• ११ असोज २०८१, शुक्रबार

तीन सय बढी विद्यार्थीलाई पोसाक वितरण

blog

नागेन्द्रकुमार कर्ण

महोत्तरी, माघ २३ गते । मटिहानी नगरपालिकाको वडा नं. १ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय सिरसियामा अध्ययनरत विद्यार्थीहरू नयाँ पोसाक पाएपछि खुसी भएका छन्। 

मटिहानी नगरपालिका वडा नं. १ को वडास्तरीय स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पोसाक वितरण गरिएको वडाध्यक्ष शिवशङ्कर रायले जानकारी दिनुभयो । उहाँले विद्यालयमा अध्ययनरत तीन सय ६८ विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरिएको जानकारी दिनुहुँदै पोसाक पाउनेमा १७८ छात्र र १९० छात्रा रहेको बताउनुभयो । 

पोसाक वितरण कार्यक्रमका प्रमुख अतिथि मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले कपडा अभावमा पढाइमा वञ्चित हुन नपरोस् भन्ने अभिप्रायले पोसाक वितरण गरिएको बताउनुभयो। विद्यालयमा अध्ययनका लागि आउने छात्रछात्राहरू समान भएको देखाउने विद्यालय पोसाक भएको बताउनुहुँदै नगरप्रमुख मण्डलले भन्नुभयो, "विद्यालयमा जात, जाति, धनी वा गरिब कोही नभई अध्ययनको लागि आउने सम्पूर्ण विद्यार्थी भएकोले सो को अनुभूति पोसाकले नै गर्ने कारण यो वितरण गरिएको हो ।"

उहाँले वडाले विद्यालय पोसाक मात्रै नभई गुणस्तरीय शिक्षा, खेलकुदको उचित प्रबन्ध समेत विद्यार्थीहरूको लागि गर्नुपर्ने चर्चा गर्नुका साथै अभिभावकहरूलाई समेत विद्यालयमा आएर निगरानी र अनुगमन गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा वडाध्यक्ष शिवशङ्कर रायले शिक्षाको गुणस्तरीयताको लागि वडास्तरबाट काम भइरहेको बताउनुभयो । यस कार्यको लागि शिक्षक, अभिभावक तथा नगरपालिकाबाट अपेक्षित सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामश्रेष्ठ ठाकुरले वडाका कतिपय दलित बालबालिकाहरू पोसाक अभावमा नियमित हुन नसकेको बताउनुहुँदै यसले विद्यार्थीको पठनपाठन नियमित हुन सहयोग पुग्ने बताउनुभयो ।

विद्यालयमा भवन अभाव भएकोले भवन निर्माणमा समेत चासो राखिदिन तथा सो अनुसारको भवन निर्माण गरिदिन समेत प्रअ ठाकुरले नगरप्रमुखसँग आग्रह गर्नुभयो ।