• ७ जेठ २०८१, सोमबार

उठेन काठमाडौं महानगरको दुई अर्ब ३० करोड राजस्व

blog

काठमाडौं, माघ ११ गते । काठमाडौं महानगरपालिकाले राजस्व वापत दुई अर्ब ३० करोड रुपियाँ बक्यौता उठाउन बाँकी रहेको जनाएको छ ।

महानगरले गत असार मसान्तसम्म नियमित र असुरउपर गर्नुपर्ने राजस्व दुई अर्ब ३० करोड रहेको जनाएको छ । चालू आर्थिक वर्षमा थपिएको रकमको भने बक्यौता रकमको प्रारम्भिक लेखा परीक्षणको क्रममा छ । 

महानगरका राजस्व विभागका निर्देशक ध्रुवकुमार काफ्लेका अनुसार महानगरले बक्यौता रकमा जरिवाना छुट दिँदा पनि करदाताहरु कर तिर्न आएका छैनन् ।

उहाँले भन्नुभयो, “महानगरले असार मसान्तसम्म राजस्वको बक्यौता दुई अर्ब ३० करोड सङ्कलन गर्न बाँकी छ । पुस मसान्तसम्म महानगरले जरिवानामा शतप्रतिशत छुट दिँदा पनि करदाताहरु कर तिर्न आउनुभएन ।”

चालू आर्थिक वर्षमा सम्पत्ति, घरबहाल र व्यवसाय करमा १० प्रतिशत छुटको व्यवस्था  रहेको जानकारी उहाँले दिनुभयो ।

गोपीकृष्ण सिनेमा हललाई महानगरको ताकेता  
पटक–पटक आग्रह गर्दा पनि गोपीकृष्ण सिनेमा हलले कर नतिरेपछि महानगरको टोली सिनेमा हलमै पुगेर कर तिर्न ताकेता गरेको छ । महानगरको टोली गत माघ ३ गते सिनेमा हलमै पुगेर महानगरलाई तिर्नुपर्ने मनोरञ्जन कर बापतको विवरण उपलब्ध गराउन आग्रह गरिएको काफ्लेले बताउनुभयो ।

टोलीले माघ १० गतेभित्र मनोरञ्जन करका विवरण महानगरको राजस्व शाखामा दाखिला गर्न आदेश दिएको थियो । तर अहिलेसम्म सिनेमा हलले विवरण दाखिला नगरेको राजस्व विभागका निर्देशक काफ्लेले बताउनुभयो ।

गोपीकृष्ण हलले सम्पत्ति र भूमि कर बापत २९ लाख ५० हजार तिर्न बाँकी छ । मनोरञ्जन कर पनि तिर्न बाँकी रहेकाले ताकेता नै गर्नुपरेको काफ्लेको भनाइ छ । सिनेमा हलले टिकट बिक्रीको पाँच प्रतिशत रकम मनोरञ्जन कर वापत महानगरलाई तिर्नुपर्ने हुन्छ ।

महानगका राजस्व विभागका निर्देशक काफ्लेले भन्नुभयो, “गोपीकृष्ण हलले सम्पत्ति र भूमिकर वापतको रकम २९ लाख ५० हजार रकम तिर्न बाँकी छ । मनोरञ्जन कर वापतको रकम तिर्न पनि आग्रह गरेका छौँ । विवरण दिएको छैन । प्राप्त भएपछि मनोरञ्जन वापत कति कर उठाउनुपर्छ यकिन गछौँ ।”

महानगरमा बढे करदाता
काठमाडौं महानगरमा करदाता बढेका छन् । गत आर्थिक वर्ष तीन लाख २४ हजार १२० करदाता रहेकोमा चालू आर्थिक वर्षमा बढेर तीन लाख ४३ हजार ३४० पुगेका छन् ।

उहाँका अनुसार ३५ हजार ५७ बहाल करदाता, ३१ हजार नौ सय १६ व्यवसाय करदाता र ५२ हजार चार सय ८६ सम्पत्ति करदाता छन् । अन्य शीर्षकमा पनि करदाता बढेका छन् । यसवर्ष करदाताको सङ्ख्या तीन लाख ४३ हजार तीन सय ४० पुगेको छ ।

काफ्लेले भन्नुभयो, “गत आवको अन्त्यसम्ममा कर तिरेका करदाताको सङ्ख्यालाई चालू आबका लागि करदाताको सङ्ख्या मान्ने गरिएको छ ।”

उल्लेखित करदातामध्ये अहिलेसम्म कर तिर्नेको सङ्ख्या एक लाख ९१ हजार आठ सय ८६ छ भने एक लाख ३२ हजार दुई सय ३४ कर नतिर्ने रहेको उहाँले जानकारी दिनुभयो ।

करदाता बढेपछि उल्लेख्य रुपमा कर सङ्कलन भएको छ । चालू आवको अर्धवार्षिक अवधिमा करिब पाँच अर्ब राजस्व सङ्कलन भएको काफ्लेले जानकारी दिनुभयो ।

महानगरले गत फागुन ३ मा ‘घरबहाल व्यवस्था निर्देशिका, २०७९’ जारी गरिसकेको छ । निर्देशिका अनुसार कुनै पनि घरधनीले घरभाडामा लगाउँदा वा घरखाली गराएको बारे सूचना सात दिनभित्र वडा कार्यलयमा दिनुपर्दछ । लिखित सम्झौताको एकप्रति सम्बन्धित वडा कार्यालय, एकप्रति घरधनी र अर्को एकप्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा व्यवस्था गरिएको छ ।

सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य र अभिवृद्धिसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको छ । निर्देशिका जारी भएसँगै करदाता बढेको कामपाले जनाएको छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।