• १२ साउन २०८१, शनिबार

ठिकठाक ‘हनुमान’

blog

काठमाडौँ, माघ १२ गते । दर्शकलाई सकारात्मक सन्देश प्रवाह गर्न बजारमा थुप्रै चलचित्र आउने गरेका हुन्छन् । कति चलचित्र कथावस्तुका कारण धेरैले हेर्न रुचाउँछन् भने कतिपय चलचित्र गीत, सङ्गीत तथा छायाङ्कन गरिएको स्थलले पनि दर्शकको आँखामा पर्ने गरेका हुन्छन् । पछिल्ला दिनमा चलचित्र ‘हनुमान’ ले पनि चर्चा बटुलिरहेको छ । यसले चर्चा बटुल्नुको कारण चलचित्रको कथा, संवाद र सङ्गीत हो । 

चलचित्र हनुमानको जन्मस्थल अञ्जनाद्रिको कथा यो चलचित्रमा समेटिएको छ; जहाँ इन्द्रको वज्रको प्रहारले हनुमानको चिउँडोबाट खसेको रगतको एक थोपा नदीको तल्लो भागमा रहेको खुला पानीजहाजभित्र पसेर रुद्रमणि बनेको थियो । यो रुद्रमणिलाई अञ्जनी गाउँमा फेला पर्दा कस्तो फूल फुल्छ भन्ने कुराको वरपर चलचित्रको कथा  घुमेको छ । 

माइकल (विनय रोय) जो बाल्यकालदेखि हलिउडका सुपर हिरोको चलचित्र हेरेर हुर्केका हुन्छन् । उनी स्पाइडरम्यान, आइरनम्यान र अन्य सुपर हिरोको यति धेरै प्रशंसक हुन्छन् कि उनी आफैँ सुपर हिरो बन्न चाहन्छन् । यही आवेगका कारण उनले आमाबुवालाई आफ्नो शत्रु मान्न थाल्छन् । शक्तिको लोभले उनलाई सुपर हिरोको सट्टा सुपर भिलेनमा परिणत गरिदिन्छ, जुन कुरा उनलाई महसुस हुँदैन ।  

विज्ञान र नयाँ प्रविधिको सहयोगमा माइकलले नयाँ नयाँ कपडा प्रयोगमा ल्याइरहेका हुन्छन्, जसलाई लगाएर उनी शक्तिशाली बन्न सक्छन् । कथा अञ्जनाद्रिमा पुग्छ, जहाँ हनुमन्त (तेजा सज्जा) आफ्नो जेठी बहिनी (वरलक्ष्मी सरथकुमार) सँग बस्छन् । चोरी र अन्य गल्तीका कारण हनुमन्थलाई प्रायः अरूबाट पिटिन्छन् । एक दिन उनी आफ्नो बाल्यकालको साथी माया मीनाक्षी (अमृता अय्यर) को ज्यान जोगाउन खोज्दा समुद्रमा हामफाल्छन् । जहाँ पहेँलो रङको रुद्रमणि भेटिन्छ । रुद्रमणिमा हनुमानको अद्भुत शक्ति छ; जसको सहायताले हनुमानले गाउँलेको कल्याण गर्छन् । 

यसैबिच माइकल यी चामत्कारिक शक्तिहरूबारे सचेत हुन्छन् । छल गरेर उनी गाउँ पस्छन् । के हनुमन्त माइकलको मनसाय जान्न सक्षम हुन्छन् ? के उनले गाउँलेलाई भयानक प्रकोपबाट बचाउन सक्छन् ?  

‘हनुमान’ मा तेज सज्जाले उत्कृष्ट अभिनय गरेका छन् । कान्छो भाइ, साथी, प्रेमी र भक्तको अभिनयमा उनी चलचित्रमा अद्भुत देखिएका छन् । उनको संवाददेखि लिएर एक्सनसम्म प्रशंसायोग्य छ । मीनाक्षीको भूमिकामा अमृता अय्यर फरक देखिएकी छन् । वरालक्ष्मीले हनुमन्तकी दिदीको भूमिका उत्कृष्ट ढङ्गले निर्वाह गरेकी छन् । आफ्नो कान्छो भाइको चिन्ता होस्, उनलाई बुझाउन होस् वा उनको मनमा के छ भनेर केही नबोली थाहा पाउन; उनलाई हरेक पल मन पर्छ । सुपर भिलेनबिना सुपर हिरो चलचित्र अधुरो हुन्छ र विनय रोयले यो भूमिका उत्कृष्ट ढङ्गले निर्वाह गरेका छन् ।

चलचित्रमा अञ्जनी पर्वत होस् वा हनुमान कथाको विस्तार; हरेक दृश्य अचम्मको देखिन्छ । कथा काल्पनिक भए पनि यसले सभ्यता र संस्कृतिलाई सही ढङ्गले उजागर गर्छ । चलचित्रमा बाँदर बोलिरहेको, पसलेको टाउकोमा चरा घुमिरहेको जस्ता धेरै दृश्यले दर्शकलाई रमाइलो बनाउँछ । निर्देशक वर्माले चलचित्रभित्र भक्ति, शक्ति, प्रेमकथा र परिवार जस्ता विषय समेटेका छन् । समग्रमा चलचित्र ठिकठाक बनेको छ ।