• १२ साउन २०८१, शनिबार

कर्णालीमा सकियो मतदान

blog

नवीन शाही 

सुर्खेत, माघ ११ गते । राष्ट्रिय सभा सदस्य पदको निर्वाचन अन्तर्गत कर्णाली प्रदेशमा मतदान सकिएको छ । कुल मतदान गर्ने समय ३ बजेसम्म भए पनि सबै मतदाताले मत हालेपछि मतदान सकिएको हो । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेश सभातर्फका ४० सदस्यले मतदान गर्नुभएको छ । यस्तै, ७९ स्थानीय तहका कुल एक सय ५८ मतदातामध्ये एक सय ५६ जनाले मतदान गर्नुभएको छ। यस्तै, दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङ र जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको निधन भएको थियाे । 

बिहान ९ बजेदेखि सुरु भएको मतदान १ः१५ बजे सकिएको हो । प्रदेश सभातर्फ घनश्याम भण्डारीद्वारा पहिलो र सभामुख नन्दा गुरुङद्वारा अन्तिम मत खसेको थियो भने स्थानीय तहतर्फ सुर्खेतको गुर्भाकोट नगरपालिका प्रमुख हस्तबहादुर पुनद्वारा पहिलो र जाजरकोटको शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले अन्तिम मतदान गर्नुभएको थियो । 

मतदान सकिएसँगै छलफलबाट मतगणनासम्बन्धी निर्णय हुनेछ । सम्भवतः आजै नतिजा आइसक्ने निर्वाचन कार्यालयले जनाएको छ । 

कर्णाली प्रदेशबाट तीन पदका लागि छ जनाको उम्मेदवारी परेको थियो । सत्तारुढ गठबन्धन दलबाट अन्य कलस्टरमा कृष्णबहादुर रोकाया, महिलातर्फ सावित्री मल्ल र दलिततर्फ विष्णु विक उम्मेदवार हुनुहुन्छ । 

यस्तै, नेकपा एमालेका तर्फबाट अन्यमा डिल्लीप्रसाद भट्ट, महिलातर्फ विमला शाही र दलिततर्फ हिक्मत विक उम्मेदवार हुनुहुन्छ । यसपटक भएको निर्वाचनमा प्रति प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तह प्रति मतदाता १९ मतभार छ । यसरी गणना हुँदा कर्णाली प्रदेशको कुल मतभार पाँच हजार ८४ छ ।