नवीन सुवेदी
सुर्खेत, माघ १६ गते । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सहिदलाई फूलमालामा मात्रै सीमित गर्न नहुने बताउनुभएको छ ।
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा आयोजित सहिदहरुलाई पुष्पगुच्छा अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले सहिदलाई फूलमालामा मात्रै सीमित गर्दा सहिदप्रतिको सच्चा सम्मान नहुने बताउनुभएको हो ।
सहिदहरुको बलिदानबाट नेपाली जनताले १०४ वर्षको एकात्मक राज्यव्यवस्था परिवर्तन भएको स्मरण गर्दै सहिदहरुको बलिदानबाट नेपाली जनता स्वतन्त्र भएको जिकिर गर्नुभयो
उहाँले आन्दोलनबाट प्राप्त भएको स्वतन्त्रताको धज्जी उडाउने गरेकाले यसका विरुद्ध सबै नागरिक चनाखो हुन आग्रह गर्नुभयो ।
केही लोभीपापीले आज सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नदिने, सुशासन र देशलाई समृद्ध लैजाने कार्य सञ्चालन गर्दा त्यसप्रति दुष्प्रचार गर्ने गरेकाले सबै एकताबद्ध हुनुपर्छ भन्नुभयो ।