• २१ वैशाख २०८१, शुक्रबार

देउडा संरक्षणमा सरकारले बजेट छुट्याउछ: मन्त्री धामी

blog

धनगढी,  माघ ११ गते । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले आगामी बजेटमा देउडा आइडल आयोजना गर्न बजेट छुटाउने बताउनु भएको छ । 

धनगढीमा बुधवार साँझ आयोजित देउडा आइडल सम्बन्धी विशेष भेटघाटमा मन्त्री धामीले कला, संस्कृति, परम्परा जोगाउनेका काम सरकारको भएको बताउँदै अहिले विभिन्न संस्थाहरूले त्यस्तो काम गरेर राम्रो गरिरहेको बताउनुभयो । उहाँले यस्ता कला, संस्कृति, परम्परा जोगाएर पर्यटन क्षेत्रसँग जोडेर आम्दानी बढाउनु पर्ने पनि बताउनुभयो ।

नेकपा (एमाले) का प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले देउडा आइडलले देउडा संस्कृति जोगाउन ठुलो भूमिका खेल्ने बताउनुभयो । सो अवसरमा महेश आउजी लगायतले विभिन्न देउडा लगायतका कलाकारले सांस्कृतिक प्रस्तुति गर्नु भएको थियो । सो अवसरमा कला, संस्कृति प्रेमी दिला दत्त पन्तले देउडाको महत्त्व बारे प्रकाश पार्नु भएको थियो ।

फागुनको पहिलो हप्ताबाट सुरु हुने देउडा आइडल २०८० मा सुदूर र कर्णाली प्रदेशमा गायन प्रतिभा भएका करिब दुई हजारभन्दा बढी व्यक्तिहरू प्रत्यक्ष जोडिने अपेक्षा लिइएको आयोजक संस्था देउडा सांस्कृतिक मञ्चका अध्यक्ष महेश औजीले बताउनुभयो  । ती मध्ये दुई सयले प्रदेश तहको मञ्चमा पहुँच पाउने छन्  ।

सेमिफाइनल र फाइनल चरणको छनौटमा पर्ने सहभागीले राष्ट्रिय स्तरको मञ्च मात्रै प्राप्त गर्ने छैनन् गीत, सङ्गीतको भविष्य कोर्ने बाटोसमेत तय गर्नेछन् उहाँले भन्नुभयो, नेपाल मात्र नभई विश्वभर छरिएर रहेका देउडा संस्कृतिलाई मन पराउने सबैलाई यसले समेटिने हुँदा आफूलाई देउडा भाका गाउन मन लागेका व्यक्तिहरूलाई सजिलै देउडा आइडलको मञ्चमा स्थान दिइने छ ।

लोक देउडा गीतको संवर्द्धनका लागि अर्थात् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देउडा गीतको पहिचान स्थापित गर्न एक सशक्त उपायका रूपमा पहिलो देउडा आइडल गर्न लागिएको हो । विधागत रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गरी सुदूर पश्चिमेली गीत, सङ्गीत, कला संस्कृतिको पहिचान र विस्तारका लागि देउडा आइडल महत्त्वपूर्ण कडी बन्ने अध्यक्ष औंजीले विश्वास व्यक्त गर्नुभयो ।

हरेक क्षेत्रको साथ समर्थन र सहयोगको अपिल गर्दै देउडा आइडल कार्यक्रम २०८० मा जोडिन आयोजक संस्था देउडा सांस्कृतिक मञ्चले अपिल गरेको छ । देउडा सुदूरपश्चिम र कर्णाली प्रदेशमा निक्कै लोकप्रिय छ ।