• १३ असोज २०८१, आइतबार

दिवा खाजाले विद्यार्थी नियमित गरायो

blog

दोलखा समाचारदाता

दोलखा, माघ २१ गते । विद्यालयले दिवा खाजा उपलब्ध गराउन थालेसँगै दोलखाको वैतेश्वर गाउँपालिका–७, गैरीमुदीको विष्णु माध्यमिक विद्यालयका ९८ प्रतिशत विद्यार्थी नियमित विद्यालयमा उपस्थित हुन थालेका छन् । सरकारले आधारभूत तहको १–५ कक्षाका विद्यार्थीलाई विद्यालय दिवा खाजा उपलब्ध गराउन सुरु गरे पनि विद्यालयले विद्यालयमै दिवा खाजा दिन थालेपछि ९८ प्रतिशत विद्यार्थी उपस्थित हुन थालेको विद्यालयका प्रधानाध्यापक भाइराम बुढाथोकीले जानकारी दिनुभयो । 

उहाँका अनुसार एक वर्षअघिसम्म विद्यार्थीको खाजाबापतको १५ रुपियाँ रकम अभिभावकलाई नै प्रदान गर्दा नियमित नभएपछि विद्यालयमै दिवा खाजा दिन थालिएको हो । थप ६ कक्षाका विद्यार्थीलाई पनि विद्यालयकै तर्फबाट दिवा खाजा दिइएको छ । अहिले कक्षा १–६ का विद्यार्थी कक्षाकोठामा प्रायः सबै विद्यार्थी उपस्थित हुन थालेका छन् । दिवा खाजा सकारात्मक बनेको छ । 

सरकारले कक्षा १–५ का विद्यार्थीलाई खाजा उपलब्ध गराउने भने पनि खाजा तयार गर्नका लागि प्राप्त संरचना नहुँदा विद्यार्थीलाई पैसा नै वितरण गर्ने गरिएको थियो । प्रअ बुढाथोकीले भन्नुभयो, त्यसो गर्दा झनै विद्यार्थी गयल हुन थालेपछि कक्षा ६ सम्मकै विद्यार्थीलाई स्थानीय गाउँघरका परिकार बनाएर विद्यार्थीलाई खुवाउने गरेसँगै खुसी भएर विद्यार्थी नियमित हाजिर हुन थालेका हुन् । 

विद्यालयमै स्थानीय परिकार बन्न थालेपछि विद्यार्थी जङक्फुट किन्न र खान छाडेका छन् । विद्यालयलाई दिवाखाजा तयार गर्न गाउँपालिकाले अस्थायी संरचना निर्माण गर्न सहयोग गरेको छ भने बेडा नामक गैरसरकारी संस्थाले इन्डक्सन चुलोको व्यवस्था गरिदिएको छ । भूकम्पले ध्वस्त यस विद्यालयको संरचना यस वर्षदेखि गाउँपालिका अध्यक्ष छवी लामाको पहलमा सङ्घीय सरकारको अनुदानमा विद्यालय भवन निर्माणका लागि टेन्डर आह्वान भएको छ । यस विद्यालयमा कार्यरत सबै शिक्षक, कर्मचारीले आफ्ना बालबालिकालाई विद्यालयमै पढाउने गरेका छन् ।

विद्यालयमा कक्षा १–१० मा २४३ विद्यार्थी अध्ययनरत रहेका छन् । माध्यमिक विद्यालय भए पनि सरकारी माध्यमिक शिक्षक दरबन्दी छैन । पालिका र राहतमा दुई जना माध्यमिक शिक्षक छन् । आधारभूतमा सरकारी एक र राहत दुई, प्राथमिकमा १५ जना शिक्षक छन् । नजिकको सेतीदेवी प्रावि गाभिएपछि यो सङ्ख्या पुगेको हो ।