सार्थक बनाउने संस्थागत भूमिकामा खरो उत्रिन मन्त्री शर्माको जोड डिजिटल नेपाल सफल बनाउने कडीसमेत हो । 

लोकतान्त्रिक–वाम गठबन्धनको वर्तमान सरकारले एकवर्षे कार्यकाल पूरा गरेको सन्दर्भमा विद्युतीय सुशासन (इगभर्नेन्स) मार्फत सरकारी सेवाप्रवाहको महत्वपूर्ण आधार तयार हुँदै गए पनि अझै कतिपय क्षेत्रमा जनचाहना अनुसार चुस्त छैन । व्यवहारतः टेलिकमले देशव्यापी रूपमा गुणस्तरीय सेवा विस्तार गरेर सेवाग्राही र सेवाप्रवाहमा प्रत्यक्ष सम्बन्ध स्थापित गर्नेतर्फ कत्ति पनि ढिलो गर्न नहुने डिजिटल प्रविधिविज्ञको अभिमत छ । त्यसो त मोबाइल, टेलिफोनका ग्राहकको सङ्ख्या तीन करोड ५९ लाख, अप्टिकल फाइबर विस्तार १२ हजार २३० किलोमिटर, फिक्स ब्रोडब्यान्ड सेवा विस्तार ३५.७१ प्रतिशत, मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार ९३.१८ प्रतिशत र डिजिटल टेलिभिजन पहुँच ७२ प्रतिशत पुग्नुलाई उल्लेख्य वृद्धि मान्न सकिन्छ । फोर जी सेवा लिनेहरू नै एक करोड ४० लाख पुगिसकेका छन् । एफटिटिएच सेवा विस्तार ६७ जिल्लामा, नागरिक एपमा आबद्ध सरकारी सेवा ५३, एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागु भएका सरकारी कार्यालय २७, पुग्नुलार्ई उल्लेख्य सफलता मानिएको छ तर अझ विश्वासिलो र गुणस्तरीय सेवा अझै अपेक्षित नै छ ।

वर्तमान सरकारले समयको गतिसँगै ‘डिजिटल नेपाल फ्रेमवर्क’ कार्यक्रम अगाडि बढाएको छ । यसैलाई सहयोग पुग्ने गरी विश्व बैङ्कको सहकार्यमा ‘डिजिटल नेपाल एक्सिलरेसन प्रोजेक्ट’ पनि कार्यान्वयनको चरणमा आएको मन्त्रालयले जानकारी दिएको छ । यी सबै योजनालाई मूर्त रूप दिने भनेको टेलिकमको गुणस्तरीय सेवा विस्तारबाटै हो । अहिले कार्यान्वयन भइरहेको अप्टिकल फाइबरको पूर्वाधार देशव्यापी विस्तारलाई तीव्र बनाउन ढिला गर्न नहुने विज्ञहरूको अभिमत छ । दूरसञ्चार सेवाप्रवाहतर्फ निजी कम्पनी पनि आइरहेका र अन्तर्राष्ट्रिय बजारको प्रभावसमेत परिरहेको अवस्थामा टेलिकमले आफ्नो सेवा विस्तार र गुणस्तर सुधारलाई सँगसँगै अगाडि बढाएर डिजिटल नेपालको अभियानलाई सार्थक बनाउनेतर्फको पहलकदमी लिन वाञ्छनीय छ ।