• ३१ वैशाख २०८३, बिहिबार

सात सय वर्ष पुरानो बाघभैरव मन्दिर पुनर्निर्माण

blog

बुटवल समाचारदाता

बुटवल, वैशाख ३१ गते । बुटवल उपमहानगरपालिका–१, पुरानो बटौलीमा रहेको करिब सात सय वर्ष पुरानो ऐतिहासिक बाघभैरव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । 

बुटवल उपमहानगरपालिकाले मन्दिरको पुनर्निर्माण सकेर बुधबार क्षमापूजा गरी नवनिर्मित मन्दिरमा बाघभैरव मूर्ति स्थानान्तरण गरेको छ ।  बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल–१ मा रहेको यो ऐतिहासिक बाघभैरव मन्दिर पाल्पाकै नुवाकोटडाँडामा तथा तानसेनको सेन मावि रहेको स्थानमा समेत स्थानान्तरण गरिएको किंवदन्ती रहेको बताउनुभयो ।

उहाँले बाघभैरव मन्दिर सेनवंशी राजाको इतिहाससँग जोडिएको हुनाले यो करिब सात सय वर्ष पुरानो मन्दिर रहेको अनुमान गर्न सकिने बताउनुभयो । बुटवल उपमहानगरपालिकाका पूर्वउपप्रमुख विमलबहादुर शाक्यका अनुसार विसं १३२५ तिर पाल्पाका सेन राजाले भारतको प्रयागबाट भैरवनाथ (बाघभैरव) को मूर्ति ल्याई बुटवलमा पूजाआजा सुरु गरेको किंवदन्ती रहेको छ  ।  उहाँले इतिहासमा विसं १३२५ तिर भारतबाट सेनवंशी राजा पाल्पाको रिब्दीकोट आएको भन्ने उल्लेख गरिएको पाइएको बताउनुभयो । यो मन्दिरको इतिहास मुख्यतः स्थानीय धार्मिक आस्था र भैरव उपासनासँग जोडिएको मानिएको छ ।