कोकिला भण्डारी
धनकुटा, वैशाख ३१ गते । धनकुटाको चौबिसे गाउँपालिकाले गुलाफ फुलाउँदै पर्यटन प्रवर्धन गरेको छ । नर्सरी र खेती विस्तार गर्दै स्थानीय उत्पादनलाई बजारसँग जोड्ने योजनामा रहेको पालिकाले गुलाफ खेतीलाई अभियानका रूपमा अघि बढाउँदै गुलाफ पार्क कार्यव्रmम सञ्चालनमा ल्याएको हो ।
गाउँपालिकाले गुलाफ खेतीलाई कृषि, पर्यटन र उद्यमशीलतासँग जोडेर स्थानीय किसानलाई आम्दानी र रोजगारी सिर्जना गर्नुका साथै ग्रामीण अर्थतन्त्र बलियो बनाउने लक्ष्य लिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले बताउनुभयो ।
गुलाफ खेती प्रवर्र्धनका लागि प्रदेश सरकारको सहयोग तथा पालिकाको आफ्नै लगानीमा कार्यव्रmम सञ्चालन भइरहेको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यासमेत बढाउने लक्ष्यका साथ गुलाफ खेतीबाट गुलाफ उत्पादन विस्तार गरी आयात प्रतिस्थापन गर्ने र गाउँको प्राकृतिक सौन्दर्य तथा पर्यटकीय आकर्षण बढाउने पालिकाको योजना रहेको अधिकृत मेहताले बताउनुभयो ।
पालिकाले गुलाफ खेतीलाई अभियानकै रूपमा अघि बढाएसँगै घरेलु सजावट, पर्यटकीय सौन्दर्य अभिवृद्धि तथा व्यावसायिक उत्पादन विस्तार गर्ने उद्देश्यसहित गुलाफ पार्क कार्यव्रmम सञ्चालनमा ल्याएको हो । मौसम अनुसार फुल्ने विभिन्न १८ प्रजातिका गुलाफको नर्सरी स्थापना गरेको छ । नर्सरीमा यतिबेला गुलाफी, रातो, पहेँलो, सेतोलगायत विभिन्न रङ र प्रजातिका गुलाफका बिरुवा हुर्किनुका साथै ढकमक्क फुल फुलेर पर्यटकको मन लोभ्याएको छ ।
राजारानीमा रहेको रानीताल, वरिपरिको हरियाली, मनमोहक दृश्य, मुढेबास, सौरे तथा छनम्बर बुधबारे सीमसार क्षेत्र पर्यापर्यटन र प्राकृतिक सौन्दर्यका लागि पर्यटकीय हब बनेको छ । यस क्षेत्रमा १० रोपनी क्षेत्रफलमा गुलाफको फूल फुलाउन बेर्ना तयारीका लागि नर्सरी विस्तार गरिएको छ ।
गाउँपालिकाले फूल खेतीलाई कृषि मात्र नभई पर्यटनसँग जोडिएको सम्भावनायुक्त क्षेत्रका रूपमा अघि सारेको चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले बताउनुभयो । प्रत्येक घरमा गुलाफ बगैँचा विस्तार गर्ने पालिकाको योजना रहेको छ । आगन्तुक पाहुनाको स्वागत, घरआँगनको सौन्दर्य, स्वास्थ्यबद्र्धक र वातावरण संरक्षणका लागि पनि अर्गानिक गुलाफ उपयोगी हुने भएकाले यस अभियानलाई जनताको घर घरसम्म पु¥याउन लागिएको पालिकाका कृषि शाखा प्रमुख चित्रञ्जन यादवले जानकारी दिनुभयो ।
गुलाफ खेतीबाट स्थानीय किसानलाई स्थानीयस्तरमा आम्दानीका साथै स्वदेशमै रोजगारी सिर्जना भएको छ । सौन्दर्यको प्रतीकका रूपमा मानिएको गुलाफ फूलको माग विवाह, सभा–समारोह, होटेल, धार्मिक कार्यव्रmम र उपहार संस्कृतिसँग जोडिँदै गएको छ । गुलाफ फूलको व्यावसायिक रूपमा उत्पादन गर्न सके फूलको बजार खोजिरहनु नपर्ने भएकाले व्यापारी गाउँघरमै गाडी लिएर फूल खरिदका लागि आउने गरेको पालिकाले जनाएको छ । आधुनिक नर्सरी, प्राविधिक तालिम तथा बजार व्यवस्थापनमा समेत बजेट विनियोजन गर्दै आएको पालिकाले धनकुटाको भेडेटार, धरान, इटहरी, विराटनगर, काठमाडौँ, सिलगुडी, जोगवनीलगायतका सहरमा गुलाफको धेरै माग रहेको जनाएको छ ।
नेपालमा मात्र होइन गुलाफको माग भारतमा समेत उत्तिकै रहेको छ । गुलाफ सजावट र उपहारका लागि मात्र प्रयोग नभएर गुलाफजल बनाएर आँखाको जलन एवं दुखाई कम गर्न आँखामा लगाउन, खिर, मिठाई एवं लस्सीमा लगाउन, शरीर मालिस गर्नसमेत प्रयोग गर्ने गरिएको छ । यसको उद्योग राजस्थानको हल्दीघाटीमा सञ्चालनमा रहेको छ ।
पुष्पगुच्छा तथा विभिन्न फूलजन्य सामग्री ठुलो परिमाणमा बाहिरबाट आयात भइरहेको छ । चौबिसे गाउँपालिकाले स्थानीयस्तरमै गुलाफ उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने लक्ष्य लिएको जनाएको छ । गुलाफ थोरै क्षेत्रफलमा पनि राम्रो आम्दानी दिने फूलमध्ये पर्छ । एक पटक व्यवस्थित रूपमा बगैँचा स्थापना गरेपछि लामो समयसम्म उत्पादन लिन सकिने भएकाले किसानका लागि यो आकर्षक व्यवसाय बनेको छ ।