• ८ मंसिर २०८१, शनिबार

आत्मविश्वासी पूजा

blog

पछिल्लो समयका बालबालिका अभिभावकसँग यति परनिर्भर हुन पुगेका छन् कि जीवन चलाउन अति आवश्यक पर्ने सानातिना जीवनोपयोगी सिप पनि जान्दैनन् । कक्षा १० मा पढ्ने आफ्ना बच्चालाई खाना खुवाइदिनुपर्ने कुरा पनि अभिभावक लाजै नमानी भनिरहेका हुन्छन् ।

तर ओखलढुङ्गा लिखु गाउँपालिका स्थायी घर भई हाल कालीमाटीमा बसोबास गर्ने पूजा श्रेष्ठको कथा भने बेग्लै छ । खेल्ने र रमाउने बाल्य अवस्थामै पारिवारिक जिम्मेवारीको भारी बोकेकी पूजाको उज्ज्वल भविष्यप्रतिको आत्मविश्वास गजबको छ । अहिलेसम्म दुःखको पहाड छिचोल्दै अगाडि बढिरहनुभएकी पूजाले आफ्नो अगाडिको भविष्य उज्ज्वल देख्नुहुन्छ । 

जस्तो सुकै सम्पन्नताका बिचमा पनि सन्तुष्ट र खुसी हुन नसक्ने अहिलेको सामाजिक परिदृश्यमा यतिका दुःखको बिचमा पनि आत्मविश्वासी र हँसिली पूजाको व्यक्तित्व प्रशंसायोग्य छ ।

लगातार चार वटा छोरी जन्माएको र छोरा नजन्माएको भन्दै पूजाको बुवाले आमा सुनिता श्रेष्ठलाई दैनिक मानसिक र शारीरिक यातना दिन थालेपछि १० वर्षअघि  उनको आमा गाउँबाट भागेर तीन छोरीसहित काठमाडौँ आएर कालीमाटीमा बस्न थालेकी हुन् । खाने बस्ने केही टुङ्गो नभई काठमाडौँ आएका पूजाका परिवारको दुःख र मेहनत कडा हुन थाल्यो । आमा सुनिता अरूको घरमा सहयोगीका रूपमा काम गर्न थालिन् अनि काखे अवस्थाको सानो छोरीलाई आफूसँग राखिन् र प्राथमिक कक्षा पढ्ने दुइ छोरीलाई पनि पढाइदिने सर्तसहित अरूको घरमा काम गर्न लगाइन् । 

उनको परिवारको त्यही मेहनतले अहिले पूजाको आमाले सानो चिया र खाजा पसल चलाउनुभएको छ । पूजा र उनको कक्षा ९ मा पढ्ने बहिनी भने अहिले पनि अरूकै घरमै सहयोगीका रूपमा काम गर्छन् र फुर्सदको समयमा आमालाई पनि सहयोग गर्छन् ।

अध्ययनमा पनि जेहेनदार रहेकी पूजा भन्नुहुन्छ, “जीवनमा कति कष्ट त भोगेर आइयो, त्यस कारण जिन्दगी जसरी पनि सहज ढङ्गले अगाडि बढाउन सक्छु जस्तो लाग्छ ।” 

बुवाले अर्कै बिहे गरेर बसेको खबर सुनेकी पूजालाई अब बुवाको आसभन्दा पनि आफ्नै भर छ । बरु जिन्दगीमा आफू सफल बनेर आमालाई सुख दिनुछ, बहिनीहरूको भविष्य उज्यालोतिर डोर्‍याउनु छ । उनको विद्यालयले काठमाडौँ महानगरपालिकाको सहयोगमा शिक्षामा सिप कार्यक्रम  सञ्चालन गरेको छ । यस अन्तर्गतको ब्युटिसियन तालिममा सहभागी हुने अवसर  पाएपछि पूजाको आत्मविश्वास झनै बढेको छ । ‘अब त अरू विकल्प नभए पनि ब्युटिसियन पेसा अँगाल्न सक्छु भन्ने छ,’ उहाँ भन्नुहुन्छ ।

नीलवाराहीमा पूजा जस्ता पात्रहरू हरेक कक्षामा भेटिन्छन । विद्यालयकी प्रअ जानुका नेपाल भन्नुहुन्छ, “यहाँ अध्ययन गर्न आउने अधिकांश विद्यार्थी न्यून वर्गीय परिवारका छन् । मधेश प्रदेश र काठमाडौँ आसपासका जिल्लाबाट कामको खोजीमा अभिभावकसँगै काठमाडौँ आएका अभिभावकका छोराछोरी यहाँ अध्ययन गर्दछन् । यहाँका विद्यार्थीका धेरै अभिभावक कालीमाटी तरकारी बजारमा काम गर्ने गर्छन् ।

यहाँका अधिकांश अभिभावक दैनिक ज्याला मजदुरी गर्ने, साना व्यापार भएका वा न्यून आए भएका हुनाले धेरै विद्यार्थी आफू पनि काम गर्दै अध्ययनलाई निरन्तरता दिएको प्रअ नेपाल बताउनुहुन्छ । धेरै दुःखबाट आए पनि, अध्ययन मात्र गर्ने समय नपाए पनि विद्यार्थीको पढाइ राम्रो रहेको, बालबालिका अनुशासित रहेको कुरा पनि प्रअ नेपाल बताउनुहुन्छ ।

दुःखले मानिसलाई झन् बलियो बनाउँछ । त्यस कारण दुःखमा हरेस नखाइ अगाडि बढ्नु पर्छ भन्ने सन्देश पूजा र साथीहरूको जीवनबाट स्पष्ट हुन्छ । सानातिना काम गर्दैमा पढाइ प्रभावित हुँदैन भन्ने सन्देश पनि नीलवाराहीका विद्यार्थीको परीक्षाफलले देखाउँछ ।

तर यी र यस्तै बाध्यता र परिस्थितिका कारणले बालबालिकाको निर्धक्कसँग पढ्न पाउने, खेल्न पाउने, रमाउन पाउने अर्थात् स्वतन्त्रताको उपयोग गर्न पाउने अधिकार हनन भएकोतर्फ जिम्मेवार निकायको ध्यान जानै पर्छ र यो अवस्थामा परिवर्तन हुन आवश्यक छ ।