काठमाडौं, माघ १२ गते । चक्रपथ विस्तार आयोजनाअन्तर्गत दोस्रो चरणको कलङ्की महाराजगञ्ज सडक विस्तारको काम सुरु हुन सकेको छैन ।
सडक विभागअन्तर्गतको काठमाडौँ चक्रपथ सुधार योजनाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर कृष्णनाथ ओझाका अनुसार चिनियाँ टोली अध्ययनका लागि नआउँदा थप काम सुरु हुन नसकेको हो ।
अहिले उक्त सडक खण्डको ‘साइट क्लियर’को काम भने सकिएको छ । तर चिनियाँ टोली आएर सडकको डिजाइन तयार गरेपछि मात्र काम सुरु हुने जनाउनुभयो ।
प्रमुख झाले भन्नुभयो, “चक्रपथ आयोजनाअन्तर्गतको दोस्रो खण्डको कलङ्की–महाराजगञ्ज अन्तर्गतको काम अहिले सुस्ताएको छ, काम खासै भएको छैन । साइट क्लियर भएको छ । तर चिनियाँ पक्ष नआएसम्म काम सुरु हुँदैन ।”
यसअघि चिनियाँ पक्ष साइट क्लियर नभएसम्म काम नथाल्ने जनाएको थियो । सोही अनुसार सडक विभागले सडक छेउछाउका बिजुलीका पोल, तार, ११ केभी भोल्टेज फिडर, ट्रान्समिटरहरु सारिसकिएको छ ।
चिनियाँ पक्षहरू आउने भन्ने अपुष्ट खबर आइरहेपनि कहिले आउने भन्ने यकिन भने नभएको इन्जिनियर ओझाको भनाइ छ ।
निर्माण कम्पनीको ढिलाइ
नेपाली पक्षले सडक किनारामा सर्भिस ट्रयाक निर्माण तथा ढल तथा पाइपको व्यवस्थापन गर्नुपर्ने हो । तर निर्माणको जिम्मा पाएको नेपाली निर्माण कम्पनीले सर्भिस लेन निर्माणमा ढिलाइ गरेको छ । काम गरेअनुसारको रकम उपलब्ध गराउन नसक्दा निर्माण कम्पनीले उक्त काम गर्न ढिलाइ गरिरहेको चक्रपथ सुधार आयोजनाका प्रमुख झाको भनाइ छ ।
उहाँले भन्नुभयो, “यस सडक खण्डको नेपाल पक्षले सडक किनाराका ढल तथा पाइप व्यवस्थापन गर्नुपर्ने हो । ठेकेदार कम्पनीलाई काम गरेबापतको रकम दिन सकिएको छैन । त्यसैले काम पनि खासै भएको छैन ।”
चालू आर्थिक वर्षको काम गरेबापतको रकम भुक्तानी गर्न नसकिएको जानकारी उहाँले दिनुभयो । सरकारले केही दिनअघि निकासा गरेको एक अर्ब ७० करोड रकममा पनि यो समावेश भएको उहाँ बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “सरकारले गत आर्थिक वर्षको बाँकी रहेको बक्यौता र यो वर्ष सिर्जना भएको दायित्व बापत भुक्तानीका लागि निकासा गरेको एक अर्ब ७० करोड रकममा यो समावेश भएन । त्यसैले रकम दिन सकिएको छैन ।”
स्वयम्भुअगाडिका बुद्धका मूर्ति के हुन्छन् ?
चक्रपथ विस्तारका क्रममा स्वम्भू अगाडिका बुद्धका मूर्तिलाई हटाउने कि यथास्थितिमा राख्ने भन्ने विषय अहिले जारी रहेको छ । काठमाडौँ चक्रपथ सुधार आयोजनाका प्रमुख झाका अनुसार चिनियाँ टोलीले अध्ययन गरेर डिजाइन तयार गरेपछि मात्र उक्त मूर्तिहरू के गर्ने भन्ने टुङ्गो लाग्नेछ ।
उहाँले भन्नुभयो, ‘‘चिनियाँ टोलीले आएर अध्ययन गरेर सडक विस्तारको डिजाइन तयार गरेपछि मात्र स्वयम्भू अगाडिका मूर्तिहरू के गर्ने भन्ने टुङ्गाइने लाग्नेछ ।”
उक्त क्षेत्रमा अण्डरपास गर्ने या आकाशे पुल वा सडकको बिचमा डिभाइडर बनाउने भन्ने डिजाइनपछि थाहा हुने उहाँ बताउनुहुन्छ ।
चक्रपथ कुल २७ किलोमिटर हो । यसमध्ये कोटेश्वर–कलङ्की सडक १०.३९ किलोमिटर चीनको सांघाई कन्स्ट्रक्सन ग्रुपले २०७० सालदेखि थालेको थियो । २०७३ माघसम्म विस्तार गर्ने लक्ष्य थियो । तर २०७२ सालको भूकम्प र भारतीय नाकाबन्दीका कारण निर्माण पर धकेलियो । २०७५ सालमा बल्ल सडक हस्तान्तरण भएको थियो । यो खण्डको विस्तार गर्न करिब पाँच अर्ब रुपियाँ लागेको थियो ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                