दोलखा, माघ २२ गते । दोलखाको सदरमुकाम चरिकोट स्थितको हाम्रो जनकल्याण सहकारी संस्था लिमा पुगेर आफ्नो सिपको पहिलो पटक नगद पाउँदा दलित आमाछोरी अचम्मित हुनुभएको छ ।
गाउँमा आफ्नो सिपबाट बुनेका मकैका खोस्टाको चकटी बेच्दा अन्न तथा तरकारी र फलफूल मात्र पाएकोमा बुनेकै चकटीको नगद प्रतिचकटी तीन सय रुपियाँ पाउँदा अचम्म लागेको मेलुङ गाउँपालिका–१ पवटीकी ८० वर्षीया पदमकुमारी उग्रकोटीले बताउनुभयो ।
गाउँमा एक चकटीको छ माना चामल पाउने गरेको प्रसङ्ग सुनाउँदै उहाँले भन्नुभयो, गाउँमा चकटी, नाङ्लो, चाल्नी समेतको कसैले सुन्तला, कसैले तरकारीमा साट्ने गर्छन् । नगद त देख्नै गारो पर्छ । उमेर हुँदा दिनमा दुई वटासम्म चकटी बनिन्थ्यो । अब त एउटा मात्र बन्न सकिन्छ । एकै ठाउँमा थुप्रै बेच्न पाइन्छ भन्ने थाहा पाएको भए ल्याइन्थ्यो नि । थाहै भएन । मकैको खोस्टाले चकटी बनिन्छ । रङ्गिन भने प्लास्टिकबाट गरिन्छ ।
माइतमा आमाबाट सिकेको सिपले नगद पाउँदा खुसी लागेको छ । उहाँले भन्नुभयो, यो त मर्ने बेलामा हरियो काँक्रो भने झैँ भयो । १३ वर्षकै उमेरमा विवाह भयो, जन्जालमा फसियो । सिपलाई भने जस्तो विकास गर्न नपाएकोमा धेरै चिन्ता लागेको छ । सन्तानले यो सिप सिकेनन् । सिप मरेर जान्छ कि भन्ने बडो चिन्ता लागेर आउँछ ।
भीमेश्वर नगरपालिका–७ की छोरी कविता मुग्रातीले पनि आमाबाट सिकेको सिप सदुपयोग गर्न नपाएकोमा गुनासो गर्दै भन्नुभयो, खेतीपाती, घाँस दाउरा गर्दै यो सिप प्रयोग गर्न पाइनँ । अहिले पछुतो लागेको छ । उहाँ सहकारीको सेयर सदस्य पनि हुनु हुन्छ ।
गाउँमा लुकेर रहेका यस्ता खाले महत्त्वपूर्ण सिपहरूलाई प्रोत्साहन गर्न सहकारीले चकटी सङ्कलन गर्न लागेको छ । सहकारीका प्रमुख कार्यकारी अधिकृत दीपक बस्नेतले भन्नुभयो, चकटी बस्न, धार्मिक पूजाआजा, पितृ कार्य समेतका लागि समेत उपयोगी मानिन्छ । हेर्दा पनि आकर्षित रहेकाले प्रचारप्रसारका लागि यी र कार्यालयमा समेत चकटी एक÷एक वटा उपहारका रूपमा दिन लागिएको छ ।
यसो गर्दा सिप पनि बिक्ने र रोजगारी पनि हुने हुँदा परम्परागतका सामान निर्माणमा जोड दिने सहकारीको उद्देश्य रहेको पनि उहाँले जानकारी दिनुभयो ।