• ५ वैशाख २०८१, बुधबार

'कुष्ठरोगबाट अङ्गभङ्ग भएकालाई समाजमा नै पुनर्स्थापना गर्नुपर्छ'

blog

काठमाडौं, माघ १४ गते । कुष्ठरोग प्रभावितको सङ्ख्या बढ्दै गएको छ । छालारोग विशेषज्ञ डा. रवीन्द्र बाँस्कोटाका अनुसार वार्षिक लगभग तीन हजार नयाँ कुष्ठरोग प्रभावित थपिन्छन् । 

सरकारले सन् २०१० मा रोग निवारण गरेको थियो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार रोगको निवारण गर्न प्रति १० हजार जनसङ्ख्यामा एक प्रतिशतभन्दा कम बिरामी हुनुपर्छ । निवारणपछि लगभग ३५ हजार कुष्ठरोग प्रभावित थपिएका छन् । राष्ट्रिय रूपमा बिरामीभार  प्रति १० हजार जनसङ्ख्यामा ०.८५ प्रतिशत छ । तर प्रदेश र स्थानीय तहमा रोगको भार बढी छ । 

रोगको भार मधेश, लुम्बिनी, सुदूरपश्चिममा सबैभन्दा बढी छ । मधेशमा १.३७, लुम्बिनीमा १.१०, सुदूरपश्चिममा १.०१ प्रतिशत छ । त्यसैगरी, कोशी प्रदेशमा ०.९२, कर्णाली प्रदेशमा ०.५३, गण्डकी प्रदेशमा ०.४५ र बागमती प्रदेशमा ०.२१ प्रतिशत छ । 

सरकारले बिरामीलाई उपचारको दायरामा ल्याउन नसक्दा रोग बढ्दै गएको डा. बाँस्कोटाको भनाइ छ । त्यसका साथै, दक्ष जनशक्तिको कमी, खुल्ला नाकाबाट बिरामीको आवतजावत सामाजिक विभेदका कारण बिरामी खुल्न नसक्दा कुष्ठरोगमुक्त नेपाल बनाउन चुनौती थपिएको उहाँको भनाइ छ । सन् २०३० सम्म कुष्ठरोग मुक्त बनाउने सरकारको लक्ष्य छ । डा. बाँस्कोटाका अनुसार कुष्ठरोगमुक्त नेपाल बनाउन स्थानीय तहबाट नै रोग उन्मूलन गर्नुपर्छ । 

मधेशमा कुष्ठरोग प्रभावितको सङ्ख्या बढी 

कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका अनुसार आर्थिक वर्ष २०७९/०८० मा दुई हजार पाँच सय २२ जना नयाँ बिरामी थपिएका छन् । बिरामीमध्ये एक हजार ४९ जना महिला छन् भने १४ वर्षमुनिका बालबालिका १८१ जना छन् । कुष्ठरोग प्रभावितमध्ये १९१ जनामा अङ्गभङ्ग भएको छ । जसमध्ये १४ वर्षमुनिका आठजना छन् । 

कुष्ठरोग प्रभावितको सङ्ख्या सबैभन्दा बढी मधेश प्रदेशमा छन् । मधेश प्रदेशमा ९४४ जना, लुम्बिनी प्रदेशमा ५६५ जना, कोशी प्रदेशमा ४७१, सुदूरपश्चिममा २३०, बाग्मती प्रदेशमा १२०,गण्डकी प्रदेशमा ११९ र कर्णाली प्रदेशमा ७३ जना कुष्ठरोगबाट प्रभावित भएका छन् । 

कुष्ठरोग के हो ?

छालारोग विशेषज्ञ डा.रवीन्द्र बाँस्कोटाका अनुसार कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्याक्टेरिरयम लेप्रे नामको सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको रोग हो । यसले विशेषगरी छाला र स्नायुप्रणलीमा असर गर्ने गर्छ ।  

कीटाणु शरीरमा पसेपछि दुई वर्षदेखि ६ वर्षभित्र लक्षण देखाउन सुरु गर्ने उहाँ बताउनुहुन्छ । लक्षणहरू छाला हातखुट्टा, आँखामा देखिने उहाँ बताउनुहुन्छ ।

सबै उमेर समूहका मानिस कुष्ठरोगको जोखिममा हुने गर्दछन् । कुष्ठरोग कम कीटाणु भएको प्यासी ब्यासेलरी र बढी कीटाणु भएको मल्टी ब्यासिलटी गरी दुई प्रकारका हुन्छन् ।  

यो कीटाणुले छालामा नदुख्ने, नचिलाउने, हल्का राताे, फुस्रो दाग आउने डा. बाँस्कोटा बताउनुहुन्छ । कुष्ठरोगका दागमा छोएको थाहा हुँदैन । कीटाणुले स्नायु प्रणालीलाई कमजोर बनाउने हुँदा अङ्गभङ्ग हुने सम्भावना बढ्दै जान्छ । 

यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । उहाँ भन्नुहुन्छ,“उपचार नगरेका कुष्ठरोग प्रभावित बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिबाट विशेषगरी श्वास प्रश्वासको माध्यमबाट सर्छ ।” यो रोगको सर्ने दर कम हुने उहाँको भनाइ छ । 

आँखामा असर पर्दा दृष्टिविहीनसम्म हुने सम्भावना बढी हुन्छ । डा. बाँस्कोटाका अनुसार रोगको उपचार सुरुकै अवस्थामा गरेमा अरूमा सर्दैन । उहाँ भन्नुहुन्छ, “समयमा नै उपचार गरेमा कुष्ठरोग पूर्णरूपमा निको हुन्छ र अपाङ्गता हुनबाट बच्न सकिन्छ । रोगलाई समयमा नै पहिचान गरेर औषधी खाएमा रोग पूर्णरूपमा निको हुने भएकाले कुष्ठरोग प्रभावितलाई विभेद नगर्न उहाँको सुझाव छ । सरकारले कुष्ठरोगको औषधी निःशुल्क रूपमा वितरण गर्दै आएको छ । 

मल्टी ब्यासिलटी कुष्ठरोगी १२ महिनासम्म औषधीको सेवन गर्नुपर्छ भने प्यासी क्यासेलरी कुष्ठरोगीले ६ महिनासम्म औषधी खानुपर्छ । साथै कुष्ठरोगबाट अङ्गभङ्ग भएकाको समाजमा नै सम्मानजनक पुनर्स्थापना गराउनुपर्ने उहाँको तर्क छ । 

सरकारले कुष्ठरोगसम्बन्धी गलत अवधारणको अन्त्य गरौँ मर्यादित व्यवहार गरौँ भन्ने नाराका साथ ७१ औँ कुष्ठरोग दिवस मनाउँदै छ । सोही अवसरमा छालारोग विशेषज्ञ डा.रवीन्द्र बाँस्कोटासँग कुष्ठरोगको विषयमा केन्द्रित भई तयार पारिएको भिडियो संवाद :

भिडियो : मनोजरत्न शाही र केशब गुरुङ

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।