• १ वैशाख २०८१, शनिबार

प्रस्तावित नागमती बाँध

धेरै चराको बास खोसिने चिन्ता

blog

काठमाडौँ, माघ २१ गते । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र बन्ने नागमती बाँध पक्षी संरक्षण प्रतिकूल हुने देखिएको छ । काठमाडौँ उपत्यकामा मानव बस्ती र सहरीकरण बढ्दै जाँदा सो निकुञ्जसँगै उपत्यकाका पहाडी भेगमा बाँकी रहेका वनमा चराको बास खुम्चिएको छ ।

तर सोही स्थानमा चराको बासस्थान खोसिने गरी नागमती बाँध बन्न प्रस्ताव गरिएको छ । प्रस्तावित बाँध क्षेत्रमा धेरै रुखबिरुवा काट्नुपर्ने व्यवस्थाले यस्तो अवस्था सिर्जना गर्न लागेको हो । काट्नुपर्ने रुखको गणना पनि वन नियमावली प्रतिकूल रहेको पाइएको छ । 

नयाँ वन नियमावली अनुसार बाँध बन्ने क्रममा पाँच सेन्टिमिटर गोलाइदेखि माथिका दुई लाख बढी रुख तथा बुट्यान काटिने छन् । तर आयोजनाले पुरानो नियमावली टेकेर ३० सेन्टिमिटर गोलाइमाथिका ८० हजार रुख काट्ने विवरण वातावरण प्रभाव मूल्याङ्कन प्रस्तावमा पेस गरेको छ । 

बाँध बन्ने ६५ हेक्टर फराकिलो क्षेत्र चराको प्रमुख बासस्थान मानिन्छ । झाडी, बुट्यान तथा घना वृक्षमा बस्ने चराको ठुलो सङ्ख्या अहिले बसिरहेका छन् । सो क्षेत्रमा दुर्लभ प्रजातिका रानी सल्ला, देबदार, गुराँस, बल्ली फलाँट, बाँस फलाँटलगायतका रुख तथा अमूल्य जडीबुटीका बुट्यान पाइन्छ । 

चराविद् डा. हेमसागर बरालका अनुसार बाँध निर्माण आयोजनाले चराको अस्तित्व नामेट बनाउने लक्ष्य राखेको देखिन्छ । उहाँले बाँध आयोजनालाई प्रश्न गर्नुभयो, “शिवपुरीमा पाइने फलाँट जातको एउटा घना रुखमा सयौँ चराको बास हुन्छ, त्यस्ता रुख उजाडिँदा चरा कहाँ जाने ?” सारौ, काग, चिबेलगायतका चरा आफ्नो समुदायमा बस्न रुचाउँछन् । बाँधका कारण रुख काटिएपछि त्यस्ता समुदायका चराको बिल्लिबाँठ हुने छ । 

निकुञ्ज क्षेत्र राजधानीको नजिक रहेकाले चरा अवलोकनका लागि पनि प्रसिद्ध छ । त्यो कुरालाई आयोजनाले पूरै नकारेको बरालले बताउनुभयो । मन्त्रालयमा आयोजनाका तर्फबाट बुझाइएको वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनमा चराको विनाशलाई महत्व दिइएको छैन । एक स्थानमा १६ प्रजाति एक ठाउँमा लेखेको देखिएको बराल बताउनुहुन्छ । उहाँका अनुसार शिवपुरीको एउटा छेउमा उभिएर हेर्दा पनि एक घण्टामा २५ देखि ३० चरा देखिन्छ । 

चरा संरक्षणका दृष्टिकोणबाट सो प्रस्ताव अत्यन्त न्यून स्तरको, पहिला फितलो र कर्मकान्डी रहेको दाबी बरालले गर्नुभयो । उहाँले थप्नुभयो, “प्रतिवेदन लेखेर बुझाइदिनु पर्छ भनेर बुझाउनकै लागि लेखिएको छ, त्यसको बायो सर्भे पूर्ण रूपले त्रुटिपूर्ण छ ।” जैविक विविधताविज्ञ नै नराखीकन पेस गरिएको प्रतिवेदनको अर्थ नरहेको टिप्पणी उहाँले गर्नुभयो ।

त्यहाँ वनस्पति र पारिस्थितिक प्रणाली लोप हुँदा चरासँगै तिनमा निर्भर हुने अरू प्राणीको जीवन पनि सङ्कटमा पर्ने भएको छ । चरासम्बन्धी अद्यावधिक तथ्य केलाइएको छैन । नेपालका चराको नयाँ तथ्य छ वटा भागमा सन् २०१० मा आइसकेको अवस्थामा सन् १९९५ तिरका तथ्य राखिएका छन् । नेपाल पक्षी संरक्षण सङ्घका अध्यक्ष इशाना थापाले चराको बास खोस्ने गरी अन्य संरचना बनाउन नहुनेमा जोड दिनुभयो । उहाँले इआइए गर्दा चरामा पर्ने असरबारे आयोजनाले कुनै सोधीखोजी नगरेको जानकारी दिनुभयो । 

निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालका अनुसार त्यस क्षेत्रमा ३४९ प्रजातिका चरा पाइन्छ । अद्यावधिक हुन बाँकी बाहेक ३२० प्रजातिका चराको उल्लेखै नहुनु दुःखद रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वकै दुर्लभ सूचीमा रहेका गोमायु महाचिल, बोक्सीचिलको बासस्थान शिवपुरीको वन हो ।” 

आयुसिएनको सङ्कटापन्न सूचीमा रहेका सानो खैरो गिद्ध, डङ्गर गिद्ध, सुन गिद्धको पनि घर हो । नेपालमा मात्र पाइने काँडेभ्याकुर, लामपुच्छ«े, कालिज, कोइली, जुरेली, गौँथली, जलखन्जरी, खोले धोबिनी, तोरी गाडा, फिस्टेभ्याकुर, डिकुरेभ्याकुरको स्थायी बास यहीँ छ । छिमेकी चराको पर्यटन गर्ने सिमसार क्षेत्र भएकाले त्यो पनि भविष्यमा सङ्कटमा पर्ने सम्भावना छ । 

आयुसिएन नेपालका प्रतिनिधि डा. नरेन्द्रमान प्रधानले जैविक विविधतायुक्त क्षेत्रमा बाँधका नाममा अतिक्रमण हुँदा दुर्लभ वन्यजन्तु र पक्षी सङ्कटमा पर्ने औँल्याउनुभयो । जैविक विविधताविद् डा. तीर्थबहादुर श्रेष्ठले शिवपुरी एउटा हरियो डाँडा मात्र नभई चराको बासस्थान भएकाले नष्ट गर्न नहुने औँल्याउनुभयो । उहाँले भन्नुभयो, “जति चरा शिवपुरीमा छन् विदेशका कुनै कुनै देशभरमा पनि त्यति छैनन् ।”